नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै सम्झौता गर्नबाट पछि नहट्ने बताएका छन्।
राजधानीमा मंगलबार आयोजित बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेता नेपालले आफ्नो स्वार्थका लागि ओलीले देशलाई विभिन्न आधारमा खण्ड-विखण्ड पार्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन्।
पूर्व प्रधानमन्त्री नेपालले अहिले एमालेमा देखिएको संकटका बेला एक-एक व्यक्तिको अग्नि परीक्षा भइरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भनेकोमा पनि असन्तुष्टि व्यक्त गरे। नेता नेपालले आफूले यसअघि प्रचण्ड र केपी शर्मा ओलीको चोचोमोचोको विरोध गरेको पनि सम्झिएका छन्।
‘एक-एक व्यक्तिको अग्नि परीक्षा भइरहेको छ। हिजो प्रचण्ड र केपी ओलीको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ', उनले भने, 'सत्ता जोगाउन जुनसुकै तहमा सम्झौता गर्ने व्यक्तिबारेमा मैले भनिरहनै पर्दैन। यो देशलाई विभिन्न आधारमा खण्ड-विखण्ड पारिदिने हो कि ? भनेर मान्छेले वाच गरिरहेका छन्।’
नेता नेपालले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा आफूहरुको खैरियत नरहेको पनि बताए। 'ओलीसँग आत्मसमर्पण गर्ने वा टाङमुनि छिर्ने?', उनले भने, 'कि हामी उनीसँग भिडेर बस्ने?'
उनले सबै कमजोरी सुधारेर अघि बढ्ने पनि बताए। 'पार्टीका सबै कमजोरी सुधार्दै उज्यालो बनाउन चाहान्छौँ', उनले भने, 'केपी ओली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन। केपी ओलीसँग आत्मसमर्पण गर्ने वा टाङमुनि छिर्ने ? तपाईंहरु नै भन्नुहोस्।'
उनले ओलीसँग चलिरहेको द्वन्द्वबाट बिरक्तिएर भाग्न नहुने पनि बताए। 'पार्टीमा चलिरहेको द्वन्द्वबाट वैराग हुने हो भने अर्कै कुरा हो', उनले भने, 'यदि त्यसो होइन भने हामी दृढतापूर्वक उभिनुपर्दछ, ओलीविरुद्धको लडाइँ हामीले जित्छौँ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।