ओलीको विकल्प खोज्न देउवा निवासमा तीन दलको वार्ता सुरु

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने रणनीतिको अन्तिम कसरतमा जुटेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच वार्ता सुरु भएको छ। 

केही बेरअघिबाट सुरु भएको वार्तामा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, डा. प्रकाशशरण महत र विजयकुमार गच्छदार पनि सहभागी छन्। 

त्यस्तै उक्त वार्तामा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन्। उता जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र डा. बाबुराम भट्टराई पनि सहभागी छन्। 

कांग्रेस केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने निर्णय गरिसकेका सभापति देउवाले आज नयाँ सरकार निर्माणको छलफलका लागि तीन दलको बैठक राखेका हुन्। ओलीले सत्ता छाड्न नचाहेको अवस्थामा उनलाई बिदा गर्न देउवाले १३८ जना सांसदको ग्यारेन्टी खोज्न अन्य दुई दलका नेतासँग आज संवाद गर्न लागेका हुन्। 

देउवालाई नयाँ सरकारका लागि माओवादी र जसपाका पूरै सांसदको साथ चाहिन्छ। अनि मात्रै ओलीविरुद्ध संसदमा अविश्वास दर्ता हुन सक्छ। कांग्रेससँग ६१, माओवादीसँग ४९ र जसपासँग  अहिले ३२ सांसद छन्। उता एमालेसँग १२१ सांसद रहेका छन्। यस्तोमा ओलीले जसपाका १५ देखि १८ सांसदको साथ लिन सके भने उनको सत्ता जोगिन्छ। उता कांग्रेस र माओवादीलाई भने जसपाका पूरै ३२ सांसदको साथ मिले मात्रै ओलीविरुद्ध अविश्वास दर्ता हुन सक्छ।

नयाँ सत्ता समीकरणमा अहिलेसम्म मौन देउवाले जसपा अध्यक्ष ठाकुरलाई फकाउने  प्रयास गर्नेछन्। तर ठाकुर ओलीसँग कन्भिन्स भइसकेका छन्। उनलाई ओलीले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने बचन दिएर प्रक्रिया अघि बढाइसकेका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन थप अगाडि बढाउन नसक्ने बताएपछि देउवा तातेका हुन्। 





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १६:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया