ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम बुधबारको खेलमा लुम्बिनी प्रदेशमाथि ८ विकेटको सहज जित हात पार्दै फाइनल प्रवेश गरेको हो ।
लुम्बिनीले दिएको ७३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.३ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो ।
सुदूरपश्चिमकी मञ्जु बोगटीले सर्वाधिक २६ रन बनाइन् । रेवती धामीले १७ रनको योगदान दिँदा विन्दु रावल १७ र कविता जोशीले ४ रनमा अविजित रहे ।
लुम्बिनीका लागि दुवै विकेट कीर्तिका मरासिनीले लिइन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रनको सामान्य योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि लक्ष्मी चौधरीले २६ र कप्तान नेरी थापाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लक्ष्मी साउँदले ४, कप्तान ऋतु कनोजियाले ३, कविता जोशी र सुनिता लोहारले १-१ विकेट लिए ।
पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा एपिएफसँग ३७ रनको पराजय बेहोरेको थियो । उसले तेस्रो खेलमा प्रदेश १ लाई ४० रनले हराएको थियो ।
लुम्बिनीले पहिलो खेलमा ललितपुर मेयर ११ सँग २७ रन र दोस्रो खेलमा प्रदेश १ सँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो ।
नेपाल एपिएफ क्लब र सुदूरपश्चिमले उपाधिका लागि चैत्र २८ मा प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।