कांग्रेसको अबको लाइन : चुनाव कि नयाँ सरकार ?

सुस्त र गतिहीन बनेको नेपालको सत्ता राजनीतिमा देउवा निवासमा बसेको तीन दलको पदाधिकारीको बैठकले नयाँ तरङ्ग नै ल्यायो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भएको उक्त बैठकपछि विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् । बैठकको सुरुमै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व आफूले लिने प्रस्ताव गरे । 

सत्ता समीकरणको मुद्धामा केन्द्रित रहेर बसेको बैठकमा देउवाको प्रस्ताव वरिपरी रहेर नै छलफल चल्यो । सत्ता समीकरणका लागि देउवाले गरेको प्रस्तावमाथि माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिएको छ । उता, जसपाले भने केही दिनमा औपचारिक निर्णय लिने बताएको छ । 

बैठकको सेरोफेरोमा कांग्रेसका शीर्ष नेताहरुले गरेको सार्वजनिक टिप्पणी भने सत्तातर्फ नभएर निर्वाचन केन्द्रित छ । सभापति देउवा पनि केही समय अघिदेखि नै अब निर्वाचनतर्फ जान बितिसकेको बताउँदै तयारीमा जुट्न समेत भनिरहेका छन् । यसले अब कांग्रेसको राजनीतिक लाइन के हो ? वा अब कांग्रेसले के कुरिरहेको छ ? भन्नेजस्ता प्रश्नहरु उब्जिएका छन् । 

अब चुनावमा कि सरकारमा ? 
कांग्रेस सभापति देउवादेखि युवा नेताहरु धेरैले यतिबेला कांग्रेस चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् । कम्युनिष्ट पार्टीमा देखिएको अन्तरसंघर्षका कारणमात्र नभएर देशको राजनीतिक निकासका लागि पनि अब चुनावमा जानुपर्ने तर्क नेताहरुले गर्न थालेका छन् ।
 
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी मधेशी दल जसपाका संयोजक महन्थ ठाकुरले कांग्रेसलाई समर्थन गर्ने विश्वास नभएको बताउँछन् । देउवा निवास बुढानिलकण्ठमा भएको भेटघाटपछि पनि देशको राजनीति सरकार चाँडो निर्माण हुनेतर्फ नगएको बताउँछन् ।
 
फरकधारसँगको कुराकानीका क्रममा उनले भने, ‘हाम्रो समस्याको समाधान संविधानले नै गर्नसक्थ्यो । त्यसकारणले उग्रता, उदण्डताले हैन कि संविधानतः छिर्दा अहिले हामी सबैभन्दा उपयुक्त विकल्प चुनावमा जानु नै हुन्छ ।’

छिटोभन्दा छिटो प्रक्रिया पु¥याएर जनताकोमा जानुपर्ने उनको तर्क छ । ‘प्रक्रिया पुर्याएर जनतामा जाने नै उपयुक्त विकल्प हो । कांग्रेसको दृष्टिकोण पनि यही हो । हामी नै नेतृत्व हुनुपर्छ भन्ने होइन ।’ उनले अघि भने, ‘दुई तिहाइ ल्याएको कम्युनिष्ट पार्टीमा प्रधानमन्त्री हुनका लागि यत्रो मारामार छ । कांग्रेसलाई त्यसै प्रधानमन्त्री आउँछ भन्दा छाड्ने त भन्ने कुरै भएन । कस्ले नाईं भन्छ र ? तर, सडकमा उफ्रिएर त भएन नि !’

त्यस्तै, यही अवस्थामा मात्र सरकारको नेतृत्व गरेर बसिरहन पाउने अधिकार कांग्रेसलाई नभएको पनि उनले बताए । ‘कांग्रेसले लाइन लिने भनेको यही सरकारलाई चुनावमा लैजाने हो, एउटा । यदी फाल्छ भने आफ्नै नेतृत्वमा भएपनि चुनावमा जाने हो ।’ उनले अघि भने, ‘किनभने कांग्रेसको पनि अधिकार छैन सरकारको नेतृत्व गरेर बसिरहने । कांग्रेसले सधैं निकास दिइरहेको कुरालाई बुझ्नुपर्छ । यो बेलामा पनि दिनुपर्छ । यो अप्ठ्याराको बेलामा कांग्रेसको लाइन यही नै हुनुपर्छ ।’



त्यस्तै, कांग्रेस नेता नारायण खड्का कांग्रेसको अस्तिको बैठकपछि फर्दर डिसिजन केही भइनसकेको बताउँछन् । उनले भने, ‘कांग्रेसको अस्तिको बैठकपछि फर्दर डिसिजन केही भइसकेको छैन । चुनावमा जानका लागि पनि यत्तिकै जाने भन्ने कुरा भएन ।’

ओली सरकारको नेतृत्वमा आफूहरु चुनावमा पनि नजाने खड्काले खुलाए । उनले भने, ‘खड्गप्रसादको सरकारमै रहेर चुनावमा पनि को जान्छ र ? चुनावभन्दा पनि पहिला सरकार निर्माण नै हो । त्यसपछि चुनाव एजेन्डा बन्छ ।’



जसपाको अलमलले झनै समस्या !
देउवा निवासमा अर्थपूर्ण रुपमा बसेको तीन दलको बैठकपछि यतिबेला कांग्रेस जसपाको आधिकारिक धारणा कुरिरहेको छ । तर, जसपाभित्र देखिएको मतभेदको कारण कांग्रेसलाई मधेशी दलको सहयोग आउँछ भन्नेमा केन्द्रीय नेताहरु नै विश्वस्त छैनन् । 

युवा नेतासमेत रहेका भण्डारी जसपा भित्रको पूर्वराजपाका नेताहरु कांग्रेसलाई सहयोग गर्ने मुडमा नभएको बताउँछन् । उनले भने, ‘महन्थ जी हरुले सहयोग गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । के बुझ्नुपर्छ भने संविधानतः हामीलाई महन्थ ठाकुरहरुले सहयोग गरेनन् भने बाबुराम र उपेन्द्रहरू उफ्रिएर केही हुँदैन ।’

त्यस्तै, नेता खड्का पनि जसपाको औपचारिक निर्णयलाई आफूहरुले कुरिरहेको बताउँछन् । फरकधारसँग कुराकानी गर्दै उनले भने, ‘मधेशी दलले केही निर्णय गर्लान् । निर्णय हामी कुरिरहेका छौँ ।’

महन्थ ठाकुर लगायतलाई मधेशी मुद्धा सम्बोधन गर्ने आश्वासन ओलीले दिएको बताउँदै उनले अघि भने, ‘उनीहरुलाई पनि ओलीले केही प्रलोभन दिइरहेका छन्, के–के छन् आश्वासन त्यसमा भुलिरहेका छन् । जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवको पनि फरक धार छ । उता, राजपा पनि विभाजित जस्तै छ । राजेन्द्र महतो र ठाकुरलाई ओलीले दिएको आश्वासनले अड्किएका छन् ।’

‘ताप्के तातेन बिँड तात्यो’
कांग्रेसभित्र प्रष्ट रुपमै दुई धार देखिन्छ । एउटा सभापति देउवाको र अर्को वरिष्ठ नेता रामचन्द्र पौडेलको । पार्टीभित्र विभिन्न मुद्दामा देउवासँग पटक–पटक संघर्ष गर्दै आएका पौडेल पछिल्लो समय देउवालाई नै प्रधानमन्त्री बनाउने रूचिका साथ लागिपरेका छन् । यसैबीच, संसदमा नभएका पौडेलमाथि ‘ताप्के नतातेको बरु बिँड तातेको’ भन्दै टिप्पणी तथा तर्क हुन थालेका छन् । 

२० चैतमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने अडान पौडेलले राखे । यसमा देउवा उत्साहित थिएनन् । त्यसको हप्ता दिनसम्म पनि देउवाले राजनीतिक परिस्थितिलाई अझै ‘पाक्न दिने’ गरि सोचे । यता पौडेल भने उत्साहका साथ दौडधुपमा लागे । जसबाट कांग्रेसमा बिँड तात्यो ताप्के तातेन’ भन्ने उखान चरितार्थ भइसकेको छ । 

सँगसँगै सत्ता निर्माणका अनुभवी र माहिर खेलाडी देउवा किन प्रधानमन्त्री हुन तातेका छैनन् ? भन्ने गहिरो प्रश्नपनि यहीँ भित्रबाट उब्जिएका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसले आफ्नै दृष्टिकोण अपरिपक्व बनाएजस्तो देखिनु पनि समस्या भएको बताउँछन् । ‘ओलीको विकल्प खोजेको हो कि आफ्नो नेतृत्वमा सरकार ? वा चाँडोभन्दा चाँडो चुनाव यसमा काँग्रेस चुकेको देखिन्छ ।’ उनले भने ।

ओलीलाई दक्षिणबाट भरथेग भइरहेका बेला कांग्रेस नेता देउवाको निष्क्रियता स्वाभाविक नै मान्नेको पनि कमी छैन कांग्रेसभित्र  । दक्षिण अर्थात् भारत नबोलेकै कारण देउवा आफूपनि अन्यौलमा पर्दै गएको तर्क हुन थालेको छ ।

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १७:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया