नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका १० वटै जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० जिल्लामध्ये पाँच जिल्लामा प्रेस युनियनको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ भने प्रेस चौतारी ४ र प्रेस सेन्टरको नेतृत्वमा १ जिल्लामा नयाँ कार्य समिति चयन भएको छ ।
हुम्लामा रावत निर्वाचित
नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्षमा राजन रावत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत परिणाममा प्रेस युनियनबाट उम्मेदवार बनेका रावत विजयी भएका हुन् । हुम्लामा प्रेस युनियन र प्रेस चौतारी (ओली) समूहबीच तालमेल भएको थियो । जसमा युनियनले अध्यक्ष र उपाध्यक्ष, चौतारीले महिला उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सहसचिव पदमा विजयी भएको छ । समावेशी सचिवमा प्रेस युनियनले जितेको छ ।
सल्यानमा नवीन पौडेल
सल्यानमा प्रेस युनियन उम्मेदवार नवीन पौडेल विजयी भएका छन् । नेपाल प्रेस चौतारी (ओली समूह), प्रेस युनियन र जनपत्रकार संगठनबीच तालमेल भएको थियो । जसमा अध्यक्ष, उपाध्यक्ष (खुला) र सहसचिव पद सो गठबन्धनले हात पारेको छ । यता, प्रेस चौतारी (माधव समूह) र प्रेस सेन्टरबीच तालमेलले महिला उपाध्यक्ष, सचिव, समावेशी सचिव र कोषाध्यक्ष पद हात पारेको छ ।
मुगुमा मल्ल निर्विरोध
नेपाल पत्रकार महासंघ मुगु शाखाले प्रेस युनियनको नेतृत्वमा निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा प्रेस युनियनका नृपेन्द्रबहादुर मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, महिला उपाध्यक्ष सुमित्रा रावल, सचिवमा प्रेस चौतारी (ओली पक्ष)ले सचिव र प्रेस सेन्टरलाई कोषाध्यक्ष पदका लागि सहमति भएको थियो ।
जाजरकोटमा शर्मा विजयी
यता, जाजरकोटमा प्रेस युनियनका उम्मेदवार बालकुमार शर्मा विजयी भएका छन् । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (माधव नेपाल समूह)लगायत १२ संगठनको संयुक्त प्यानलबाट उनी विजयी भएका हुन् । जसको उपाध्यक्षमा टुकुमाया घर्ती, सचिवमा भरत शर्मा, कोषाध्यक्षमा युद्धजित शर्मा र सहसचिवमा पवन शर्मा विजयी भएका छन् ।
सुर्खेतमा बसेल निर्वाचित
सुर्खेतमा प्रेस युनियनका उम्मेदवार ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (माधव नेपाल समूह), ओली समूहलगायत पत्रकार संगठनको सहमतिमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।
जसको उपाध्यक्ष खुलामा सुदीप पुरी, महिला उपाध्यक्ष सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव (खुला)मा ईश्वर अधिकारी, सह–सचिव (समावेशी)मा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा निर्विरोध निर्वाचित भएका छन् ।
रुकुममा लक्ष्मण केसी विजयी
नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको अध्यक्षमा लक्ष्मण केसी विजयी भएका छन् । रुकुम पश्चिममा नेपाल प्रेस युनियन र प्रेस चौतारीबीच तालमेल गरिएको थियो । जसमा प्रेस चौतारी (ओली समूह)बाट उम्मेदवार बनेका केसीको प्यानल नै विजयी भएको छ ।
दैलेखमा थापा विजयी
यता, नेपाल पत्रकार महासंघ दैलेखको अध्यक्षमा यज्ञराज थापा विजयी भएका छन् । थापा नेपाल प्रेस चौतारी (माधव नेपाल समूह)का हुन् । दैलेखमा प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (माधव नेपाल समूह) लगायत १२ वटा संगठनको संयुक्त प्यानल घोषणा गरिएको थियो । जसमा सदस्यबाहेकमा प्यानल नै विजयी भएको छ ।
जुम्लामा नेत्र शाही
नेपाल पत्रकार महासंघ जुम्लाको अध्यक्षमा नेत्रबहादुर शाही विजयी भएका छन् । जुम्लामा प्रेस सेन्टर नेपालका विरुद्ध प्रेस चौतारी, प्रेस युनियनले गठबन्धन गरेका थिए । जुम्लामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ ।
कालिकोटमा भरतराज विष्ट निर्विरोध
नेपाल पत्रकार महासंघ कालिकोटको अध्यक्षमा भरतराज विष्ट निर्विरोध निर्वाचित भएका छन् । कालिकोटमा प्रेस चौतारी (ओली पक्ष)ले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य, चौतारी (नेपाल समूहले) सचिव र महिला उपाध्यक्षसहित २ जना सदस्य, प्रेस युनियनले उपाध्यक्ष र सहसचिव २ जना सदस्य र प्रेस सेन्टरले समावेशी सहसचिव र ४ जना सदस्य पाउने गरी सहमति भएको थियो ।
डोल्पामा सरोज थापा निर्विरोध
डोल्पामा पत्रकार महासंघको अध्यक्षमा सरोज थापा निर्विरोध चयन भएका छन् । सम्पूर्ण पत्रकारबीचको सहमतिबाट प्रेस चौतारीनिकट थापालाई अध्यक्षमा चयन गरिएको नेपाल पत्रकार महासंघ डोल्पा शाखाले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।