नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका चारजना मन्त्रीहरुको सांसद पद आजबाट खारेज भएको छ। माओवादीले एमालेतर्फ गएर मन्त्री बनेका चारजना सांसदहरुको पद नरहेको जानकारीसहितको संसद सचिवालयमा दर्ता गराएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेका हुन्।
यससँगै अब माओवादीबाट एमालेमा गएका नेताहरुको सांसद पद गएपछि अब उनीहरु केबल ६ महिना मात्रै मन्त्री पदमा रहन पाउने भएका छन्।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह सांसद पदमा नरहेको जानकारीसहितको पत्र सभामुख सापकोटाले संसदलाई जानकारी गराएका हुन्।
आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले चारै मन्त्रीलाई सांसदबाट हटाउन पठाएको पत्रमा सभामुखले छलफल गराएका थिए। उक्त बैठकबाटै चारै मन्त्रीलाई सांसदबाट हटाएको सूचना सभामुखले प्रतिनिधिसभामा सुनाएका हुन्।
चारैजना सांसदले मन्त्रीमा कायम रहन फेरि शपथ लिनुपर्नेछ। संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ ।
६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ। रिक्त रहेका स्थानमा अब उपनिर्वाचन गर्नुपर्नेछ। सांसद पद रिक्त रहेको सूचना संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई दिएपछि उपनिर्वाचन प्रक्रियामा जानेछ।
यी चारैजना मन्त्री २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव विजयी भएका थिए। उनीहरु पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि प्रचण्डलाई छाडेर ओली समूहमा लागेका थिए। तर फागुन २३ मा एमाले र माओवादी ब्यूँतिए पनि उनीहरु एमालेमै बसेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।