पत्रकार महासंघ चुनाव : बागी उम्मेदवारलाई जताततै प्रेस युनियन(कांग्रेस)को डण्डा

जिल्ला प्रदेश र केन्द्रको नयाँ नेतृत्व चयनका लागि बुधबार पत्रकार महासंघको निर्वाचन भइरहेको छ । देशभर मतदान जारी छ । 

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो।

देशभर करिब १३ हजार ५०० सय मतदाता रहेका छन् ।

पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउँथे । 

पत्रकार महासंघ केन्द्रका लागि दुई प्यानल र थुप्रै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । 

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र  माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमाले निकट प्रेस चौतारीको नेपाल खनाल पक्ष लगायतले विपुल पोखरेलको अध्यक्षतामा गठबन्धन बनाएका छन्। 



त्यसैगरी ओलीनिकट प्रेस चौतारीका तर्फबाट निर्मला शर्माको नेतृत्वमा प्यानल बनाएको छ । 

सबैजसो प्रदेश तथा जिल्लामा पनि केन्द्रकै अनुसार पत्रकार संगठनहरुले गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् ।



थुप्रै पत्रकारहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । आधिकारिक संगठनबाट भाग नपाएका पत्रकारहरुले बागी उम्मेदवारी पनि दिएका छन् । 

संगठनको निर्णय नमान्दै बागी उम्मेदवारी दिएका पत्रकारहरुलाई संगठन र सम्वद्ध पार्टीले कारबाहीको ठण्डा चलाएको छ । यसरी बागी उम्मेदवारलाई कारबाही गर्नेमा नेपाली कांग्रसे र यस सम्वद्ध पत्रकार संगठन प्रेस युनियन रहेको छ । 

यस संगठनको तर्फबाट सिफारिस हुन नसकेपछि पत्रकार महासंकको केन्द्रमा प्रेस युनियनमा आवद्ध थुप्रै पत्रकारले बागी उम्मेदवारी दिएका छन् । महासचिवमा सुबोध गौतम, खुल्ला सचिव पदमा यम प्रसाद शर्मा, कोषाध्यक्षमा माधव दुलाल, लेखासमित संयोजकमा लक्ष्मण कार्की लगायतले गठबन्धनको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । 

माथि उल्लेखितसहति केन्द्रमा उम्मेदवारी दिएका ११ जनालाई प्रेस युनियनले कारबाही गरेको छ । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समिति संयोजक, दीपक आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको जानकारी दिएका छन् । 

उक्त विज्ञप्ति अनुसार उनीहरुलाई ६ वर्षसम्मका लागि संगठनका साधारण सदस्यता समेतबाट निष्काशन गरिएको छ । 

कारबाहीमा परेका ११ जना 
१.अवधेश झा(समावेशी उपाध्यक्ष)
२.सुवोध गौतम(महासचिव)
३.यमप्रसाद शर्मा(खुल्ला सचिव)
४.माधव दुलाल(कोषध्यक्ष)
५.लक्ष्मण कार्की (लेखासमिति संयोजक)
६.देवबहादुर कुँवर(प्रतिष्ठान केन्द्रीय सदस्य)
७.रविन थपलिया(अपागंता सदस्य)
८.भूपेन्द्र आचार्य(खुल्ला सदस्य)
९.वीरेन्द्र केएम(सदस्य मधेसी)
१०.राकेशकुमार मिश्र(सदस्य मधेसी)
११.नन्द्र बाहादुर ऐरी(केन्द्रीय सदस्य कर्णाली)

प्रेस युनियनले बागी उम्मेदवारी दिएका संगठनमा आवद्ध पत्रकारहरुलाई कारबाही गर्ने क्रम देशैभरि चलाएको छ। 

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा बागी उम्मेदवारी दिएका सचिन पोखरेललाई पनि प्रेस युनियनले कारबाही गरेको छ। 

सुनसरीकै पत्रकार सुविध गुरागाईँ पनि बागी उम्मेदवारी दिएकै कारण प्रेस युनियनको कारबाहीमा परेका छन् । गुरागाईँ पनि जिल्लाको अध्यक्षमा बागी उमम्देवारी दिएकै कारण कारकाहीमा परेका हुन् । 

प्रेस युनियनको जिल्ला शाखा सुनसरीले रञ्जना पौडेल र निशान चौधरीलाई बागी उम्मेदवारी दिएकै कारण संगठनबाट निष्काशन गरेको छ । निशान चौधरी सुनसरी जिल्लाको कोषाध्यक्षमा र रञ्जना पौडेल उपाध्यक्ष पदमा बागी उम्मेदवार बनेका छन् । 

पत्रकारको संगठनले मात्रै नभएर सम्वद्ध पार्टीले पनि बागी उम्मेदवारी दिने विरुद्ध कदम चालिरहेको छ । 

कपिलवस्तुको जिल्ला उपाध्यक्षमा बागी उम्मेदवारी दिएका रमेश मिश्रालाई नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति पार्टीबाटै निलम्बन गरेको पत्र प्रेषित गरेका थिए । पार्टीबाटै कारबाहीको चेतावनीपछि भने उनले उम्मेदवारी फिर्ता लिइसकेको कपिलवस्तुका पत्रकार दिपक आचार्यले जानकारी दिए।

 

 

नेपाली कांग्रसेका अछाम जिल्ला सभापति भरत कुमार स्वारले बागी उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै नलिए कारबाहीका लागि तयार रहन चेतावनी दिँदै सन्देश प्रेषित गरेको पनि सार्वजनिक भएको छ । 

प्रेस युनियनबाटै आधिकारिक उम्मेदवार रहेका कलेन्द्र सेजुवालविरुद्ध केन्द्रीय कोषाध्यक्षमा बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका माधव दुलालले यसमा कडा आपत्ति जनाएका छन् 

 ‘यो हामीमाथि डन्डा चलाएर देशभरिका स्वतन्त्र पत्रकारलाई तर्साउन खोजिएको प्रपञ्च हो भन्नेमा दुईमत छैन’ दुलालले भनेका छन् ।  ​आफू संगठनबाट सधैँ अन्यायमा परेको भन्दै दुलालले चुनावी मैदानबाट नभागेको जानकारी दिएका छन् । 

‘एकोहोरो अन्याय मात्रै कति सहनु भनेर मैदानमा न्यायका लागि उभिएको छु। दुलालले भनेका छन्, ‘श्रमजीवीको हक अधिकारका लागि निरन्तर संघर्षरत म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दैनिक खटिरहेको छु।’

गोप्य मतदानमार्फत आफूलाई न्याय हुने विश्वास दुलालले गरेका छन् ।  

केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका प्रेस युनियनकै रामप्रसाद दाहाल, उपाध्यक्षमा प्रत्यासी रहेका रामजी दाहाल र एसोसिएट सचिवमा उम्मेदवारी दिएका केपी ढुंगानाले पनि निर्वाचनको दौडबाट केहीदिन पहिले नै हात झिकिसकेका छन् । 

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार ११:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया