कोरोनाको त्रास : एकसाथ सबै विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

कोभिड-१९ को दोस्रो लहरको संक्रमण फैलँदै गएका बेला पुनः विद्यालय बन्द हुने समाचार आउन थालेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालय मात्र बन्द गर्न आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै प्याब्सनले चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले स्वास्थ्य, शिक्षा, आर्थिक र रोजगारीलगायतका क्षेत्रमा पारेको प्रभाव आम जनताले अनुभूत गरिसकेको उल्लेख गर्दै बन्दाबन्दी मात्र रोकथामको उपाय होइन भन्ने प्रमाणित भइसकेको जनाएको छ । लामो समयको बन्दाबन्दीपछि भर्खरै बामे सर्न थालेको जनजीवन पुनः बन्दाबन्दी हुने हल्लाले त्रसित बनेको छ ।

यही बीचमा सरकारकै केही निकायले विद्यालय भौतिक रूपमा बन्द गराई अनलाइनबाट पठ्नपाठन जारी राख्न सिफारिस गरिएको भन्ने समाचार प्रति प्याब्सनले ध्यानाकर्षण भएको जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अत्यन्त आवश्यक भएमात्र सम्बन्धित विद्यालय वा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको छ ।

अनलाइन शिक्षा ५० प्रतिशत क्षेत्र मात्र समेट्न सक्ने यसअघिको बन्दाबन्दीको समयमा गरिएको प्रयोगले प्रमाणित भएको भन्दै प्याब्सनले सरकारले तयार गरेको स्वास्थ्य सावधानीका मापदण्ड कडिकडाउका साथ पालना गर्दै विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । स्वास्थ्य सावधानी कडाइका साथ पालना गराउन तीनै तहका सरकारका सम्बन्धित निकायलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सनको जोड छ ।

यस्तै प्याब्सनले आफ्ना सदस्य विद्यालयलाई स्वास्थ्य सावधानीका पूर्ववत् उपायहरू अनिवार्य र कडि–कडाउका साथ अपनाउन निर्देशन गरेको छ । 

यस्तै बालबालिकालाई संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजरको प्रयोग, सामाजिक दूरीको पालना र स्वास्थ्यवर्धक खानपिनमा ध्यान दिन अभिभावकहरूलाई अनुरोध गरेको छ ।



भारतमा द्रुततर फैलिरहेको संक्रमण र खुला सीमा रहेको नेपालमा स्वास्थ्य सावधानीमा चरम लापरबाही हुनु चिन्ताको विषय बनेको प्याब्सनले उल्लेख गरेको छ । कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरू समेत प्रभावित हुन सक्ने पुष्टि भइरहेको भन्दै प्याब्सनले शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न सरकारसँग आग्रह समेत गरेको छ ।



  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १५:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया