भारतले निर्माण गरिरहेको तटबन्ध निरीक्षण गर्न टोली दार्चुलामा

महाकाली नदीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली दार्चुला पुगेको छ । भारतले नदीको धार परिवर्तन हुने गरी एकतर्फी तटबन्ध निर्माण गरेको विषयमा संसदमा आवाज उठेपछि टोली दार्चुला पुगेको हो ।

निर्माण गरेको तटबन्धको निरीक्षण गर्न पाँच सदस्यीय नेपाली प्राविधिकको टोली दार्चुला पुगेको छ । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । 

सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ । उक्त विषयमा स्थलगत निरीक्षणका लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो ।

यस्तै भारतीय पक्षबाट पनि पाँच सदस्य टोली बनाइएको छ । टोलीले सोमबार तटबन्धको स्थलगत निरीक्षण सुरु गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । भारतबाट पनि सर्वे डिपार्टमेन्टको ५ सदस्यीय टोली निर्माणस्थलमा अध्ययनका लागि खटिएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीले स्थलगत अध्ययन टोलीमा दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक र भारतबाट एसएसबीका अधिकारी पनि सहभागी छन् । दार्चुलामा २०७० सालमा महाकाली नदीमा आएको बाढीले धार परिवर्तन गर्दा नेपाली भूमि भारततिर परेको छ । भारततिर परेको नदी किनारामा भारतले १५ मिटर क्षेत्रमा तटबन्ध बनाइसकेको छ ।

नेपालभित्र पर्ने भूमिमा नदीले धार परिवर्तन गरेकै आधारमा तटबन्ध निर्माण गरेको भन्दै दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा कुरा उठाएका थिए । बडूले भारतले नेपाली भूमिमा एकतर्फी तटबन्ध बनाउँदा सरकार कहाँ छ भनेर प्रश्न गर्दै जवाफ मागेका थिए ।



कुरा उठेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमा नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने जानकारी दिएका थिए । मन्त्री ज्ञवालीले अध्ययनका क्रममा पर्खाल ठिक ढंगले बनेको छ कि छैन ? अन्तर्राष्ट्रिय सीमाको सही ढंगले सम्मान गरिएको छ कि छैन ? भन्ने हेरिने र यसले तथ्य प्रमाणहरू अघि सार्ने बताउँदै नेपालले आफ्नो अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तदारुकताका साथ गर्ने र यसमा नेपाल सरकार सजग रहेको जवाफ दिएका थिए ।

 



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १५:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया