आरबिबी एनभिए लिग भलिबल : हेल्प नेपाल र न्यु डायमन्ड विजयी

पाँचौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस् क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो ।
  
जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ । यसअघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो । 

उपाधि उचालेको न्यु डायमन्डले पुरस्कारस्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो । तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो ।

यस्तै, पुरुष तर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । यस अघि बुधबार भएको समूह चरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । 

हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । तीन भारतीय खेलाडीलाई कोर्टमा उत्रारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ । 



उपविजेता एपिएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्यो । चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो ।

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।



  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १९:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया