फेरि जनताको घरदैलो चहार्दै प्रचण्ड
ओलीलाई जित्न नसकेपछि शक्ति आर्जन अभियानमा

देशको राजनीतिक माहोल एकपछि अर्को दिनदिनै बदलिँदो छ । १० वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने झण्डै दुई दशकपछि पुनः जनताको घरदैलो रोज्न थालेका छन् । 

काठमाडौंमा बसेर लडेको लडाइँले प्रतिफल नदिएको प्रचण्डको पछिल्लो निष्कर्ष छ । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने योजना असफल भएपछि प्रचण्ड जनताका घरतिर लागेका हुन्। एक हप्तादेखि प्रचण्ड देशका विभिन्‍न जिल्लामा पुगेर फरक क्रियाकलाप र फरक प्रसङ्गका भाषण पनि गरिरहेका देखिन्छन् । 

पछिल्लो केही काठमाडौंमा भएको लडाईंको प्रतिफल आफू अनुकुल नभएको उनको ठम्याइ हो । ५ पुसमा अप्रत्यासित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा ठूलै लडाइँ भयो । काठमाडौं लगायत देशका ठूला सहरमा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरु ओलीको विरोधमा उत्रिए । त्यसको दुई महिनापछि सर्वोच्च अदालतले संसद पुन:स्थापनाको निर्णय सुनाएपछि उनी उत्साहित देखिएका थिए ।

  

तर, उक्त उत्साह दुई साता पनि टिकेन। २३ फागुनमा अदालतले प्रचण्डलाई माओवादी केन्द्रमा फर्कनु पर्ने  निर्णय गर्‍यो । अदालतको निर्णयपछि प्रचण्डको अस्थिरता अझै बढ्दै गएको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौता गरेर काठमाडौं छिरेका प्रचण्डले फेरि जनता खोज्‍न थालेका छन् । 

जसको उद्घोष उनी आफैंले एक हप्ताअघि रुकुम रुकुम पुगेर गरे । ३२औं जनआन्दोलन दिवसको अवसरमा आयोजित उक्त भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको काखमा फेरि एकचोटि गएर प्रतिक्रान्तिकारी हरुलाई चुनौती दिने बताए । 



त्यति मात्रै होइन, खुला राजनीतिमा आएपछि प्रमुख केन्द्र बनाएर राजनीतिक गतिविधि गर्दै आएको काठमाडौं र सिंहदरबारको खेलमा आफूहरुले हारेको पनि स्वीकारे । उनले भनेका थिए, ‘काठमाडौंमा बसेर लडेको लडाइँले हामीलाई प्रतिफल धेरै दिएको छैन । जतिबेला हामी जनतामा गएका छौं, हामी विजयी भएका छौं । अब मैले थोरै समय काठमाडौं, धेरै समय जिल्लामा दिन चाहेको छु । मैले बाँकी अवधि जनताको काखमा फेरि एकचोटि गएर प्रतिक्रान्तिकारीहरुलाई चुनौती दिने आँट मसँग छ ।’



काठमाडौंमा लडेको लडाइँमा हारेको बताएका उनले जनतालाई फेरि सम्झिए। जनतामा गएर प्रतिक्रान्तिकारीहरुलाई चुनौती दिने उद्घोष गरेका प्रचण्ड त्यसपछि के के गर्दैछन् ?

अब जित्न जनता? 

पश्चिम रुकुमबाट आफ्नो जीवनको बाँकी समय जनताको काखमा पुग्ने उद्घोष गरेका प्रचण्ड त्यसपछि काठमाडौंमा कमै देखिएका छन् । २४ चैत्रमा रुकुम पश्चिमा आयोजित जनसभा देखेर प्रचण्ड उत्साहित पनि भए । उत्साहका साथ उनी त्यसको भोलिपल्ट जनयुद्धका सहयात्री जनार्दन शर्मालाई लिएर सल्यान पुगे । रुकुमको सल्लीबजार पुगेका प्रचण्डले अब जनताको तागतले नै शक्ति निर्माण गर्ने उद्घोष गरे । 

पश्चिम रुकुमबाट कर्णाली हुँदै काठमाडौं छिरेका प्रचण्ड दुई दिन काठमाडौं बसे । केही सार्वजनिक कार्यक्रम र राजनीतिक भेटघाट सकेर उनी फेरि देश दौडाहामा निस्किएका छन् । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको चर्को दबाब यतिबेला प्रचण्डसहित माओवादी केन्द्रसँग छ । त्यही पेरिफेरीमा देउवा निवास बूढानीलकण्ठमा तीन दलको बैठकमा सहभागी भए ।

चितवनको साइनो

कास्कीमा जन्मिएका प्रचण्डको साइनो चितवनसँग अलि फरक छ । पहिलो संविधानसभामा रोल्पाबाट अनि दोस्रो संविधानसभामा काठमाडौं र सिरहाबाट चुनाव लडेका प्रचण्डको चितवन मोहलाई कतिपयले आफ्नो पकड क्षेत्रको रुपमा स्थापित गर्ने चाल रहेको पनि बताउँछन् । 

दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले चितवन आवत-जावत बाक्लो बनाए । चितवनमा विकासका लागि बजेट केन्द्रित गरे । यति हुँदाहुँदै पनि उनले चितवनमा एक्लै चुनाव जित्ने अवस्था बनिसकेको थिएन ।

अन्तिममा वाम गठबन्धनको उम्मेदवार बनेर चुनाव लडे । काँग्रेसको समेत समर्थन पाएका विक्रम पाण्डेलाई कडा प्रतिस्पर्धाकै बीच हराए । प्रचण्डको अभिव्यक्ति ‘मेरो जीवनमा पहिलो पटक निर्वाचन लडेजस्तो अनुभूति भयो’ भन्नुको तात्पर्य पनि सायद यही थियो ।

भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दाहाललाई निर्वाचित गराउन पनि प्रचण्ड सफल भए। भलै निर्वाचन अवधि र परिणाम आउने बेलामा देखिएको विवादका बीच किन नहोस् ।

माओवादी ‘चार्म’ फर्काउन चितवनमा फरक परिवेश

जनताको घरदैलोमा रहने उद्घोष भर्खरै गरेका प्रचण्ड अहिले गृहजिल्ला चितवनमा छन् । आइतबार चितवनमा प्रचण्ड अलिक नयाँ परिवेशमा सार्वजनिक भए । अदालतले ब्यूँताइदिएको माओवादी केन्द्रको ‘चार्म’ फर्काउन गाउँ-गाउँमा अभियान लिएर उद्घोष गरेका  प्रचण्ड यो पटक ठूला ठूला सार्वजनिक कार्यक्रममा सरिक भएका छैनन् । 

उनको जनतासँग भेटघाट गरेको र सँगै भात खाएको तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ प्रचण्डले घरदैलो गर्ने क्रममा आफ्ना कार्यकर्ताको घरमा खाना खाइरहेका थिए। छोरी गंगा दाहालले सार्वजनिक गरेका तस्बिरमा प्रचण्डले बालिकालाई बोकेको पनि देखिन्छ। उनले चितवनमा निर्माणाधीन आयोजनाहरुको अवलोकन पनि गरेका छन् ।

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १२:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया