'कोरोनाको दोस्रो लहर आइसक्यो, अब लापरबाही बन्द गरौँ'
सिमानामा निगरानी बढाऊँ, परीक्षण व्यापक बनाऊँ

कोरोना भाइरसबाट विश्व एक वर्षयता आतंकित छ। नेपालले २०७६ माघदेखि कोरोनाको संकट झेल्दै आएको छ। यसबीचमा २ लाख ८० हजार संक्रमित भइसके। तीन हजार  भन्दा धेरैले त ज्यान नै गुमाइसकेका छन्। नेपालले कोभिडको पहिलो लहरको सामना गरिसकेको छ। अब दोस्रो लहरको  चिन्ता सुरु भएको छ।

भारतमा कोभिडको दोस्रो लहरले विस्फोटक रुप लिइसकेको छ। उसँगको खुला सिमानाका कारण नेपाल पनि दोस्रो लहरको उच्च जोखिममा छ। स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले आगामी जेठ र असारसम्म नेपालमा पनि कोभिडको दोस्रो लहर उच्च बिन्दुमा पुग्ने बताइसकेका छन्। एक वर्षपछि कोरोना भाइरसको परिवर्तित स्वरुप (म्युटेट) स्वरुपले भारतमा आक्रान्त रुप लिइरहेको छ ।

कोरोनासँग एक वर्षदेखि फ्रन्टलाइनमा बसेर खटिरहेका डाक्टर हुन्, शेरबहादुर पुन । उनी बागलुङमा जन्मिएका हुन् । उनले स्कुलको पढाइ ल्याब्रोटरी स्कुलबाट पूरा गरेका हुन्। पुनले कलेजको पढाइ रुसबाट पूरा गरे। जापानमा पीएचडी पूरा गरेका उनी नेपाल फर्किएर सरुवा रोग विशेषज्ञका रुपमा स्थापित भएका छन्।

फ्रन्टलाइनका शेर

कोरोना संकटको समयमा फ्रन्टलाइनमा निरन्तर खटिएका छन् डाक्टर पुन। उनसहितका चिकित्सक र स्वास्थ्यकर्मी कोरोनाका बिरामीको उपचारमा  चौबीसै घण्टा खटिएका छन्।  उनीहरुको लगाव प्रशंसनीय छ । 

डाक्टर पुनको क्याबिनमा पनि एउटा ओछयान छ । कोरोनाकालमा सरुवा रोग लिएर घर जानुभन्दा उनी क्याबिनमै रात काट्थे । परिवारका सदस्यलाई कोरोनाको जोखिम नहोस् भनेर उनीसमेत अस्पतालमा नै दिनरात बिताउँथे ।



'मेरो काम नै मेरो लागि सबैभन्दा ठूलो हो । जनताको हितका लागि यसरी काम गर्न पाउनु पनि धेरै भाग्यको कुरा हो', उनले भने।  कोरोनाको प्रकोप नेपालमा फैलिन नदिने उपाय खोजी र रोकथामका लागि उनले काम गरेका छन्। पहिलो लहरदेखि दोस्रो लहरसम्म आइपुग्दा कोरोना भाइरसप्रति सजगता अपनाउँदै उपचारमा खटिएका छन्।

'नेपालमा पनि दोस्रो लहरको खतरा बढेको छ। पहिलेको भन्दा अहिलेको अवस्था फरक छ। पहिले हाम्रा लागि कोरोना पूरै नयाँ थियो', उनले भने, 'तर अहिले हामी यो भाइरसबारे पर्याप्त जानकार छौँ, त्यही अनुसार हामीले जोगिने उपाय खोज्न सजिलो भएको छ।'



अब कोरोना भाइरस नियन्त्रण गर्न, फैलिन नदिन पहिलेभन्दा सजिलो हुने उनी बताउँछन् । तर मानिसहरुले अहिले गरिरहेको लापरवाही घातक हुन सक्ने उनले चेतावनी दिए। 'कोरोना संक्रमण केही मथ्थर हुँदैमा मानिसहरुले लापरवाही सुरु गरेका छन्', उनले थपे, 'यो केही कम भएको बेला गरिने हेलचेक्रयाइँ झन् महँगो पर्न सक्छ।'

कोरोना पूरै निमिट्यान्‍न भइनसकेकोले लापरवाही गर्नै नहुने उनको तर्क छ। 'कोरोना भाइरस केही समय मथ्थर भएको थियो, तर पूरै हराएको होइन', उनले सुनाए, 'सबैले स्वास्थ्य सर्तकता अपनाउनुपर्छ, हामीसँग यही हो राम्रो विकल्प।

पहिलो चरणमा जस्तै महामारीको रुप लिन नदिन सर्वसाधारणसहित सबैले आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने उनले बताए। 

बढ्दै संक्रमण

पहिलो चरणको कोरोना संक्रमण समुदायमा पुगेर पनि नेपाल यो अवस्थामा आइपुगेको छ। सुरुमा नेपालबाट पिसिआर गराउन पनि हङकङ पठाउनुपर्ने बाध्यता थियो। तर अहिले देशभित्रै ८० भन्दा धेरै पिसिआर ल्याब चलिरहेका छन्। 

कोरोना घट्दै गएपछि परीक्षण गराउनेको संख्या पनि घटेको थियो। तर केही सातायता फेरि संक्रमण बढ्दो छ। केही महिना विदेश जाने र विशेष काम गर्नेले मात्रै परीक्षण गरिरहेका थिए। तर दोस्रो लहरसँगै चित्र फेरिएको छ। विस्तारै संक्रमित संख्या उकालो लाग्दो छ। अब फेरि पिसिआर परीक्षण व्यापक बनाउनुपर्ने अवस्था आउँदैछ।

भिडियो

'पहिलो चरणको कोरोना संक्रमण नियन्त्रणमा आएपछि अहिले समुदायमा केही पनि नभएको जस्तो सबै खुला छ', पुनले भने, 'सामान्य अवस्था जस्तै ठानिँदा फेरि संक्रमण बढिरहेको छ। यसकारण हामीले बेलैमा सचेत हुनुपर्ने भएको छ।'

भौतिक संरचना 

नेपालमा पहिलो चरणमा कोरोना फैलिएपछि त्यसविरुद्ध लड्ने भौतिक संरचना सरकारले पर्याप्त थपेको छ। सरकारले सुरुवाती लहरमा ल्याएका उपकरण अब राम्रोसँग उपयोग गर्न सक्ने अवस्थामा छन्। 

नेपालमा पहिलो लहरका क्रममा सरकारले अनेक स्वास्थ्य उपकरण र परीक्षण केन्द्र थपेको थियो। तिनैलाई तयारी अवस्थामा राखेर सरकारले कोरोनाविरुद्धको दोस्रो लहरसँग लड्ने रणनीति बनाएको छ। 

कोरोनाको पहिलो लहर ओरालो लागेसँगै हाल निजी अस्पताललाई दिइएको उपचारको जिम्मेवारी खोसिएको छ। अहिले शुक्रराज ट्रपिकलसहितका सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको छ। 

'अहिले सरकारी अस्पतालले नै थेग्न सक्ने अवस्था छ। तर दोस्रो लहरका लागि निजी अस्पतालहरुलाई सरकारले तयारी अवस्थामा राख्नुपर्छ', उनले थपे, 'निजी अस्पतालले पनि पहिलो लहरबाट सिकिसकेकाले नागरिकको उपचारमा थप सहज हुनेछ।' 

नेपाललाई गाह्रो

कोरोनाको दोस्रो लहर अमेरिका, बेलायत, ब्राजिल, फ्रान्स र इटाली हुँदै भारतसम्म आइपुगेको छ। अहिले भारतमा कोरोनाको दोस्रो लहरले भयंकर रुप लिएको छ। भारतमा बिहीबार मात्रै एक लाख ३ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए। त्यहाँ १५ करोड बढीलाई सरकारले भ्याक्सिन दिइसकेको छ। तर कोरोनाको संकटले छाड्ने भन्दा झनै च्याप्ने अवस्था आएको छ।

डा. पुनले भारतसहितका देशको दोस्रो लहरको संकट हेरेर नेपालमा पनि त्यही अवस्था आए थेग्न नसक्ने आँकलन गरेका छन्। 'नेपालमा दोस्रो लहरले अन्य मुलुकमा जस्तै महामारीको रुप लिएमा नेपालमा धेरै चाप पर्न सक्छ', उनले भने, 'अहिले त कोरोनाका नयाँ नयाँ भेरियन्ट आइरहेकाले पहिले भन्दा झन् संक्रामक हुँदै गएका छन्।'

पुनले विश्वका १३० देशमा पुगेको युके भेरियन्ट नेपालमा पनि फैलिने सम्भावना उच्च रहेको बताए। 'कुनै पनि भाइरसलाई कमजोर नठानौँ। यसले आफ्नो स्वरुप बदल्दै गएको छ', उनले भने, 'त्यसैले यसलाई सामान्य ठान्ने गल्ती नगरौँ। कमजोर नआँकौँ। स्वास्थ्य र सावधानीलाई अझै बढाऔँ।'

भारतले तनाव 
नेपालको तीन दिशामा भारतसँग खुला सिमाना छ। नेपाललाई सबैभन्दा ठूलो चुनौती नै यही भएको छ। नेपालमा कोरोना चाँडो फैलिन सक्ने मुख्य कारण नै भारतसँगको खुला सिमाना भएको छ। 

खुला सिमाना भएको भारतमा कोरोनाले महामारीको रुप लिँदा त्यहाँ रहेका लाखौँ नेपाली ज्यान जोगाउन घर फर्किन्छन्। घर फर्किँदा उनीहरुसँगै कोरोना पनि भित्रिने जोखिम उच्च छ। पहिलो लहरमा पनि त्यही भएको थियो।

भारतबाट नेपाल आउने मानिसको संख्या बढेसँगै यसले फेरि खतराको घण्टी बजाएको छ। मेचीदेखि महाकालीसम्मका लाखौँ नेपाली भारतमा छन्। उनीहरुलाई सिमानामा एन्टिजेन टेस्ट गर्ने त भनिएको छ तर यसलाई प्रभावकारी बनाइएन भने गाउँ गाउँमा कोरोनाका नयाँ भेरियन्ट पुग्न सक्छन्। 

पछिल्लो एक सातायता संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै दैनिक दुई सयको हाराहारीमा संक्रमित देखिन थालेका छन्। पहिलो चरणमा यही अवस्था हुँदा मानिसहरु आतंकित हुन्थे। तर अहिले मानिसहरुलाई छोएको छैन त्यहीकारण लापरवाही बढ्दो छ। नयाँ भेरियन्टहरु धेरै संक्रामक हुने भएकाले सचेत हुनुपर्ने सुझाव पुनले दिएका छन्। 

सबै खुल्दा चिन्ता

अहिले देशभरको सार्वजनिक जीवन सामान्य छ। बजार पसल सबै खुलेका छन् भने विद्यालय र कलेज पनि चलिरहेका छन्। सार्वजनिक स्थल खुलेको अवस्थामा कोरोनाको दोस्रो लहरको संकट झनै बढेको छ।

दोस्रो लहरका लागि कति तयार?

दोस्रो लहरका लागि नेपालका चिकित्सक, स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मी कत्तिको तयार छन् त?  'अन्य अस्पतालबारे म भन्‍न सक्दिनँ तर शुक्रराज ट्रपिकल अस्पताल र यहाँका चिकित्सक,स्वास्थ्यकर्मी र उपकरण तयारी अवस्थामा छन्', उनले सुनाए, 'हामी भौतिक र मानसिक दुवै रुपमा तयार छौँ।'

सरकारी अस्पतालदेखि निजी अस्पतालाई पनि दोस्रो लहरबारे तयार गर्नुपर्ने सुझाव उनले दिएका छन्। 

खोप कति प्रभावकारी ?

कोरोना भाइरसको खोप अभियानलाई डाक्टर पुनले प्रभावकारी मानेका छन्। 'खोप अहिलेको अवस्थमा राम्रो र प्रभावकारी नै छ। खोप लगाउनै पर्छ। खोप अहिलेसम्मको निर्विकल्प उपाय हो', उनले भने  

खोप लगाएपछि अहिलेसम्म कसैको मृत्यु भएको प्रमाणित नभएको उनले बताए। 'भारत र युरोपेली देशमा छिटफुट घटना भएको सुनेको छु', उनले भने, 'नेपालमा पनि यस्ता घटना भएको नजरअन्दाज नगरौँ।' 

खोपबारेका द्विविधा चिर्न अनुसन्धान कमिटी बनाइ अघि बढेमा भ्रम चिर्न सजिलो हुने उनले बताए। यसले खोपको प्रभावकारिता पनि  लगाउन सहज हुने उनले सुझाए।

सिमानामा कडाइ गरौँ

नेपालमा पहिलो चरणमा जस्तै भयावह अवस्था आउन नदिन भारतसँगको सीमाक्षेत्रमा बेलैमा कडाइ गर्नुपर्ने सुझाव उनले सरकारलाई दिएका छन्। 'सीमा क्षेत्रमा कडाइ गरौँ तर यतिले मात्रै पुग्दैन', उनले भने, 'अब परीक्षणको दायरा पनि बढाउनुपर्दछ। संक्रमण फैलिन नदिन भीडभाड हुने क्षेत्र रोकेर जानु पर्दछ।'

दोस्रो लहरबाट जोगिन सार्वजनिक स्थलमा जाँदा स्वास्थ्य सर्तकता बढाउनुपर्ने सुझाव उनले दिए। 'सबैले आफ्नो तर्फबाट कोसिस गर्ने हो। सर्वसाधारणले पनि सचेत भइदिने हो भने अहिलेका स्रोत साधन पर्याप्त हुन्छन्', उनले थपे, 'यदि संक्रमण पहिलाको अवस्था जस्तै भएमा संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ।'

यदि स्वास्थ्य सावधानीमा हेलचेक्रयाइँ भएमा पहिले भन्दा छिटो कोरोना फैलिन सक्ने उनले देखेका छन्। 'यदि दोस्रो लहरमा स्वास्थ्य सावधानीमा कमजोरी भएमा पहिलो लहरभन्दा छिटो र धेरै मानिसमा संक्रमण पुग्न सक्छ', उनले भने। 

नयाँ भेरियन्टहरुमा छिटो फैलिने विशेषता भएकाले केही समयमै धेरै मानिस संक्रमित हुन सक्ने उनले बताए। 'अहिले कोरोना भाइरसले स्वभाव परिवर्तन गरी छिटो फैलिएर बढी मानिसलाई संक्रमित बनाउन थालेको छ', उनले भने, 'धेरै छिटो फैलिने र पहिले भन्दा अझै संक्रामक प्रकृतिको भएकाले सावधानी पनि अझै बढी चाहिएको छ।'

अलग भेरियन्टको अलग जोखिम

विश्वका विभिन्न देशहरुमा भेटिएका नयाँ प्रकारका भेरियन्टहरु आफ्नै प्रकृतिका छन्। भारतमा अहिले युके भेरियन्ट तीव्र गतिमा फैलिएको छ। युके भेरियन्ट १३० देशमा पुगेको छ भने ब्राजिलमा भेटिएको अर्को भेरियन्ट १८० देशमा पुगिसकेको छ।

पछिल्लो समय ब्राजिलियन, दक्षिण अफ्रिकन र युके भेरियन्टहरुले विश्वलाई धेरै सताएका छन्। यी मुख्य तीन भेरियन्टबीच प्रतिस्पर्धा भइरहेको देखिए पनि कुन बढी संक्रामक छ भन्‍ने अझै पत्ता लागेको छैन।

नयाँ नयाँ भेरियन्टको नयाँ नयाँ जोखिम पनि थपिएकाले  परीक्षणको दायरा बढाइ आइसोलेसन र भेन्टिलेटर थप्ने र भएकालाई तयारी अवस्थामा राखिनुपर्ने उनले बताए। 

कोरोना फैलिन नदिन भइरहेको सरकारी प्रयास सर्वसाधारणको सहयोगबाट मात्रै सफल हुने उनले बुझेका छन्। 'कोरोनासँगको लडाइँ सरकारले एक्लै जित्न सक्ने अवस्था छैन। हरेक व्यक्तिको तर्फबाट निरन्तर प्रयास भए नियन्त्रणमा ल्याउन सहज हुन्छ', पुनले थपे, 'सरकार र अस्पतालले भन्दा पहिले हरेक नागरिकले स्वास्थ्य सावधानी अपनाए संक्रमण नियन्त्रण सहज हुन्छ । हरेक नागरिकले 'म सुरक्षित हुन्छु, अरुलाई पनि सुरक्षित राख्छु' भन्‍ने सोच्नुपर्छ।'

अन्त्यमा पुनले नेपालमा दोस्रो लहरको प्रकोप फैलिन नदिनका लागि सबैभन्दा ठूलो भूमिका नागरिकले बहन गर्नुपर्ने बताए। 'यदि नागरिक सचेत भइदिएमा हामी कोरोनाको दोस्रो लहरसँग सजिलै जुध्न सक्छौँ', पुनले अन्तिममा भने, 'यसो भयो भने नेपाल र नेपालीमाथि कोरोनाको यो लहरको असर कमभन्दा कम पर्नेछ।'

  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार ८:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया