प्रचण्डपछि माधवको गुनासो : लभ परेर जन्मेको छोरोलाई सर्वोच्चले आमाकै गर्भमा पठाइदियो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्ने गरी दिएको  निर्णयलाई प्रेम विवाहसँग तुलना गरेका छन् । शनिबार पर्सा जिल्लास्तरीय समानान्तर कमिटी बनाएपछि आइतबार वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेकपा खारेज गरेर साविकका एमाले र माओवादी ब्यूँताउने सर्वोच्च अदालतको निर्णयलाई विवाह र बच्चासँग तुलना गर्दै नेता नेपालले गुनासो गरेका हुन्। ‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्। एक वर्षपछि छोरो जन्मिन्छ', उनले भने, 'तर जन्मिसकेको त्यो छोरोलाई सर्वोच्च अदालतले फेरि आमाको गर्भमै पठाउने गरी फैसला दिएको छ। यो राजनीतिकसँगै अस्वभाविक निर्णय पनि हो।'

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले खारेजीमा परेको नेकपा र साविकको एमालेलाई पेवा सम्झिएको बताए। उनले कुर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्दी बनाएर ओलीले पार्टीमा एकलौटीतन्त्र, मनपरितन्त्र र अधिनायकवाद लादेको पनि गुनासो गरे।

‘ओलीको त्यही कदमको फल पार्टी अहिले संकटमा पुगेको छ, कार्यकर्तामा निराशा छाएको छ। त्यही निराशालाई ख्याल गरेर नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ, म आफैँ यो अभियानमा छु', उनले भने, 'हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर अहिलेको अवस्थाबारे देशव्यापी जानकारी दिँदै अघि बढेका छौं।’ 

नेता नेपालले प्रधानमन्त्री ओलीले आफूमाथि विधान मिचेर कारबाही गरेको पनि आरोप लगाएका छन् । नेपालले प्रधानमन्त्रीले गरेको कारबाही असंवैधानिक भएको ठहरसहित निर्वाचन आयोगमा पत्र पठाइएको पनि जानकारी दिए। प्रधानमन्त्रीले गत फागुन २८ गते र चैत ७ गते गरेका निर्णय फिर्ताका लागि निवेदन दिए पनि आयोगबाट निर्णय नआएको गुनासो गरे ।



‘नेकपा एमाले हामी सबै नेताहरुको पार्टी हो, प्रधानमन्त्री ओलीजीले विधि र पार्टीको विधानलाई मिचेर कारबाही गर्नू भएको छ, त्यो असंवैधानिक र गलत छ, त्यसबारे निर्वाचनमा आयोगमा चिठी पठाएका छौं,’ उनले थपे, 'पार्टीको काम कारवाहीबारे कुन निर्णय ठीक छ, कुन बेठीक छ भन्‍ने निर्णय लिन निर्वाचन आयोग छ। तर अहिलेसम्म निर्णय आएको छैन। अब हामीले के भन्‍ने? कहाँ गएर उजुरी गर्ने, कहाँ गएर विरोध गर्ने ?’

टिकट दिन्छु



नेता नेपालले उक्त कार्यक्रममा बोल्दै आफ्नो पक्षमा आउने नेता कार्यकर्तालाई आगामी निर्वाचनमा टिकट पक्का दिने बताए। संकटमा साथ दिएकाहरूलाई निर्वाचनको टिकट दिने आश्वासन उनले बाँडेका हुन्। नेता नेपालले आयोगले एमालेको आधिकारिकता ओलीलाई दिए पनि निराश नहुन आग्रह गर्दै चुनावमा टिकट नपाइने चिन्ता नलिन पनि भने। 

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १२:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया