आजबाट आइपिएल : परिवर्तन के के ?

विश्व क्रिकेटकै चर्चित फ्रेन्चाइज टि–२० लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण आजबाट सुरु हुँदै छ । आज हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन् । 

भारतमा दिन प्रतिदिन कोरोना संक्रमण दर बढ्दो मात्रामा छ । कारोना महामारीको दोस्रो लहर कारण विभिन्न सहरमा लकडाउन लगाउनु पर्ने अवस्था  सिर्जना भइरहेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन गरिने बताएको छ ।

कोरोनाका कारण १३ औँ संस्करणको आइपिएल संयुक्त अरब इमिरेट् (युएई) का तीन सहरमा भएको थियो । यसपटक आएपिएल भारतमा हुँदैछ तर दर्शकले मैदानमै गएर खेल हेर्न भने पाउने छैनन् । 

यसपटकको आइपिएलका केही तथ्य

६ सहरमा मात्र खेलाइने

यसपटकको आइपिएल ६ सहरमा मात्र खेलाइनेछ । बिसिसिआईले जनाए अनुसार मुम्बई, चेन्नई, दिल्ली, अहमेदाबाद, कोलकत्ता र बैंग्लोरमा मात्र यसपटको आइपिएल खेलाइने छ ।



यस सिजन आइपिएल खेल हुने स्थलमध्ये अहमेदाबाद मात्र यस्तो सहर हो जहाँ कुनै फ्रेन्चाइज टिम छैन । अन्य टिमले पनि आफ्नो घरेलु मैदानमा खेल्न पाउने छैनन् । 

नयाँ कप्तान र नाम



यो संस्करणमा आइपिएलका २ टिमले नयाँ कप्तान र १ टिमले नयाँ नाम पाएको छ ।

राजस्थान रोयल्सले स्टिभ स्मिथको स्थानमा सञ्जु सामसनलाई कप्तान बनाउँदा दिल्ली क्यापिटल्सले श्रेयस अय्यरको स्थानमा ऋषभ पन्तलाई कप्तानी सुम्पिएको छ । राजस्थानले स्टिभलाई रिलिज गरेको थियो । यो सिजन उनी डिल्ली क्यापिटल्सबाट आइपिएलमा सहभागी हुँदै छन् । 

श्रेयस घाइते भएका कारण यो सिजनको आइपिएलमा सहभागी हुने छैनन् । उनी इङल्यान्ड विरुद्धको एकदिवसीय सिरिज खेल्ने क्रममा घाइते भएका थिए । 
अघिल्ला सिजनमा किंग्स ११ पञ्जाबको नामले आइपिएलमा सहभागी हुँदै आएको फ्रेन्चाइज टिमले यसपटक पञ्जाब किंग्सको नामले सहभागिता जनाउँदै छ । 

प्रत्येक खेलाडीको जिपिएस ट्रयाकिङ

आइपिएलमा सहभागी हुने खेलाडीको जिपिएस ट्रयाकिङ हुनेछ । कोरोनाका कारण लागू गरिएको बायो बवल्स नियम ठिकसँग पालना होस् भनेर यस्तो गरिएको हो ।

आइपिएलमा सहभागी हरेक खेलाडीले होटलको कोठा बाहिर निस्कँदा यो डिभाइस प्रयोग गर्नुपर्ने हुन्छ । यो डिभाइसमार्फत् उनीहरूले बायो बवल्स क्षेत्रको बारेका जनाकारी प्राप्त गर्नेछन् । खेलाडी बायो बवल्स क्षेत्र बाहिर आएमा डिभाइसले उनीहरूलाई सचेत गराउनेछ । 

यदि उनीहरूले यो नियम तोडेको पाइएमा ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यसका लागि ४ कोरोना अधिकारी नियुक्त गरिएको छ । 

नयाँ नियम

यो संस्करणको आइपिएलमा केही नयाँ नियम लागू हुने भएका छन् ।

 

९० मिनेट भित्र २० ओभर गरिसक्नु पर्ने

यसपटक ९० मिनेटभित्र २० ओभर गरिसक्नुपर्ने नियम ल्याइएको छ । यसअघि ९० मिनेटभित्र २० औं सुरु गर्नुपर्ने नियम थियो ।
बिसिसिआईले कम्तीमा ११–१४ ओभर रेट प्राप्त गर्नुपर्ने नियम बनाएको छ । जसमा ८५ मिनेट खेलका लागि र ५ मिनेट टाइम आउटका लागि छुट्टयाइएको छ ।

यो नियमअनुसार प्रत्येक ओभर ४ मिनेट १५ सेकेन्डको हुनेछ । यदि खेल २० ओभरभन्दा अगाडि नै सकिएको खण्डमा पनि प्रत्येक ओभर ४ मिनेट १५ सेकेन्डको हिसाबले जोडिनेछ । यदि कुनै टिमले तोकिएको भन्दा बढी समय लगाएमा चेतावनी दिइनेछ र म्याच फि तथा भत्ताबाट जरिवाना लगाइनेछ ।

नो सफ्ट सिंगल

यस संस्करणको आइपिएलमा सफ्ट सिंगलको नियम हटाइएको छ । यसअघि  फिल्ड अम्पायरले आउट वा नट आउटको सफ्ट सिंगल दिँदा थर्ड अम्पायरले यसलाई बदल्ने कुनै ठोस प्रमाण नभेटेका खण्डमा यही निर्णय मान्य हुन्थ्यो 

अब फिल्ड अम्पायरले सफ्ट सिंगल दिन पाउने छैनन् । यसको निर्णय पूर्ण रूपमा थर्ड अम्पायरले लिनेछन् । 

सर्ट रन कल

यस संस्करणको आइपिएलमा सर्ट रन कलको नियममा पनि परिवर्तन गरिएको छ । यदि फिल्ड अम्पायरको सर्ट रन कलको निर्णय चित्त नबुझेको खण्डमा थर्ड अम्पायरले यसलाई बदल्न सक्नेछ ।

यदि कुनै ब्याट्म्यानले रन लिने क्रममा लाइन क्रस नगरेको खण्डमा फिल्ड अम्पायरले सर्ट रनको निर्णय दिन सक्छन् । सर्ट रन कल भएमा रनको मान्यता हुनेछैन । 

बेला–बेलमा यो नियमको विरोध हुँदै आएको छ । गत सिजनको आइपिएलमा दिल्ली क्यापिट्ल्स र किंग्स ११ पञ्जान विरुद्धको खेलमा स्क्वायर लेग अम्पायरले सर्ट रनको निर्णय दिँदा पञ्जाबले हार व्यहोर्नु परेको थियो ।

पछि रिप्लेमा हेर्दा पञ्जाबका ब्याट्सम्यानले रन पूरा गरेको देखिएको थियो । यसलाई मध्यनजर गर्दै अब थर्ड अम्पायरले सर्ट रन कललाई पनि बदल्न पाउने नियम ल्याइएको हो ।

एजेन्सीको सहयोगमा

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १४:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया