बालबालिकामा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, बिहीबार मात्रै ५१ जना संक्रमित
विद्यालय बन्द गर्ने सरकारको तयारी
समाचार प्रतिनिधि तस्बिर

नेपालमा देखिएको कोरोनाको दोस्रो लहरको सिकार बालबालिका हुन थालेका छन्। बेलायतबाट फैलिएको भेरियन्ट भारत हुँदै नेपालमा पनि देखिन थालेपछि त्यसको असर बालबालिकामा पनि देखिन थालेको हो।

पछिल्लो केही सातायता बालबालिकामा संक्रमण तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिकालाई कोरोना भएको छ। मन्त्रालयका अनुसार विद्यालयसहित सार्वजनिकस्थल खुल्ला रहेकाले बालबालिका संक्रमित हुने क्रम बढेको हो।

मन्त्रालयको तथ्याङ्कले अनुसार १८ वर्षमुनिको उमेरकालाई कोरोना सङ्क्रमण देखिने क्रम बढेर १६ प्रतिशत पुगेको छ। १८ वर्षमुनिका कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेपछि मन्त्रालयले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइकासाथ लागु गर्न भनेको छ। 

बेलायतबाट फैलिएको नयाँ भेरियन्टले भारतमा विकराल रुप लिएको छ। त्यहाँ बालबालिका र युवामा नयाँ भेरियन्टले सताएको छ।

 कोभिड-१९ को दोस्रो लहरको असर नेपालमा पनि देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि विद्यालय बन्दका लागि सिफारिस गरिसकेको छ। मन्त्रालयले विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो। 

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भारतमा विकराल रुप लिइसकेको कोरोनाको दोस्रो लहर रोक्नका लागि विद्यालय बन्द गर्न  सिसिएमसीलाई सिफारिस गरिएको बताएका छन्। 



'पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ', उनले भनेका छन्, 'नेपालमा पनि बेलायतबाट फैलिएको नयाँ भेरियन्ट फेला परेको छ। बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस नेपालका विद्यार्थी र सर्वसाधारणमा फेला परिसकेको छ।'

विद्यार्थीहरुमा देखिएको नयाँ भेरियन्ट फैलिन नदिन विद्यालयहरु बन्द गर्नेतर्फ सरकारले तयारी गरेको उनले बताए। 'नयाँ भेरियन्ट रोक्न स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ', उनले भने, 'यसबारेमा थप निर्णय शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्‍मा छलफल गरेपछि लिइनेछ।'



  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १२:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया