वायुमण्डलको तापमान उल्टो : अझै केही दिन प्रदूषण नघट्ने
विज्ञहरु भन्छन् : डढेलोले झन् समस्या बढायो
फरकधार / २४ चैत, २०७७

काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश ठाउँमा यतिबेला वायुमण्डल धुम्मिएको छ । वसन्त ऋतुको यो समय सामान्यतया हावा हुरी चल्नुपर्ने हो, तर वायु स्थिर हुँदा प्रदूषणको मात्रा बढेको वातावरणविदको भनाइ छ ।

अहिले देशै भरको वायुमण्डलमा केही न केही प्रदूषणको मात्रा देखिएको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कँडेलले भनिन्, ‘धेरै बसोबास भएका क्षेत्रमा धेरै र कम बसोबास भएका क्षेत्रमा कम मात्रै हो, नत्र देशैभरि समस्या छ । ’

तीन दिनको मौसम पूर्वानुमान हेर्दा वायुमण्डलको यो प्रदूषण तत्काल हट्ने सम्भावना नदेखिएको उनले बताइन् । 

विगत ३ दिनदेखि काठमाडौं विश्वकै पहिलो प्रदूषित सहर बनेको छ । दोस्रो स्थानमा रहेका बंगलादेशको ढाका र भारतको नयाँ दिल्लीभन्दा काठमाडौंको प्रदूषण करिब २ गुणा बढी रहेको एक्युआईको मापनमा देखिएको छ ।

गत पुसको तेस्रो साता पनि यस खालको प्रदूषण काठमाडौंमा देखिएको थियो । अघिल्लो साताको सुरुवातमा पनि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागको वायुमण्डलमा तुवाँलो देखिएको थियो । मौसमविद्का अनुसार त्यो समय प्रायः पहाडी क्षेत्रका उपत्यका तथा वरपर डाँडाहरूले घेरिएका स्थानको वायुमण्डलमा धेरै प्रदूषण थियो । तराई तथा हिमाली भेगमा यसको खासै प्रभाव थिएन ।

गत बुधबार साँझ काठमाडौं उपत्यका र आसपासका क्षेत्रका हल्का वर्षा भएपछि वायुमण्डल केही मात्रामा पखालिएको थियो । तर, आइतबारदेखि पुनः काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा प्रदूषण उच्च तहमा पुगेको हो ।

देशका विभिन्न ठाउँमा लागेको डढेलो र वायुमण्डलमा धुवाँ, धुलोका कणहरू जमेर बस्नु नै यो प्रदूषणको मुख्य कारण रहेको वातावरणविदहरूले बताइरहेका छन् ।

मौसमविद् कँडेलका अनुसार काठमाडौं उपत्यका लगायतका स्थानको वायुमण्डल यतिबेला स्थिर छ । यसले गर्दा जमिनको सतहबाट धुवाँ, धुलोका कणहरू माथि जान पाएका छैनन् । जमेर बसिरहेका छन् । तिनै कणहरूले वायुमण्डल ढाकिएको छ । 

जाडो महिनामा यस खालको समस्या हुने भए पनि अहिलेको मौसममा यो खालको समस्या हुनु अलि अनौठो रहेको जलवायु विज्ञ डा. सुदीप ठकुरी बताउँछन् । ‘अहिले नेपालमा वायुको गति उच्च हुने समय हो’, ठकुरी भन्छन्, ‘आँधी हुरी नै आउने बेला हो । किन यस्तो वायु स्थिर भइरहेको छ, बुझ्नै सकिएको छैन ।’

त्रिवि केन्द्रीय क्याम्पसको वातावरण विज्ञान विभागमा अध्यापनरत ठकुरीले आफूहरू यसबारे अध्ययन गर्ने क्रममै रहेको जानकारी दिए ।

वायुमण्डलको तापमान उल्टो

विज्ञानको नियमअनुसार जति माथि गयो हावा चिसो हुँदै जाने र जति तल गयो त्यति तातो हुँदै जाने हुन्छ । तलको तातो हावा हलुका भएकाले उडेर माथि जान्छ र तलको हावा माथि जाँदा खाली भएको ठाउँमा माथिको चिसो हावा आउँछ । तल आएको हावा तातो भएपछि फेरि माथि जान्छ । यो क्रम चलिरहन्छ । यसरी तातो हावा उडेर जाने र त्यो ठाउँमा अर्को चिसो हावा आउने क्रमको गति बढ्दै जाँदा हावा हुरी आउने हो ।

अहिले नेपालको वायुमण्डलमा यसको ठीक उल्टो अवस्था रहेको ठकुरीले बताए । काठमाडौं उपत्यका लगायतका स्थानको  वायुमण्डलमा अहिले माथिल्लो तहको हावा तातो र तल्लो तहमा हावा चिसो छ ।

वायुमण्डलको यो अवस्थालाई ‘टेम्प्रेचर इन्भर्सन’ भनिने गरेको उनको भनाइ छ । 

वायुमण्डलको तल भएको चिसो हावा गह्रुँगो हुँदा उडेर माथि जान सकेको छैन । माथि रहेको तातो हावा यथावत छ । 

यही कारण मानवीय गतिविधि गर्दा उत्पन्न धुवाँ, धुलो वायुमण्डलको तल्लो तहमै जमेर बसेको छ । उडेर माथि जान नपाउँदा प्रदूषणको दर उच्च भएको हो ।

वरिपरि डाँडाहरूले घेरिएका उपत्यकाहरूमा यसको बढी प्रभाव पर्ने गर्छ । 

नेपालमा वायु प्रदूषण हुनुको मुख्य कारण यहाँका गतिविधि, यहाँ चल्ने, उद्योग, सवारी साधनहरू नै भए पनि बाह्य कारण पनि रहेको जलवायु विज्ञ डा. सुदीप ठकुरी बताउँछन् ।

‘हामी दुई ठूला औद्योगिक मुलुक भारत र चीनको बीचमा छौँ, त्यसको प्रभाव त पर्ने नै भयो’, ठकुरीले भने, ‘अहिले देखिएको प्रदूषणको मुख्य कारण भने हाम्रो आफ्नै हो ।’

विशेष गरी दक्षिणी क्षेत्रबाट प्रदूषित वायु नेपाल प्रवेश गरेको उनले जानकारी दिए । जाडोयाममा अरब सागर हुँदै पश्चिम क्षेत्रबाट प्रवेश गरेको वायुले वर्षा गराउँछ । गर्मी महिनामा बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गर्ने वायुले मनसुन लिएर आउँछ । 

अहिले पश्चिमी वायुको प्रभाव कम हुँदै गएको र मनसुन वायु नेपाल प्रवेश नगर्दा समस्या बढेको मौसमविदको भनाइ छ ।

प्रदूषणको कारक क्षेत्रीय र स्थानीय वायु दुवै हुने ठकुरीले बताए । 

वायु प्रदूषण बढाउने मानवीय गतिविधिलाई न्यूनीकरण गर्नु नै यो समस्यालाई कम गर्ने उपाए भएको ठकुरीले सुझाए । यस खालको वायु प्रदूषणको समस्या निरन्तर देखिन सक्ने उनको भनाइ छ । 

यसले स्वास फेर्न असहज हुने, मुटुका, फोक्सोसम्बन्धी दीर्घ रोगीलाई गाह्रो पार्न सक्ने भन्दै सचेत रहन ठकुरीको सुझाए ।

वायुमण्डल सबैभन्दा धेरै चलायमान हुने बेलामा प्रदूषण देखिएकाले जलवायु विज्ञहरू पनि अलमलमा परिरहेको उनले सुनाए ।

हिमालय क्षेत्रको अहिलेको वायुको अवस्थाबारे अध्ययन थालेको र त्यसबारे ३-४ दिनभित्र अध्ययन गरिसक्ने जानकारी जलवायु विज्ञ ठकुरीले दिए ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १८:४२:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया