'हरिवंश नभएको भए उहिल्यै थाकिसक्थेँ'
भन्छन् : मन्त्री, प्रधानमन्त्री बन्‍न म फिट मान्छे होइन
फरकधार / २६ चैत, २०७७

नेपाली मनोरञ्जन क्षेत्रका एक सिद्धहस्त कलाकार हुन् मदनकृष्ण श्रेष्ठ। उनको अर्को परिचय चर्चित मह जोडीका एक सदस्य पनि हो। उनी अर्का कलाकार हरिवंश आचार्यसँगको कला सहयात्रामा दशकौँदेखि जोडिएका छन्। नेपाल राष्ट्र बैंकमा राजा वीरेन्द्रसामु गरेको प्रस्तुतिबाट जोडिएको सहयात्रा अहिले उत्तिकै मजबुत छ। मदनकृष्ण र हरिवंश ‘मह जोडी’ नामले देशदेखि विदेशसम्म प्रख्यात छन्। कला क्षेत्रमा जम्न अन्य कयौँ कलाकार जोडी बनेर आए तर केही वर्ष पनि टिकेनन्। तर मह जोडी हरेक उमेर समूहका नेपालीमाझ उत्तिकै चर्चित छन्। महका एक पात्र उनै वरिष्ठ मदनकृष्ण श्रेष्ठसँग फरकधारकर्मी राधिका अधिकारीले कुरा गरेकी छन् 

के गर्दै हुनुहुन्छ ?

सधैँ गर्ने कामको निरन्तरता त हो। 

अहिले  स्वास्थ्य अवस्था कस्तो छ ?

ठीकै छ। राम्रो छ। प्रायः सबैले स्वास्थ्य कस्तो छ भनेर सोधिरहनु हुन्छ। सबैको यही चिन्ताले पनि बिग्रिन दिएको छैन। बिग्रिने जति पहिले नै बिग्रिसकेको हो। अब बिग्रिँदैन। ठीकठाक बनाइराख्न औषधी खानु पर्छ।

बाल्यकाल सम्झँदा आफैंले आफैंलाई कस्तो पाउनु हुन्छ ?

बाल्यकालमा पनि म अहिले जस्तो छु, त्यस्तै नै थिए। त्यो बेला अलिक बढी फुर्किने। दौडिने, चन्चलेपन त भइहाल्छ। तर, म अलिक गम्भीर गम्भीर स्वभावको थिए। 

आफैंले बाँचिआएको बाल्यकाल सम्झिँदा कस्तो लाग्छ ?

म सम्पन्न परिवारमा जन्मिएको हुँ। टन्नै जग्गा थियो। ६ महिनाको हुँदा आमा बित्नुभयो, आमालाई चिन्दिनँ। मलाई बुवाले हुर्काउनु भएको हो। आमाको मृत्युपछि बुवाले कान्छी आमा ल्याउनुभयो। उहाँको पनि मृत्यु भयो। तेस्रो बिहे गर्नु भयो। तेस्रो बिहे पनि बुवालाई फापेन। आमाको मामिलामा म अभागी थिएँ। बुवाले चौथो बिहे गर्नुपर्यो। चौथो आमासँग सम्बन्ध सधैँ सुमधुर रह्यो। भाइबहिनी पनि भए। उनीहरुले पनि सधैँ आदर गरे। माया गरे, चिन्ता गरे। 

त्यो समयले तपाईँलाई आफ्नै रहरसँग सम्झौता गर्नुपर्ने बनायो बनाएन ?

बुवा सोसल वर्कर हुनुहुन्थ्यो। घरमा ठूला मान्छे आइरहन्थे। सधैँ जुत्ता टनाटन भइरहन्थे पाहुनाका। उनीहरु विभिन्न समस्या लिएर आउँथे। बुवा ती समस्या समाधानका उपाय दिइरहनु हुन्थ्यो। झगडा परेको भए झगडा मिलाइदिनुहुन्थ्यो। घरमा आएकालाई राम्रोसँग, खुशी भएर खुवाउनु हुन्थ्यो। त्यो समय आम्दानीभन्दा खर्च बढी हुन्थ्यो। आम्दानीको बाटो बनाएर सामाजिक काम नगर्दा आम्दानी बिग्रिँदै जान्छ। त्यस्तै भएको थियो हाम्रो घरमा। पहिला अरुलाई ऋण दिने मेरा बाको एकोहोरो सामाजिक कामले खेती गर्न पनि अरूसँग ऋण लिनुपर्ने अवस्था आएको थियो। 

त्यसैले मैले बच्चैबाट जागिर खानु पर्यो। मैले चौध वर्षको उमेरमा प्राविको हेडमास्टर भएर पढाएँ। त्यो समय म आफैं ९ कक्षामा पढ्थेँ। त्यो बेला उमेरको बन्देज केही थिएन। स्कुलका बच्चाहरुका लागि प्रश्नपत्र बनाउने, जाँच लिने, कापी जाँच्ने सबै काम गर्थे। त्यो बेला मार्कसिट पनि आफैँले लेखेर बनाउने हो। स्काउट सिकाउँथे।

बस्तीमा आफ्ना विद्यार्थीलाई स्काउटको ड्रेसमा ‘लेफ्ट राइट...’ गर्दै लिएर जान्थेँ। अभिभावकहरु खुशी हुन्थेँ। उनीहरु खुशी भएको देखेर के–के न गरेछु जस्तो लाग्थ्यो। त्यो बेला बिहान ४ बजे खाना खान्थेँ। ६ बजेदेखि जिपी स्कुलमा आफू पढेर स्कुल पढाउन जान्थेँ। म पढ्न मन पराउने खालको थिएँ। तर, पढाइ भने भद्रगोल थियो।

दिनभर पढाएर डेढ घण्टा हिडेर घर जान्थेँ । घर पुग्दा थाकेर लखतरान, अनि भुसुक्क निदाउँथे। राति ९ बजेतिर बुवा, फुपूहरूले उठाउनु हुन्थ्यो खाना खान। कहिलेकाहीँ त खाना खाए, नखाएको पनि बिर्सन्थेँ, यो क्रम २ वर्ष चल्यो। 

१६ वर्षको उमेरमा सञ्चय कोषमा जागिरे भएँ। अहिले कर्मचारी सञ्चय कोषमा जागिर खान कति गाह्रो छ। मेरो पालामा कति सजिलो थियो। बुवाले प्रशासनमा मान्छे चिन्नु भएको थियो। भनिदिनु भयो। जाँच दिएँ। १० वटा प्रश्न सोधिएको थियो। ६ वटा मिलाएँ। त्यसपछि जागिरे भएँ। सञ्चय कोषमा १२ वर्ष जागिर खाएँ। यी यावत कुराले बाल्यकालका स्वतन्त्रता र त्यससँगै आउने रहर खोसिए कि जस्तो लाग्छ।

भविष्यको सपना देख्ने उमेरमा प्रावि स्कुलको हेडमास्टर भएर काम गर्न पाउनु तपाईंका लागि त ठूलो उपलब्धि होइन र?

उपलब्धि हो होइन यसै भन्न सक्दिनँ। सपना पनि होइन त्यो मेरो। पारिवारिक वातावरण र बाध्यता थियो। घरमा कमाउने कोही थिएनन्। खेतबारी बाँझै। बुवालाई समाजसेवा गर्दै ठिक्क। उहाँ त्यसमै खुशी पनि हुनुहुन्थ्यो। सपना बुन्ने समय नै भएन। जे–जे काम पर्यो त्यही गर्दै गइयो। म बुवाको सामाजिक कार्यको ठूलो प्रशंसक हुँ। यहाँनिर पनि उही कुरा दोहोरिन्छ, ‘समाजसेवा गर्ने मान्छेले सुरुमा कमाइको राम्रो बाटो बनाउनु पर्छ। बुवाले समाज सेवा मात्रै गर्नुभयो। त्यो हाम्रा लागि दुःखको कुरा भयो।  

बाल्यकालबाट युवा अवस्थामा पुग्दा केही परिवर्तन आयो आफ्नो स्वभावमा ?

खास केही परिवर्तन आएन। म उस्तै गम्भीर स्वभावकै थिएँ। 

हरिवंश दाइसँगको पहिलो भेटको सम्झना छ ?

स्टेज कार्यक्रममा देखादेख भइरहन्थ्यो। भेट चाहिँ त्यतिबेला राष्ट्र बैंकको सिल्भर जुब्ली थियो। त्यो कार्यक्रममा धेरै राष्ट्र बैंक भित्रैका कलाकार सहभागी थिए। बाहिरबाट म र हरिवंश गएका थियौं। हामीले छुट्टाछुट्टै कार्यक्रम बनाएर गएका थियौं। राजा वीरेन्द्र प्रमुख अतिथि थिए। कार्यक्रम ९० मिनेटमा सकिसक्नु पर्ने थियो। छुट्टै कार्यक्रम गर्दा समय नपुग्ने भएर दुवैजनाले एउटै गर्ने भन्ने भयो। ‘बैंकेश्वर’ नाम दिएर हामीले पहिलोपटक सँगै काम गर्‍यौं। राम्रो भयो। त्यसपछि हामीले बारम्बार दोहरिएर काम गर्‍यौं। ‘म’ लाई भन्दा ‘हामी’ लाई दर्शक श्रोताले मन पराइदिनु भयो। त्यही मायाले हामी अहिले पनि सँगै छौँ। 

आफ्नो जीवनमा हरिवंशको साथलाई कसरी लिनु हुन्छ ?

हरिवंशको साथ पाएर नै अगाडि बढ्न सजिलो भएको हो। ऊ मेरो साथमा नभएको भए अहिलेसम्म थाकिसक्थेँ हुँला। उ सँगै भएकाले पनि जीवनका कतिपय कुरामा मैले रिस्क लिनु नै परेन। दुईजना भएर काम गर्नुको उपलब्धी  यही हो। ऊ थाकेको दिन मैले घिसारेँ, म थाकेको दिन उसले घिसार्यो। हरिवंश मेरा लागि ईश्वरको बरदान। 

दुईजना मिलेर गर्नु भएको काम एक्ला एक्लै गर्नुभएको भए कस्तो हुन्थ्यो होला ?

नराम्रो हुँदैनथ्यो होला। हामी दुवैजनाको आफ्नो ठाउँमा आफ्नै खालको राम्रो थियो। हामी जोडी हुनुअघि छुट्टाछुट्टै काम गरेका हौं। दर्शक बाँडिन्थे। २ जनाले सँगै गर्न थालेपछि दर्शक पनि एकै ठाउँमा भए। प्रहसन, नाटक गर्न एकजनाले सम्भव थिएन। हरिवंश जस्तो मान्छे मैले भेटाउन गाह्रो थियो। सायद उसलाई पनि म जस्तो मान्छे भेटाउन गाह्रो थियो होला। 

मह जोडीपछि थुप्रै जोडी आए, ती फुटे। तर, तपाईँहरू जीवनको यो बिन्दुमा आइपुग्दा पनि सँगै हुनुहुन्छ। साथीबीचको यति लामो सहयात्रा कसरी सम्भव हुन्छ? 

सबै मिल्नै पर्छ, मिल्न सक्छन् भन्ने छैन। मान्छे व्यक्तिगत प्रगति खोज्ने प्राणी हो। धेरैले यही खोजिरहेका हुन्छन्। फेरि कतिपयको बानी दुःखमा साथ खोज्ने, सँगै काम गर्न आउने। पैसा कमाउन थालेपछि सुख सुरु भएपछि शंका गर्ने स्वभाव हुन्छ। कमाएको पैसा अलि धेरै मैले पाउनुपर्छ भन्ने लोभ पलाउन सक्छ। हामी चाहिँ पैसामा भन्दा काममा रमायौँ। हामी दुवैको एउटै विचार पनि थियो।

हामी कुनै सिद्धान्तसँग मोटिभेटेड छैनौं। हामी दुवैले आफूलाई समुदायमा जनचेतना जगाउने काममा सदुपयोग गर्यौँ। अर्को पारिवारिक सम्बन्ध पनि एकदम राम्रो हुनुपर्छ। सँगै काम गर्नेका परिवारबीच राम्रो सम्बन्ध भएन भने व्यक्तिगत सम्बन्ध जति राम्रो भएपनि टुट्न सक्छ। अर्को पैसाको लोभले पनि टुट्न सक्छ। यी कुनै चिजले हामीलाई असर पारेन। 

कलाकारिताका थुप्रै विधा थिए। हास्य-व्यङ्ग्य नै किन रोज्नु भयो ?

खै ठ्याक्कै यही भन्ने उत्तर छैन। नाम दाम दुवैै यसैले दियो। त्यसो त मैले कला यात्राको सुरुवात गीत गाएर गरेको हुँ। गायन मेरा लागि म जन्मेको मेरो गाउँको घर जस्तै भयो। इमोसनल्ली टच गरिरह्यो। हास्य-व्यङ्ग्य चाहिँ मेरो शहरको घर जस्तै भयो। जहाँ भौतिक सुख सुविधा सबै छ। मलाई मेरो जीवन दिएकै यसैले हो। तर, संगीत क्षेत्रको माया अर्कै छ।

कला क्षेत्रका सुरुवाती दिन सम्झिँदा कस्तो लाग्छ ?

सुरु सुरुमा पैसा आउँदैनथ्यो। नखाई नखाई कति रात सुतियो। कार्यक्रम भनेपछि जहाँ पनि पुगिन्थ्यो। रातभरि हिँडिन्थ्यो। सबैले गरेको प्रशंसा सुन्न पाइन्थ्यो। त्यो प्रशंसा त्यतिबेला निक्कै ठूलो लाग्थ्यो। धेरैले यसलाई संघर्ष भन्छन्, म चाहिँ रहरको दौडधूप भन्न मन पराउँछु। 

हास्य-व्यङ्ग्यमा पनि जनचेतना र सन्देशमूलक कुरालाई अंगाल्नु भएको छ, यो सोच चाहिँ कसरी आयो ?

सबैभन्दा ठूलो म हुर्किएको सँस्कार हो। म सानैबाट बुवाको समाजसेवा हेर्दै हुर्किएँ। जीवनका केही वर्ष त मैले त्यो पारिवारिक सँस्कार बिर्सिए। जतिबेला जागिर मात्रै गरियो। पछि आर्ट फिल्डमा लागेपछि सामाजिक संस्थाहरुको आयोजनामा कार्यक्रम गर्न थालियो। त्यहाँ काम गर्दा सामाजिक कार्यको महत्व महसुस भयो। सामाजिक संस्थाले पनि हामी गएको कार्यक्रमबाट आर्जन भएको पैसाबाट थुप्रै सामाजिक कार्य गरे। हामीलाई देखाए। त्यसको सन्तुष्टि नै बेग्लै। 

त्यसपछि हामीले पनि हाम्रो आम्दानीको ३ प्रतिशत रकम सामाजिक कार्यमा लगाउन थाल्यौँ। खुत्रुके फाउण्डेसन खोलेर आम्दानीको ३ प्रतिशत रकम जम्मा गर्थ्यौँ। पहिलो पटक त्यो खुत्रुकेबाट साढे सात हजार रुपैयाँ नारायणगढको नारायण कला मन्दिर (सिनेमा हल)मा पर्दा हाल्न सहयोग गरेका थियौं। त्यो पछि त्यहाँका साथीहरु असाध्यै खुशी हुनु भयो। हामीलाई १० करोडको धन्यवाद दिनुभयो। त्यो कुराले हामीलाई भावनात्मक पनि बनायो। खुशी पनि बनायो। प्रेरणा पनि दियो। 

देशमा भएका ठूला ठूला क्रान्तिको साक्षी बन्नु भयो। आफैँ पनि सहभागी हुनु भयो। तर, ती क्रान्तिले देशमा, यहाँका जनताको जीवनस्तरमा खासै परिवर्तन गर्न सकेन। किन होला ?

देशको वातावरण, यहाँको जनताको जीवन सहज बनाउने राजनीतिले नै हो। हाम्रा राजनीतिज्ञहरूमा राष्ट्र प्रेम देखिएन। सबै पद र पैसाको मात्रै पछि लागे। धेरैले राजनीतिलाई बिजिनेसका रुपमा लिए। यही कारण हो भन्ने लाग्छ। 

नेपालमा अहिले यस्तो अस्थिरता छ। राजनैतिक सभ्यता अनुशासित र सभ्य भएर अगाडि बढ्छ? के लाग्छ ?

गाह्रो छ। मान्छेले व्यक्तिभन्दा परिवारलाई, परिवारभन्दा समाजलाई ध्यान दिनुपर्छ। समाजभन्दा आफ्नो क्षेत्रलाई, त्यो भन्दा राष्ट्रलाई ध्यान दिनुपर्छ सभ्य समाज निर्माणका लागि। यहाँ त सबै व्यक्ति केन्द्रित छन्। यहाँको राजनीतिमा आफूले आफूलाई र आफ्नालाई मात्रै ध्यान दिएको देखिन्छ। 

जबसम्म नेताहरुमा म नेपाली हुँ, मेरो नेपाल हो, म यो सिंगो नेपालको प्रतिनिधित्व गर्ने मान्छे हुँ, यहाँका सबै मान्छेको जीवन सुन्दर बनाउने मेरो सपना हुनुपर्छ भनेर सोच्न सक्दैनन् तबसम्म हामीले चाहेको जस्तो समाज निर्माण हुन सक्दैन। यहाँ त कतै जातको, कतै धर्मको, कतै लिङ्गको मात्रै समाज निर्माण भइरहेको छ। देशका लिडरहरूको टुक्रे सपनाले उनीहरुको पनि बाटो बन्न सकेन। यहाँका जनताको पनि। 

देशका नेता, यहाँको राजनीतिक अन्यौल देखेर जनता निराश छन्। उनीहरुले अब देशको नेतृत्व गर्न हरिवंश, मदनकृष्ण, रवि लामिछानेहरु आउनुपर्ने आवाज उठाउन थालेको पनि धेरै भयो। यसमा तपाईंको धारणा के छ ?

सोच्न पाउनु सबैको अधिकार हो। तर, हामी त्यसका लागि फिट छैनौं। यो देशको मन्त्री, प्रधानमन्त्री बन्न म फिट मान्छे होइन। मैले राजनीतिमा कहिल्यै ध्यान नै दिइन। हामीले हाम्रो जीवनभर मिडियाको काम गरेका छौँ। 

यो बिन्दुमा आएर सम्झिँदा जीवन के रहेछ ?

जीवन संघर्ष नै हो। जीवनलाई कसैले खोलासँग दाँजेका छन्। कसैले फूलसँग, कसैले मैनबत्तीसँग दाँजेका छन्। जिन्दगी जेसँग दाँजियो त्यो मात्रै होइन। जिन्दगी सबैथोक हो। जन्मेदेखि मर्नु अघिसम्मको अवधि जीवन हो। जसलाई हामीले सदुपयोग गर्नुपर्छ।

अन्त्यमा ?

यस्तै हो। हामी थाक्न सक्छौं। हामीलाई थाक्न नदिनुहोला।

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १९:३७:२५,   अन्तिम अपडेट : चैत २६, २०७७ बिहीबार २१:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया