महिला र महिनावारी
'सेतो ड्रेसमा रगत लाग्दा अचेल संकोच लाग्दैन'
महिनावारीले रोक्न सक्दैन महिला खेलाडीको प्रगति

अनु अधिकारी । कराँते खेलाडीहरूबीच चर्चित नाम हो यो। उनले नेपालको प्रतिनिधित्व गर्दै कयौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई रिङमा उतारिसकेकी छन्।  

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको तर्फबाट ५० केजीमुनिको तौलमा कुनै अंक नगुमाइ स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। त्यो स्वर्ण पदक नेपाली खेलकुदमा चर्चा कमाउन सफल भयो । सन् २००६ बाट कराँते करियर अघि बढाएकी उनको अबको सपना र तयारी जापानमा हुने सन् २०२० ओलम्पिक हो। 

एकजना महिला खेलाडी, जससँग खेलकुद क्षेत्रको १३ वर्ष लामो अनुभव छ । कराँते आफैंमा कठिन खेल र चुनौतीपूर्ण खेल हो । रिङमा उत्रिएर  भिड्दा कि विपक्षी खेलाडीलाई ढालिन्छ, कि आफैँ ढलिन्छ।

नेपाल जस्तो पितृसत्तात्मक देशमा कराँते जस्तो कठिन खेलमा होमिएका महिलाहरुको चुनौती कम्ता छैन। अनि अनगिन्ती  पीडा पनि छन्। सामाजिक, आर्थिक र शारीरिक पीडा पनि सँगै आउँछन्। 

यसैमा पर्छ महिलाको मासिक चक्र । महिनावारी अर्थात् रजस्वला चक्रका कारण महिला खेलाडीले अनेक समस्या भोग्नुपरेको छ। महिनावारीमा खेलाडीहरु प्रशिक्षणदेखि रिङमा पनि पीडा लुकाएर उत्रिन्छन्। यस्तै अनेक पीडालाई दबाएर सफल भएकी हुन् अनु अधिकारी ।

अनुको बाल्यकाल दुःख र सुख दुवै सँगालेर बित्यो । उनी सामान्य ब्राह्मण परिवारमा हुर्किएकी हुन् । घरमा आमा, बुबा र दुई दाजु छन्। उनी घरकी प्यारी कान्छी छोरी हुन् ।



पहिलो पटक महिनावारी 

उनमा महिनावारीको चक्र पहिलो पटक १२ वर्षबाट सुरु भयो । विद्यालयमा स्वास्थ्य शिक्षा पढेकाले भयो भन्दा पनि अब के हुन्छ भन्ने कुरामा निकै चासो लागेको थियो । महिनावारी हुँदा के प्रयोग गर्ने थाहा थिएन । उनी घरमै हुँदा पहिलो पटक महिनावारी भइन् । पहिलो पटक त्यो कुरा आमालाई सुनाइन् । 



‘मलाई अलिअलि रगत भएको अनुभव भयो । अनि ममीलाई सुनाएँ। ममीले तन्नाको छेउ काटेर बनाएको टालो दिनुभयो’, उनले सुनाइन्। अरु ब्राह्मण केटीलाई जस्तै उनको पनि बुवा र दाजुहरूले १४/१५ दिनसम्म अनुहार नहेर्ने कुरा भयो। घाम पनि नदेखाउने चर्चा चल्यो। आमा अलिक फरक सोचकी हुँदा अनुलाई अफ्ठ्यारो हुन दिइनन्। कक्षा ७ मा पढिरहेकी अनुको परीक्षा चलिरहेको थियो। त्यहीकारण उनले कडा नियम मानेर लुक्नु परेन।

महिलालाई खेलकुद क्षेत्रमा लाग्न अनेक कठिनाइ र चुनौती छन्। अनुले पनि यस्तो कठिनाइ र चुनौती सामना गरिन्। उनी हुर्किँदै गर्दा घरदेखि समाजमा भन्थे, ‘छोरी भएर खेल्नु हुँदैन । पढाई राम्रो बनाऊ।’ 

खेल र महिनावारी 

खेल खेलेर हातखुट्टा भाँचिने, चोटपटक लाग्ने चिन्ता जनाउँदै घरमा पढेर राम्रो सफल बनोस् भन्ने चाहना थियो । तर खेल क्षेत्र उनका लागि एउटा नसा जस्तै भयो। खेलको नसाले उनलाई कसैबाट रोक्न दिएन। खेल खेल्दै जाँदा उनले पनि महिनावारीको कठिनाइ भोगिन। यो समस्या सबै महिलालाई एकै नहुन सक्छ । महिनावारी हुँदा उनले खेल नै छाडेकी छैनन्, यसलाई उनले बाधा मानेकी छैनन्। 
महिनावारीका बेला रिङमा उत्रिँदा समस्या त हुन्छ नै।  कठिनाइ भए उनी  आराम गर्छिन् । रगत मात्रै बगेर पीडा नभए सामान्य कसरत गरिरहन्छिन् । ‘केही पीडा नभएको बेला प्याड प्रयोग गर्दै विशेष सावधानीसहित तालिम लिइरहन्छु’, उनले सुनाइन्। 
प्राकृतिक प्रक्रिया
महिनावारी हुनुअघि र पछि खासै फरक पाइनन् उनले । ‘हुनुअघि यस्तो हो भनेर केही जानकारी थियो तर भइसकेपछि यो सामान्य प्राकृतिक प्रक्रिया हो भनेर स्वीकारेँ’, अनुले सुनाइन्। 

कराँतेमा महिनावारी भएका बेला कठिन कसरत गर्न सकिँदैन। धेरै कठिन कसरत गरेमा रगत धेरै बग्ने हुँदो सामान्य मात्रै कसरत गर्छिन् उनी । रगत बग्ने प्याड प्रयोग गरेकाले किक हान्न गाह्रो हुने उनले सुनाइन् । 

महिनावारीकै कारण गाह्रो भएका बेला उनले तालिम रोकेकी छन्। तर खेलकुद प्रतियोगितामा हुँदा भने उनले विश्राम लिएकी छैनन् । ‘प्रतियोगितामा हुँदा रिङमा उत्रिएपछि सबै कुरा भुलिन्छ, दुःख, पीडा केहीको प्रवाह हुँदैन।’

रोकिँदैन प्रगति 

प्राकृतिक प्रक्रिया महिनावारीले खेलाडीको प्रगतिलाई रोक्छ र ? उनी भन्छिन्, ‘प्रगति नै रोक्ने भन्ने हँदैन । महिलामा हुने सामान्य प्रक्रिया हो यो।’ १३ औं सागको उदाहरण दिँदै उनले आफ्नो भनाइ पुष्टि गरिन् । 

महिनावारीको समयमा पुरुष खेलाडीसँग खेल्दा केही अप्ठ्यारो नहुने उनले बताइन्। उनीसँग खेल सिक्दाको अनुभव पनि छ। ‘सुरुमा तालिम गर्दा भन्न लाज लाग्थ्यो’, उनले सुनाइन्, ‘अहिले केटा साथीहरुले पनि दिदीबहिनी जस्तै व्यवहार गर्नुहुन्छ, त्यसैले गाह्रो हुँदैन।’

कराँतेमा सेतो ड्रेस भएकाले सर्तकता अपनाउँदा पनि कहिलेकाहीँ ड्रेसमा लाग्ने समस्या भोगेको उनले बताइन् । ‘पहिला पहिला त ड्रेसमा लाग्दा केटा साथी र कोचसामु लाज हुन्थ्यो’, उनले थपिन्, ‘तर अहिले उहाँहरुले पनि सहज रुपमा लिनुहुन्छ ।’ 

एक प्रशिक्षक अनु
उनी खेलाडी मात्रै होइनन्, नयाँ पुस्ताकी प्रशिक्षक पनि हुन् । उनले स्कुले विद्यार्थीलाई कराँते सिकाइरहेकी छन्। कोही विद्यार्थीलाई महिनावारी भएमा सामन्य रुपमा लिन उत्प्रेरित गर्छिन्। महिनावारीकै कारण खेल क्षेत्र नछाड्न हौस्याउँछिन्।

कोहीलाई निकै गाह्रो भए आराम गर्न लगाउँछिन् । कहिलेकाहीँ महिला विद्यार्थी शारीरिक बनोटका कारणले खेल छोड्न लागेको सुनाउँछन् । छोरी भएर खेल्नु हुँदैन, भन्नेका लागि उनी आफ्नै उदाहरण दिएर अभिभावक र विद्यार्थीलाई सम्झाउँछिन् । ‘ढाड र पेट दुख्ने भएमा उनीहरुलाई अन्य कसरत गराउँछु’, अनुले थपिन्।

के हो महिनावारी ?

अनुले बुझेकी छन् महिनावारी महिलाका लागि एउटा प्राकृतिक र सामान्य प्रक्रिया हो। 

‘यो महिलालाई परिपक्व बनाउने एउटा चक्र हो। महिला वयस्क अवस्थामा प्रवेश गरेको एउटा संकेत हो’, उनले भनिन्, ‘जिन्दगीको मिठो पल हो। अब आमा बन्न सक्ने भइन् म भनेर प्रकृतिले दिने एउटा संकेत हो।’

महिनावारीमा कसरी ध्यान दिने

महिला खेलाडी भइसकेपछि आहारासँगै नियमित कसरतमा ध्यान दिन उनी सुझाउँछिन् । पोसिलो, झोलिलो अनि तागत दिने खानेकुरामा जोड दिनुपर्ने उनले सुझाइन्। ती खानामा प्रोटिनको मात्रा भरपूर हुनुपर्ने उनको बुझाइ छ। खानेकुरा मिलाएर खाँदै खेलमा निरन्तर लाग्न उनी अरु खेलाडीहरुलाई सुझाव दिन्छिन्। 

महिलाले महिनावारी भएकै कारण खेल र कसरत रोक्न नहुने उनी बताउँछिन् । ‘खेलाडी भएर रिङमा उत्रिएपछि सबैकुरा बिर्सिएर खेल र भावी लक्ष्यमा केन्द्रित हुनुपर्दछ’, उनले सुनाइन्।

अन्य क्षेत्रका महिलाले पनि महिनावारीलाई सामान्य रुपमा लिनुपर्ने उनको सुझाव छ। महिनावारीलाई बोझका रुपमा लिएर आफ्नो करिअर रोक्न नहुने उनले बताइन्।  

‘महिनावारी नियमित प्रक्रिया हो भनेर दैनिक जीवनमा सक्रिय भइरहनुपर्छ’, अनुले भनिन्, ‘सेनेटरी प्याडहरुको सही प्रयोग गरेर दैनिक जीवनमा अघि बढिरहनुपर्छ।’

महिनावारी भएर पेट दुख्दैमा मन खुम्च्याएर बस्न नुहने उनको भनाइ छ। ‘पेट दुख्यो वा महिनावारी भएको छु, केही गर्न सक्दिन भनेर बस्नु हुँदैन’, उनले भनिन्, ‘सामान्य कसरत गरिराख्न सकेमा मासिक चक्र पनि समयमा हुने मेरै अनुभव छ’, उनले आफ्ना कुरा सुनाइन्।

उनको बुझाइमा महिनावारी सामान्य प्रक्रिया हो । ‘यसले महिला खेलाडीको जीवनमा ठूलो असर गर्दैन, प्रगतिलाई रोक्न सक्दैन’, उनले अन्तिममा थपिन्, ‘यो हरेक बालिका अब परिपक्व भइन् भन्ने कुराको संकेत हो ।’  

भिडियो

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १८:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया