बजेट २०७८/०७९
पपुलर बजेट ल्याउन अर्थमन्त्री पौडेललाई प्रधानमन्त्रीको दबाब
शिक्षा क्षेत्रको खाडललाई सम्बोधन गर्ने बजेटको आवश्यकता : अर्थविद् अधिकारी

चालु आर्थिक वर्षमा पपुलर बजेट नल्याएको भन्दै तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको सत्तापक्षबाट नै आलोचना भएको थियो । यसैले पनि आगामी आर्थिक वर्षमा लोकप्रिय बजेट ल्याउने अभियानमा छन्, वर्तमान अर्थमन्त्री विष्णु पौडेल । 

चालु आव ०७७/७८ को बजेट प्रस्तुत गरेका तत्कालीन अर्थमन्त्री खतिवडा निकै आलोचित बन्न पुगेका थिए । बजेट प्रस्तुत गरेको केही समयपछि उनी अर्थमन्त्रीको पदबाट समेत हटेका थिए । सोही आलोचनाबाट पाठ सिक्दै अर्थमन्त्री पौडेलले आगामी आव ०७८/७९ को बजेट पपुलर बनाउने अभियानमा रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका हुन् ।

‘अर्थमन्त्री पौडेल यतिबेला कर्णप्रिय बजेट निर्माण गर्ने क्रममा छन्’, ती अधिकारी भन्छन्, ‘अर्थमन्त्री स्वयं बसेर बजेट कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने कुरामा छलफल गरिरहेका छन् ।’ 

पछिल्लो समय अर्थमन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै पपुलर बजेट ल्याउन दबाब दिएको पनि अर्थ मन्त्रालय स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने यसअघि नै सार्वजनिक कार्यक्रममा समेत घोषणा गरिसकेका छन् । 

यतिबेला प्रधानमन्त्री ओलीसँग सत्तापक्षकै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल रुष्ट बनेपछि सरकार संकटमा पर्दै आएको छ । यस्तोमा आगामी आवको बजेट लोकप्रिय ल्याउनु पर्ने प्रधानमन्त्री ओलीको बाध्यता रहेको छ । त्यसैले पनि अर्थमन्त्री पौडेल लोकप्रिय बजेट ल्याउन बाध्य भएको देखिन्छ । उसो त आगामी आवको बजेट यही सरकारले ल्याउँछ भन्ने केही यकिन भने छैन । 

यस्तै, सरकारले आगामी आवको बजेटका लागि आकर्षक ‘स्लोगन’ को खोजी गर्न थालेको छ । केही वर्षअघि ‘घर घरमा भकारी गाउँ गाउँमा सहकारी’ भने जस्तै अन्य कर्णप्रिय नारा ल्याउने सरकारको तयारी छ ।



सरकारले गत आव ०७६/७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाएको थियो । उक्त भत्ता आगामी आवको बजेटले पनि बढाउने निश्चित भइसकेको छ । यो नै सरकारका लागि पहिलो लोकप्रिय कार्यक्रम सावित हुने मन्त्रालयका एक अधिकारीको दाबी छ ।

यसबाहेक अर्थमन्त्री पौडेल स्वयंले पनि प्रधानमन्त्री ओलीले झैं  वृद्ध, एकल महिलालगायतका अन्य भत्ता वृद्धि गर्न आगामी बजेटमा जोड दिएका छन् । तसर्थ आगामी बजेटमा उक्त विषयले निकै महत्त्व पाउने भएको छ भने पछिल्लो समय उक्त विषयका कारण बलिरहेको आगोमा घ्यू थप्ने काम गरेको पनि छ । 



त्यस्तै अर्थमन्त्री पौडेललाई यतिबेला चुनावी घोषणापत्र कार्यान्वयन गर्नुपर्ने दायित्व समेत छ । त्यसैले पनि उनले चुनावी घोषणा पत्रलाई आधार बनाएर यसपालिको बजेट ल्याउने तयारी गरिरहेको बाहिरी चर्चा रहेको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्दै आएको छ । आगामी आवको बजेटका लागि सरकारले वैशाख ५ गतेसम्म सबै सरोकारवालासँग सुझाव माग गरेको छ ।

यस्तोमा कोरोना भाइरसले थलिएको अर्थतन्त्रलाई उकास्ने खालको कार्यक्रम बजेटमा ल्याउनु पर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारीले सुझाव दिएका छन् । ‘एउटा त कोभिड महामारीले हाम्रो अर्थतन्त्रलाई नकारात्मक बनाएको छ । पहिले त यो विषयलाई समेट्ने गरी बजेट आउनु निकै आवश्यक छ’, उनले भने, ‘अर्को कुरा सरकारी र निजी विद्यालयबीच शिक्षाको गुणस्तरमा निकै खाडल छ । त्यसलाई पनि सम्बोधन गर्नुपर्छ ।’

सरकारले चालु आव ०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बजेट विनियोजना गरेको थियो । सरकारले आगामी आवका लागि १५ खर्बको बजेट बनाउने तयारी गरेको छ । अर्थमन्त्रालयले बजेटमा समावेश गरिने कार्यक्रमका बारेमा छलफल थालेको छ । 

अर्थविद् अधिकारीका अनुसार सरकारले आगामी आवको बजेटमा क्षेत्रगत र समग्र पुँजी निर्माण, रोजगारी सिर्जना, गरिबी निवारण, शासकीय सुधारलगायतका उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रलाई प्राथमिकताका साथ राखी बजेट ल्याउनु आवश्यक छ । कोरोनाका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई यी कुराले टेवा पुर्‍याउने उनको ठम्याइ छ । 

यता अर्थ मन्त्रालयका अनुसार बजेटले क्षेत्रगत र समग्र पुँजी निर्माण, रोजगारी सिर्जना, शासकीय सुधारलाई समेट्ने गरी बजेट ल्याउने तयारी गरेको छ । साथै, मुलुकमा बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्ने तथा आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र वस्तु तथा सेवा उत्पादनमा वृद्धि गर्ने, उच्च प्रतिफल दिने तथा तत्काल आर्थिक सामाजिक लाभ हासिल हुनसक्ने क्रमागत आयोजना र कार्यक्रमले बजेटमा प्राथमिकता पाउने मन्त्रालयको दाबी छ ।

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १४:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया