कैलालीस्थित नेपाल–भारत सीमानाकामा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा भारतीय लागुऔषध तस्कर र नेपाल प्रहरीबीच सोमबार साँझ गोली हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा प्रहरी टोली सो नाकामा खटिएको थियो ।
तस्कर र प्रहरीबीच जम्काभेट भएपछि तस्करले प्रहरीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।
बब्लु सिंहसहित तीन जना तस्करको समूहबाट गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए । प्रहरीले ३ राउण्ड जवाफी फायर गरेको थियो ।
उक्त घटनामा भारत उत्तर प्रदेशका निज सिंह घाइते भएको र गोली चलेपछि अन्य तस्कर भारततिरै भागेका थिए । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।