एमाले प्रवेश गरेका बोहरालाई कारबाही सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको भन्दै पूर्वमन्त्री बोहरालाई माओवादीले कारबाहीका लागि सिफारिस गरेको हो । बोहरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सर्वोच्चको फैसलापछि बोहरा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले उनलाई चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, बोहराको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले बताए ।

सचिव चौधरीले सोमबार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरेको बताए । बोहरा माओवादीमा रहँदा केन्द्रीय सल्लाहकार समिति सदस्यसमेत रहेका थिए । नेकपामा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका बोहराले गत पुस २२ गते मन्त्री पदबाट राजीनामा समेत दिएका थिए । उनी ओली नेतृत्व नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् । 

कारबाही स्वीकृत भएपछि उनको प्रदेशसभा सदस्य पद रिक्त हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको कार्य अवधिझैँ २ वर्ष बाँकी रहेकोले पदपूर्तिको लागि उपनिर्वाचन हुने बताइएको छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १८:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया