हल सुनसान रहेको वर्ष : नयाँ वर्ष नजिकिँदै गर्दा पनि देखिएन चलचित्र क्षेत्रमा उत्साह

२०७७ सालको प्रारम्भ हुनै लाग्दा विश्वमा कोरोना महामारीको सन्त्रास फैलियो । नेपालमा पनि देशव्यापी लक डाउन घोषणा गरियो । १० महिना नेपाली सिनेमा घर बन्द रहे । 

लकडाउन खुलेर अन्य क्षेत्र चलायमान भइसक्दा पनि सिनेमा घरले खुल्ने अनुमति पाएनन् । सरकारको अनुमति कुर्दा कुर्दा थाकेका चलचित्र व्यवसायीले एकतर्फी रुपमा गत पुसबाट सिनेमा हल सञ्चालनमा ल्याए । लकडाउन घोषणा अघि हलमा चलिरहेका फिल्म पर्दामा देखिए ।

दर्शकले हलसम्म जाने जोखिम मोलेनन् । फिल्म लगाएको केही दिन दर्शक कुरेर बसेका हल सञ्चालकले नयाँ उपाए निकाले, ‘वर्षौं पुराना चलचित्र पर्दामा लगाएर दर्शक तान्ने ।’ पुराना चलचित्रले पनि दर्शक तान्न सकेनन् । नयाँ फिल्म रिलिज गर्न निर्माता निर्देशक तयार भएनन् ।

चलचित्र निर्माण तथा घोषणा भने निक्कै बाक्लियो । छायांकन स्पटहरु भरिभराउ हुँदासम्म पनि हलको शून्यता कायमै रह्यो । यो शून्यता हेरिरहेका पुराना अभिनेता शिव श्रेष्ठले नयाँ चलचित्र रिलिज गर्ने आँट देखाए । उनले माघ १ गते चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरे । हल सञ्चालक र शिव श्रेष्ठ दुवैलाई चलचित्रले दर्शक तान्ने अपेक्षा थियो । उनीहरुको अपेक्षा यसपटक पनि पूरा भएन ।

चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धर लगायतका चलेका कलाकारले स्क्रिन सेयर गरेका थिए । त्यसैले पनि यो चलचित्रले दर्शक हल फर्काउने चलचित्र व्यवसायीले अपेक्षा राखेका थिए । तर, स्टार कलाकारको भीडले पनि दर्शक तान्न सकेन । चलचित्रको पोस्टरमा गरिएको लगानी पनि बालुवाको पानी भयो । 

यही वर्ष रिलिज भएर पानी भन्न नपाएको अर्को चलचित्र हो ‘गोर्खे’ । यो चलचित्र रिलिज ताका पनि निर्माता निर्देशकले दर्शक हलसम्म तानिने अपेक्षा राखेका थिए । चलचित्रले मल्टिप्लेक्समा राम्रै सो सो संख्या पनि पाएको थियो । तर, दर्शकले चासो नदेखाएपछि चलचित्र हलबाट उतारियो । 



२०७७ को अन्त्य र २०७८ सालको स्वागतमा अर्को नयाँ चलचित्र ‘गुड फ्रेन्ड्स’ हलमा लगाइएको छ । यो सँगै अर्को चलचित्र ‘श्री’ पनि रिलिज गरियो । यी दुई चलचित्र मार्फत् सन्दीप लामिछाने र मुकेश ढकाल दर्शक तान्ने प्रतिस्पर्धामा उत्रिए । तर, दुवै कलाकारले दर्शक तान्न सकेनन् ।

नयाँ चलचित्र रिलिजका लागि सबै निर्माता निर्देशकको रोजाइमा पर्थ्यो, नयाँ वर्ष । यो नयाँ वर्षलाई लक्षित गरि चलचित्रहरू ‘लप्पन छप्पन–२’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ लगायतका चलचित्रले रिलिज डेट लिएका थिए । तर, रिलिज मिति नजिकिँदै गर्दा रिलिज मिति अनिश्चितकालका लागि पोस्टपोन्ड गरियो । 



विश्वमा दोस्रो लहरको कोरोना संक्रमणको असर देखिन थालेकाले चलचित्र प्रदर्शन मिति सारिएको हो । नेपालमा पनि संक्रमितको संख्या बढेसँगै भिडभाड नगर्न र सावधानी अपनाउन सरकारले आग्रह गरिसकेको छ । जसले गर्दा रिलिज मिति पाएका थुप्रै चलचित्र पछि हटिरहेका छन् । हल अझैं कहिलेसम्म सुनसान हुन्छ यसै भन्न सक्ने अवस्था छैन ।

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १७:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया