माधव नेपाल पक्षकाे प्रदेश २ संसदीय दल नेतामा महतो चयन

नेकपा एमालेकाे माधव नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुघन महतोलाई चयन गरेको छ । यसअघि संसदीय दलको नेतामा सत्यनारायण मण्डल थिए । ओली समूहका उनलाई हटाएर नेपाल समूहले महतोलाई चयन गरेको हाे । 

आइतबार संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका १३ जना सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेका हुन् । नेता चयन गरिएको सहमति पत्र प्रक्रियागत रुपमा प्रदेश सभाका सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।

त्यस्तै, बैठकबाट रवीन्द्र बैठालाई उपनेता, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरिएको छ । करिब ६ महिनापछि सोमबार बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् । जसमध्ये १३ जना सांसद नेपाल पक्षमा लागेका छन् भने ८ जना सांसद ओली समूहमा छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलको नेताको भूमिका महतोले निर्वाह गर्नेछन् । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएपछि संसदीय दलको नेतामा मण्डललाई चयन गरिएको थियो ।

त्यसयता नेकपाभित्र विवाद उत्पन्न भएपछि मण्डललाई हटाएर १९ जना सांसदले महतोलाई नेतामा चयन गरेका थिए । एमाले र माओवादी पुरानै नाममा फर्किंदा एमालेको संसदीय दलको नेता को हुने भन्ने अन्योल बढेको थियो ।
 
मण्डल र महतो दुवैले आफू नै दलको नेता रहेको दाबी गर्दै आइरहेका थिए । बैठकको एक दिनअगावै नेपाल पक्षले महतोलाई दलको नेतामा चयन गरेको छ । 



उता मण्डलले संसदीय दलले डाकेको बैठकमा उपस्थित नभई मनोमानी रुपमा बैठक गरी दलको नेता चयन प्रक्रिया अघि बढाएकोमा पार्टीको अनुशासन विपरीत काम गर्ने सांसदहरुलाई कारबाही गर्ने बताएका छन् । 

महतोलाई दलको नेतामा चयन गर्ने पत्रमा हस्ताक्षर गर्नेमा शत्रुधन महतो, रवीन्द्र बैठा, सुन्दरबहादुर विश्वकर्मा, सीता गुरुङ, नागेन्द्र यादव, हसिना खातुन, डिल्ली उप्रेती, बेची लुङ्गेली, मञ्जु यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव र अशोक यादवसहित १२ जना छन् भने गोविन्द न्यौपानेले फोनमार्फत सभामुखसमक्ष सहमति जनाएका हुन् ।



  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १७:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया