देश बलियो बनाउने होइन आफू बलियो हुने मार्गमा ओली : गगन थापा
‘बाले घ्यू खाएका थिए मेरो हात सुँघ-सुँघ भनेर हुँदैन पाँच वर्षमा के के गर्ने ठोस कुरा लिएर कांग्रेस जनतामा जानुपर्छ’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् । 

काठमाडौंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन् । उनले देश बलियो बनाउने भन्दा आफू बलियो बन्ने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए । 

उनले भने, ‘२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिइसकेपछि पार्टीका तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु, ‘एउटा आशंका छ कि तपाईंको पृष्ठभूमि हेर्दा, तपाईंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरु बलियो बनाएर, पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्नभन्दा पनि व्यक्ति बलियो भयो भने  परिणाम आउँछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ । यो  भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको म सम्झन्छु । त्यो भनिरहँदा यो नहोस् भन्ने थियो ।’

संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले बताए ।

संसद, अदालत, संवैधानिक निकायहरु, आयोगहरू, प्रशासन लगायत सबै तर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालीन सोच राखेर नभई व्यक्ति केन्द्रित शक्ति एकीकृत गर्ने ढंगबाट अघि बढेको बताए । 

विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे ।



उनले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे । उनले भने,  ‘पपुलिष्ट लिडरको क्यारेक्टर एउटै हुन्छ । उसले मभन्दा अगाडिका शासकहरु खराब र अयोग्य भएकाले गर्न नसकेको हो । तर मसँग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ ।’

उनले वर्तमान सरकारले नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे ।



नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरी अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने बताए । हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेस रहेको भन्दै उनले नेतृत्वलाई त्यस तर्फ अघि बढ्न आग्रह गरे ।

सरकारका क्रियाकलापहरू संवैधानिक संस्थाहरु भत्काउन उद्धत रहेको र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयास स्वरुप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औंल्याए ।

उनले आगामी निर्वाचनको प्रसङ्गमा भने, ‘यो पटक कांग्रेस निर्वाचनमा जाँदै गर्दा मेरा बाले घ्यू खाएका थिए । हात सुँघ-सुँघ भनेर हुँदैन । ५ वर्ष मौका पाउँदा के के गर्छौं औँला भाँचेर भन्न सक्नुपर्छ ।’

उनले निजामती कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरुलाई लिपिबद्ध गर्न र अनुकूल ढंगले विधान संशोधन गर्न सुझाव दिए । उनले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनीतिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिए ।

 

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १९:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया