सरकारले डढेलो निभाउन सक्ने जहाज र हेलिकोप्टर किन्‍ने
खरिद प्रक्रिया थाल्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी मानिने हेलिकोप्टर र जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दो डढेलो नियन्त्रणमा प्रयोग हुने हवाईजहाज र हेलिकोप्टर खरिद प्रक्रिया थाल्न मंगलबार निर्देशन दिएका छन् ।

मंगलबार बसेको रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगलागी नियन्त्रणमा प्रयोग हुने हवाईजहाज र हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

'ठूलो मात्रामा र विकट जंगलका डढेलो निभाउन दमकल र अहिलेको जनशक्ति मात्रै पर्याप्त हुँदैन', उनले भने, 'हामीसँग आधुनिक उपकरण आवश्यक छ। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनु।'

उनले व्यापक मात्रामा डढेलो लागेका ठाउँमा बहुउपयोगी उपकरण चाहिने बताए। 'अहिलेका जस्ता ठूला आगलागीमा प्रयोग गर्न सकिने बहुउपयोगी यन्त्र चाहिएको छ', उनले भने, 'अरु बेला तिनलाई उद्धारसहितका अन्य काममा पनि लगाउन सकिन्छ। त्यसका लागि बहुउपयोगी हेलिकोप्टर वा हवाईजहाज ल्याउनेतर्फ गृहकार्य थालौँ।'

उनले अहिलेकै हवाईजहाज र हेलिकोप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्काल समस्या समाधान गर्न सकिने भए त्यसको गृहकार्य थाल्न पनि नेपाली सेनालाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री ओलीले आगलागीबाट बढेको वायु प्रदूषणले स्वास्थ्य समस्या देखिन थालेको बताए। 'केही दिनयता मैले पनि असहज महशुस गरेको छु', उनले ,भने, 'मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदै होला?’



अहिले लागेको डढेलोलाई गम्भीरतापूर्वक लिँदै आगामी वर्षका लागि समेत तयारी गरिनुपर्ने उनले बताए। अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भइरहेको उनले बताए। उनले यसलाई अस्वाभाविक भनेका छन्। ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो,' उनले भने, 'यस्तो साह्रो हुन्थ्यो र? यसको नियन्त्रणमा गम्भीर बनौँ।’
 



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार २२:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया