राष्ट्रपतिले बाँडेको तक्मा र पदकबाट नेपालको चुच्चे नक्सा नै गायब !

सरकारले गत जेठमा जारी गरेको चुच्चे नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको पदकबाट गायब भएको छ। शुक्रबार शीतल निवासमा देशका लागि योगदान दिएकाहरुलाई बाँडिएको मानपदवी, अलङ्कार र पदकमा कोरिएको नेपालको नक्सबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक नै गायब भएको हो। 

सरकारले घोषणा गरेको पद पाएकाहरुले सामाजिक सञ्जालमा हालेको तस्बिरमा कहीँ पनि चुच्चे नक्सा देखिँदैन । संघीय संसदका दुवै सदनबाट अनुमोदित चुच्चे नक्सा देशकै सर्वोच्च व्यक्तिले वितरण गरेको पदकबाट गायब हुँदा सरकारको अर्को गम्भीर लापरबाही देखिएको छ। 

चुच्चे नक्सामा दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटिएको थियो। भारतले हडपेको उक्त भूमि फिर्ताका लागि सरकारले वार्ता भइरहेको जनाएको छ। तर राष्ट्रपतिले बाँडेको पदकबाटै चुच्चे नक्सा बेपत्ता भएको छ।

पूर्व सचिव भीम उपाध्यायले सरकारी पदकबाटै चुच्चे नक्सा गायब भएको भन्दै प्रश्न उठाएका छन्। उनले यसलाई सरकारको गम्भीर लापरवाही भनेका छन्। तर सरकारी अधिकारीले भने चुच्चे नक्सा नराखिएबारे बचाउ गरेका छन्। 

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले यी पदक गत वर्ष घोषणा भएलगत्तै बनेको बताएका छन्। गत वर्ष नै दिनुपर्ने पदक कोरोनाका कारण रोकिएकाले अहिले बाँडिदा चुच्चे नक्सा नदेखिएको उनले स्वीकारेका छन्। उनका अनुसार यी पदक २०७६ मै घोषणा गरिएको तर अहिले वितरण भएको उनले बताए। 

आज गत वर्ष नै छापिएको पदक दिइएको उनले बताए। अब बाँकीलाई चुच्चे नक्सासहितको पदक वैशाख १ गते वितरण गरिने पनि बुढाले बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक गत जेठ ३१ गते प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको थियो।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १६:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया