नेप्सेमा नयाँ उचाइ, कारोबार करिब २७ सय बिन्दु नजिक

साताको दोस्रो दिन नेप्से परिसूचक २६९१.५५ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन कारोबारका क्रममा २६९४ अंकसम्म पुगेको नेप्से पुनः झरेर २६९१.५५ बिन्दुमा बन्द भएको हो । सेयर बजारमा यो हालसम्म कै उच्च बिन्दु हो । अघिल्लो कारोबारको दिन अर्थात् बिहीबार २.७४ अंकले बढेर २६७४.३५ बिन्दुमा पुगेको नेप्से यस दिन भने १७.२० अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक बढेसँगै बजारमा राम्रा तथा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सेन्सेटिभ इन्डेक्स ३.७८ अंकले वृद्धि भई ४८०.२९ बिन्दुमा बन्द भएको छ ।

समग्र नेप्से परिसूचक बढेसँगै यस दिन कारोबार रकमले पनि साथ दिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन १ अर्ब बढीको सेयर खरिद बिक्री भएको छ । 

बिहीबार २०७ वटा कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर कुल ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँमा खरिद बिक्री भएको थियो । जब कि सोमबार बजारमा २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताहरू उत्साहित भएका छन् ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

यस दिन ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



त्यस्तै, यस दिन अधिकांश जलविद्युत कम्पनीहरूको सेयरमूल्य घटेको छ । सर्वाधिक सेयरमूल्य घटेका १० कम्पनीहरूको सूचीमा ८ जलविद्युत कम्पनी छन् । जसमध्ये साञ्जेन जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ ।



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १६:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया