ओलीसँग घुँडा टेकिन्‍न, झुक्ने कुरै छैन, सांसद पद गएकै हो, माया छैन : माधव नेपाल (भिडियोसहित)
ओलीले २०४७ सालको संविधान ब्यूँताउन खोजेको आरोप

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। 

मंगलबार आफूनिकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्।

नेता नेपालले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए। एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याई छाडने प्रतिवद्धता समेत व्यक्त गरे। 

‘भोलि वैधानिक रुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईँहरूलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाडने छैनौँ', उनले भने, 'तपाईँहरू र हामी एउटै डुङ्गामा सवार भएका छौं। त्यो डुङ्गालाई सफलताका साथ किनारमा पुर्याइ छाडने छौं । लक्ष्यसम्म पुगि छाड्ने छौं, त्यसो हुनाले आत्तिनुपर्ने केही छैन।’
 
नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरूसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन्। त्यस क्रममा विभिन्न दलका नेतासँग कुराकानी भइरहेको पनि उनले बताए। 

'हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरू पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ', उनले भने, 'हामी सबै सकारात्मक शक्तिसँग एकता गर्न चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोध खडा गर्‍यो भने त्यसविरुद्ध जुध्‍न तयार छौं । यही संकल्पका साथ यहाँ भेला भएका छौं ।’



आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले बताए। आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्‍न जाने भन्दै ब्ल्याकमेल गरिरहेको उनले सुनाए। 

तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए। अहिले प्रचण्ड र अन्य दलहरूसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउन केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताए। ‘कहिलेकाहीँ भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दा माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो की थिएन?', उनले प्रश्न गर्दै भने, 'मै हुँ त्यो आवाज उठाउने। दुइटाको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ ।'



प्रचण्डसँग चोचोमोचो मिलाउने उनै ओली अहिले आएर सत्ता जोगाउन तल्लोस्तरसम्म झरेको आरोप उनले लगाए। 'आज आएर प्रचण्डसँगको दुरी बढाउन र अरु पार्टी सँगको दुरी बढाउन ओली अत्यन्तै तल्लो दर्जामा गएर सत्ता जोगाउन लागेका छन्। सत्ता बचाउन जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिबारे मैले चर्चा गर्नु पर्दैन', नेपालले भने, 'देशको हितमा कुठाराघात गर्नुपर्ने हो की, संविधान नै सक्ने हो की, संघीयता नै निलिदिने हो की समावेशीता नै समाप्त पार्ने हो की गणतन्त्र नै खाइदिने हो की, २०४७ सालको संविधान ब्यूँताउने हो की, देशलाई जातीय आधारमा खण्ड-विखण्ड पारिदिने हो की, धार्मिक हिसाबले पूरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरूलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याउने हो की, यी कुरालाई मान्छेले गहिरो गरी हेरिरहेका छन्।'

केपी ओलीले आफूहरुलाई ६ महिना निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए। आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् की भन्‍ने भ्रम केपी ओलीमा रहेको पनि नेपालले बताए। प्रतिनिधिसभा ब्यूँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको नेपालले बताए। 

'केपी ओलीले आफ्नो वास्तविक स्वरुप देखाए। पार्टी स्थापना गर्ने हामी जस्ता नेतालाई ६ महिना निलम्बन भनेर घोषणा गरे। मलाई निलम्बन गर्ने घोषणा गरे। भीम रावललाई निलम्बन गर्ने घोषणा गरे अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि', उनले भने, 'तर ब्राइकेटमा तपाईँहरू प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, हटाएको छैन भनेर लेखिएको छ।'

उनले आफूहरुले डरले  काँपेर मिल्न आउँछन् भन्‍ने भ्रम ओलीमा रहेको बताए। 'डरले थरथर काम्छन् की घुँडा टेक्छन् की, समर्पण गर्छन् की, मेरो पद जोगाइदेऊ भन्छन् की भनेर लेखेको होला', उनले भने, 'त्यो पद त उहिले गइसकेको थियो । उहिले भङ्ग गरेको होइन प्रतिनिधिसभा? प्रतिनिधिसभा त केपीले नचाहँदा नचाहँदै पनि सर्वोच्च अदालतले ब्यूँताइदिएकाले केही महिनासम्म बसेका छौँ। सधैँ सुनेका छौं, अब चुनाव छिटो हुन्छ । केपी ओली ले नै चुनाव गराउँछन् अब हेर्न बाँकी नै छ।’

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए। '२०५१ देखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेका थिए', उनले भने, 'अहिले पार्टी जोगाउन धेरै प्रयत्न गरे पनि केपी ओलीको अगाडि सकिएन।'

केपी ओलीको प्रवृत्तिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि उनले स्पष्ट पारे। 'ओलीसँग विचारका लागि विवाद भएको होइन', उनले भने, 'हामी सामूहिकता, बहस र विचार मन्थनमा विश्वास गर्छौँ। तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको हो।'

भिडियो

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १७:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया