प्रचण्डप्रति देउवाको व्यंग्य : प्रधानमन्त्री बन्‍नुभन्दा मानेनन्, ओलीले लात हानेपछि ठीक भाछ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको राजनीतिक संकटको प्रमुख दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको बताएका छन्। निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा गरिएको विधान अधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा चितवनमा रेणु दाहाललाई जिताउन तालमेल गरेका देउवाले आमनिर्वाचनपछि पनि आफूले त्यही प्रस्ताव प्रचण्डलाई राखेको बताए। 'आमनिर्वाचनपछि मैले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न प्रस्ताव गरेको थिएँ। तर वाम एकता भन्दै प्रचण्डजीले ओलीलाई सत्ता सुम्पिदिए। मैले पटक पटक प्रधानमन्त्री बन्‍नु भनेँ तर मानेनन्। आफैँ ओलीलाई सत्ता बुझाएर खुट्टा नटेक्नेलाई अहिले ओलीले लात हानेपछि ठीक भएको छ। वास्तविक कुरा यो नै हो।'

देउवाले नेपालको संविधान अनुसार एक चौथाइ सदस्यले कुनै विषय लिएर संसद बोलाउन माग गर्न सक्ने बताए। तर आफूसँग त्यो संख्या पनि नभएकाले समस्या भएको सुनाए। 'ओलीलाई हटाउने सांसद संख्या अझै पनि हामीसँग पुगिसकेको छैन', उनले भने, 'हटाउन संख्या त पुग्नुपर्यो नि! त्यतिकै हटाऊँ हटाऊँ भनेर मात्रै हुन्छ?'

उनले कांग्रेसलाई भोटै नहालेर जनताले सानो पार्टी बनाइदिएकाले चुनावमा जाऊँ भनेको बताए। 'दुइटा पार्टी मिले जनताले भोट हाले त हामीले के गर्नु। जनताले हराए त हामीले के गर्नु। त्यही भएर हामी जनताको घर दैलोमा जाऊँ भनेको', उनले भने, 'हामी कांग्रेस हौँ, धाँधली गर्दैनौँ। जनताको भोट हामीले पाउनुपर्छ। ओलीलाई हटाउने त हो तर भए न भने पनि हामी चुनावमै जानैपर्छ। चुनावबाहेक अर्को बाटो हुन सक्दैन।'

उनले कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको सुनाए। 'हाम्रा लागि कसैले संविधान संशोधन गरिदिँदैन', उनले भने, 'संविधान संशोधन गर्न पनि दुईतिहाइ चाहिन्छ। अहिले त्यो अवस्था छैन। अब हामीले महाधिवेशन पनि गर्नै पर्नेछ।'

उनले ओलीलाई बिदा गर्ने निर्णय पार्टीले लिइसकेको पनि बताए। 'कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेका छौँ, यसमा तपाईंहरुलाई पनि धन्यवाद छ', उनले भने, 'तर म आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्‍ने छैन। मैले आज पनि बैठक राखेको छु। नयाँ सरकार बने ठीकै तर त्यसो भएन भने चुनाव उपयुक्त विकल्प हो, त्यसका लागि  हामी सबै तयारीमा जुट्नुपर्छ।'



भिडियो



  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १४:२३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया