स्कुले बालबालिकामा देखियो कोरोना संक्रमण
फाइल तस्बिर

दोस्रो लहरको कोरोना नेपालमा पनि तिव्र गतिमा फैलिँदै गइरहेको छ । यसको प्रभाव पहिलो लहरको भन्दा फरक रूपमा देखिन थालेको छ । पहिलो लहरको कोरोना वृद्धवृद्धामा बढी सक्रिय रूपमा देखा पर्थ्यो भने हाल यसले आफ्नो रूप परिर्वतनका साथसाथै संक्रमणको दायरा पनि फरक पारेको छ ।

भौतिक रूपमा कक्षा सञ्चालन हुन थालेपछि स्कुलका बच्चाहरूमा कोरोनाको जोखिम बढेको हो । कक्षा कोठामा कुनै पनि भौतिक दूरीको अवधारणा लागू नहुँदा यो समस्या बढ्न थालेको हो । नेपालमा फैलिँदै गएको युके भेरिन्यटले बच्चाहरूमा छिटो आफ्नो संक्रमण देखाउन थालेपछि चिन्ता बढ्न थालेको हो ।

जनस्वास्थ्यविद रवीन्द्र समीर भन्छन्, ‘स्कुल खुल्नु हानीकारक हो । कोरोनाको म्युटेन्ट स्वरुप पहिलेको भन्दा करिब ७० प्रतिशत बढी संक्रामक भएकाले अहिले स्कुल खुल्नु निकै हानीकारक हुन सक्ने उनी बताउँछन् । पहिले कोरोना संक्रमण पाँचदेखि सात प्रतिशत मात्र बच्चाहरूमा देखिन्थ्यो ।

‘हाल भाइरसको यो रूप अघिल्लोभन्दा बढी संक्रामक र बच्चाहरू पनि घरदेखि बाहिर हुने भएकाले यसको संक्रमण बच्चाहरूमा धेरै देखिन्छ । अहिले बच्चाहरूमा पन्ध्र प्रतिशतभन्दा बढी रूपमा यो भाइरस संक्रामक देखिएको छ ।’

उनका अनुसार हाल भौतिक कक्षा सञ्चालन गर्नु बच्चाहरूको स्वास्थ्यका लागि हानीकारक हुने बताएका छन् । ‘बच्चाहरू खेल्ने स्कुल जाने गर्दा बच्चाहरूमा छिटो फैलियो । कर्मचारी, घर–परिवार सबैमा उनीहरूले यो भाइरस सार्न सक्छन् ।’ स्कुल हाल जोखिमको बाहक बन्नसक्छ । भारतले जे गल्ती गर्‍यो त्यही गल्ती गर्‍यौं भने नेपालमा पनि भयावहको अवस्था नआउला भन्न नसक्ने उनले बताएका छन् ।

त्यस्तै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्, ‘स्कुल हाल भौतिक गर्ने वा अनलाइन गर्ने त्यो नितान्त स्थानीय निकाय र स्कुलमा भर पर्दछ ।’ स्कुलहरू शिक्षा मापदण्ड २०७७ अनुसार अनुसार जसरी पनि सञ्चालन गर्न सक्ने उनको भनाइ छ । हाल स्कुलहरूमा संक्रमण देखिएमा स्कुलहरूले अनलाइन कक्षा अथवा आलोपालो मोडालिटी अनुसार पनि स्कुल सञ्चालन गर्न सक्ने उनले जानकारी दिएका छन् ।



हाल स्कुलहरूमा विभिन्न प्रकारका स्वास्थ्य मापदण्ड जस्तै फरक समयमा पढाउने, अनिवार्य मास्क लगाउने कार्यलाई कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ । स्कुल र स्थानीय निकायले आफूलाई सहज हुने तरिकाले कक्षा सञ्चालन गर्न पाउने भएकाले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरी पठन-पाठन सहज र सकेसम्म प्रभावकारी बनाउन उनले आग्रह पनि गरेका छन् । 

स्वास्थ्यको दृष्टिकोणले हाल पच्चीस जनाभन्दा बढी मानिस जम्मा नहुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । तर, विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्दा विद्यार्थी नै भाइरसको बाहक बन्न सक्ने सम्भावना बढ्दै गएको हो । विद्यालयमा विद्यार्थी आउँदा घरपरिवार तथा स्कुलका कर्मचारीमा पनि संक्रमणको खतरा बढ्दै गएको छ । 



हाल दैनिक रूपमा खुलिरहेका स्कुलहरूमा स्वास्थ्यका मापदण्ड पालना नगर्दा यसको प्रकोप बढेको हो । स्कुलमा दैनिक विद्यार्थीहरू भेला भई पठन-पाठनका कार्य गर्दा संक्रमणको उच्च जोखिममा बालबालिकाहरू परेका हुन् ।

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १९:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया