वर्ष २०७७ : कोरोना महामारीबीच जुरमुराएको नेपाली खेलकुद

हामी विसं २०७७ लाई बिदाइ गर्दै २०७८ लाई स्वागत गरिरहेछौँ । ०७७ सालका सुरुवाती ७-८ महिना अन्य क्षेत्र जस्तै खेल क्षेत्र पनि कोरोना कहरमा ठप्प बन्यो ।

नेपाल सरकारले विसं २०७६ साल चैत ११ बाट लागू गरेको लकडाउन साउन ७ मा हटाएपछि नेपाली खेलकुदले आकार लिने प्रयास गर्‍यो ।

लकडाउन सकिएसँगै विभिन्न खेलकुदका गतिविधि सञ्चालन हुन थाले । कोरोनाका त्रासदीबीच लामो समयसम्म घरमै थुनिएका खेलाडी उत्साहका साथ अभ्यासमा जुटे ।

कोरोनालाई कारण देखाउँदै धेरै खेल संघ निस्क्रिय बने पनि केही खेल संघले भने आफ्ना खेलाडीलाई व्यस्त बनाए । 

फुटबल

कोरोना महामारीको बाबजुत पनि नेपाली फुटबल व्यस्त बन्यो । खेलाडी विभिन्न घरेलु लिग तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भए । 



बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल

नेपाली फुटबल टोलीले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्यो । बंगलादेशको बंगबन्धु फुटबल मैदानमा कात्तिक २८ र मंसिर २ मा भएको खेलमा नेपाल एक खेलमा पराजित हुँदा १ खेल बराबरी खेलेको थियो ।



राष्ट्रिय महिला लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ ७ देखि फागुन ७ सम्म राष्ट्रिय महिला लिग आयोजना गर्‍यो ।

एन्फाले पहिलोपटक डबल राउन्ड रोविनका आधारमा सञ्चालन गरेको लिगमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाको सहभागिता थियो । खेलमा एपिएफले लिग उपाधि उचालेको थियो । 

त्रिदेशीय फुटबल प्रतियोगिता

एन्फाले चैत १० देखि १६ सम्म त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गर्‍यो ।

नेपाल, बंगलादेश र किर्गिस्तानको यु-२३ टिम सहभागी प्रतियोगिताको उपाधि नेपालले हात पार्‍यो ।

फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि हात पारेको हो । 

नेपाल सुपर लिग अक्सन

नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग नेपाल सुपर लिगको अक्सनले पनि नेपाली खेल क्षेत्रमा राम्रै चर्चा पायो । चैत ६ मा भएको अक्सनबाट ७ फ्रेन्चाइज टोलीले ९८ खेलाडीलाई बोली लगाए ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको लिग आगामी वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुनेछ । 

नयाँ मुख्य प्रशिक्षक

यही वर्ष नेपाली महिला तथा पुरुष राष्ट्रिय टोलीले नयाँ मुख्य प्रशिक्षक पाए । एन्फाले फागुन १३ मा ग्यारी फिलिप्सलाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । 

चैत २२ मा अब्दुल्लाह अलमुताइरी पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रूपमा नियुक्त भए । यी बाहेक यो वर्ष एन्फाले सहिद स्मारक बी र सी डिभिजन लिग तथा एन्फा प्रेसिडेन्ट लिगको आयोजना पनि गर्‍यो ।

त्यस्तै, आहा रारा गोल्डकप, बागमती गोल्डकप, विराट गोल्डकप लगायतका घरेलु  लिग हुँदा मोफसलकै चर्चित बूढासुब्बा गोल्डकप भने हुन सकेन । 

घरेलु मैदामा विश्वकप तथा एसियाकप संयुक्त छनोट खेल्ने सपना अधुरै

यो वर्ष पनि घरेलु मैदानमा विश्वकप तथा एसियाकप संयुक्त छनोटको दोस्रो चरणका खेल खेल्ने नेपालको सपना अधुरै रहने भएको छ ।

नेपालले अघिल्लो वर्ष नै अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदान दशरथ रंगशालामा खेल्नु पर्ने थियो तर कोरोनाका कारण छनोट पटक-पटक स्थगित भयो ।

कोरोनका कारण एएफसीले छनोटका बाँकी खेल सेन्ट्रल भेन्यूमा गर्ने निर्णय गरेसँगै नेपालले बाँकी खेल कुवेतमा खेल्नुपर्ने भएको छ । 

खेलाडी घाइते

कोरोना कहरपछि फुटबल फर्किए पनि केही खेलाडीका लागि भने यो वर्ष दुखद् बन्न पुग्यो । नेपाली फुटबलका केही महत्त्वपूर्ण खेलाडीले चोटका कारण मैदान छाड्नु पर्‍यो । 

नेपाली फुटबलका स्ट्राइकर विमल घर्तीमगर र डिफेन्डर विक्रम लामा घुँडाको शल्यक्रिया गर्न कतार पुगे ।

विमलले अभ्यासका क्रममा चोट बोकेका थिए भने विक्रमको बंगलादेश विरुद्धको खेलका क्रममा पुरानै समस्या बल्झिएको थियो ।

महिला फुटबलका महत्त्वपूर्ण खेलाडी फरवार्ड सावित्रा भण्डारी र डिफेन्डर हिरा भुजेलले महिला लिग खेल्ने क्रममा गम्भीर चोट बोके ।

 विराज महर्जनको संन्यास

२०७७ साल नेपाली टोलीको पूर्व कप्तान तथा अनुभवी डिफेन्डर विराज महर्जनका लागि अन्तर्राष्ट्रिय फुटबलका लागि अन्तिम बन्यो । 

त्रिदेशीय फुटबल प्रतियोगितापछि विराजले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरे ।

सन् २००८ मा पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गरेका विराजले नेपालका लागि सर्वाधिक ७३ क्याप जितेका छन् । १३ वर्षे अन्तर्राष्ट्रिय करियरमा उनले नेपालका लागि १ गोल गरेका छन् ।

९ खेलाडीको अन्तर्राष्ट्रिय डेब्यू

स्विडिस प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि नेपालको मुख्य प्रशिक्षक बनेका बालगोपाल महर्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण र त्रिदेशीय फुटबल प्रतियोगितामा ९ खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा डेब्यूको मौका दिए । 

महर्जनले बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विकास खवास, इरिक विष्ट, दर्शन गुरुङलाई डेब्यु गराउँदा दोस्रो खेलमा छिरिङ गुरुङ, सेसेहाङ आङदेम्बे र पुजन उपरकोटीलाई डेब्यु गराए ।

त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेश विरुद्धको खेलमा निशान खड्का, संजोग राई र त्रिदेव गुरुङले डेब्यूको मौका पाए । 

क्रिकेट

यो वर्ष क्रिकेटमा मुख्य गरेर ४ वटा प्रतियोगिता भए । नेपाल क्रिकेट संघ (क्यान) ले दाङको लमहीमा पुस ११ देखि १९ सम्म प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता आयोजना गर्‍यो । 

७ प्रदेश र १ विभागीय टोलीको सहभागिता रहेको प्रतियोगिताको उपाधि प्रदेश-१ ले हात पार्‍यो ।

क्यानले काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गर्‍यो ।

माघ ३ देखि १७ सम्म चलेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता थियो ।

प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पार्‍यो । 

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र क्यानको आयोजनामा फागुन २२ देखि २९ सम्म काठमाडौं मेयर्स कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता भयो ।

५ टोलीको सहभागिता रहेको प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जित्यो । 

ललितपुर महानगरपालिकाको आर्थिक सहयोग र क्यानको आयोजनामा चैत २१ देखि २८ सम्म ललितपुर वुमन्स च्याम्पियनसिप राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता भयो ।

५ टोलीको सहभागिता रहेको प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जित्यो । 

क्यानले पुस ३ मा डेभ ह्वाटमोरलाई नेपाली राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । 

खेलाडी वर्गीकरणमा चुकेको क्यान

क्यानले महिला खेलाडीलाई पनि पहिलोपटक सेन्ट्रल कन्ट्रयाकमा राख्ने निर्णय गर्‍यो । क्यानको यो कदमको निकै चर्चा भयो ।

महिला तथा पुरुष दुवै टिमको वर्गीकरणमा चुकेको क्यानको आलोचना पनि त्यतिकै भयो । 

क्यानले असोज ६ मा सन् २०२० लागि गरेको वर्गीकरणमा सन् २०१९ मा कुनै अन्तर्राष्ट्रिय खेल नखेलेमा सुवास खकुरेल र कमलसिंह ऐरी पर्दा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका ललित नारायण राजवंशी पर्न सकेनन् । 

यो वर्ष नेपालका लागि ठिकै प्रदर्शन गरेका वसन्त रेग्मी ए ग्रेडमा उक्लिँदा राम्रो प्रदर्शन गरेका सोमपाल कामी ‘बी’ र अभिनास बोहोरा ‘सी’ ग्रेडमा झरे ।

महिला वर्गीकरणमा पनि नियमित रूपमा राम्रो खेलिरहेका खेलाडीभन्दा मध्यम प्रदर्शन गरेका खेलाडी परेका थिए । 

निकै आलोचना भएपछि क्यानले वर्गीकरणलाई सच्चाएको थियो । 

भलिबल

यो वर्ष भलिबल खेलाडी पनि निकै व्यस्त रहे उनीहरू स्थानीयदेखि राष्ट्रिय स्तरमा भलिबल प्रतियोगितामा सहभागी भइरहे । 

आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन र नेपाल भलिबल संघको आयोजनामा पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप भयो ।

चैत १६ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोलीको सहभागिता थियो । 

प्रतियोगिताको महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले हात पारे । 

प्रधानमन्त्री कप राष्ट्रिय महिला लिग

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्ड हलमा  फागुन २१ देखि २५ सम्म सातौं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल लिग भयो ।

पाँच टोली सहभागी भएको प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले हात पार्‍यो । 

यीबाहेक टाइगर कप गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप, इलाम आमन्त्रण खुला पुरुष भलिबल लगायतका विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका भलिबल प्रतियोगिता भए । 

प्रतिभाको पुनरागमन

राष्ट्रिय महिला भलिबल टिमकी महत्त्वपूर्ण सदस्य प्रतिभा मालीले १ वर्षपछि भलिबलमा पुनरागमन गरिन् ।

प्रतिभा चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत माघ १० गतेको फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध खेल्दै गर्दा घाइते भएकी थिइन् । 

प्रतिभाले माघ २७ मा टाइगर कप अन्तर्गत त्रिभुवन आर्मी क्लब विरुद्धको खेलबाट भलिबल कोर्टमा फर्किइन् । 

यी बाहेक ब्याडमिन्टन, टेबुल टेनिस, तेक्वान्दो, कराँते, बक्सिङ, लन टेनिस  एथ्लेटिक्स, रेस्लिङ, गल्फ लगायतका विभिन्न खेलका पनि केही प्रतियोगिता सञ्चालन भए ।

फेरिएका खेलकुद मन्त्री

यो वर्ष नेपाल खेलकुदमा राजनीतिको पनि राम्रै प्रभाव पर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० मा विभिन्न मन्त्रीको नियुक्ति र जिम्मेवारी हेरफेर गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) लाई हटाएर दावा लामालाई मन्त्री बनाए । नव नियुक्त मन्त्रीले पुस १२ मा पदभार ग्रहण गरेका थिए ।

कोरोना कहर 

केही चर्चित व्यक्तिलाई पनि कोरोना संक्रमण भएको खबरले नेपाली खेलकुद बजार ततायो ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, पूर्व कप्तान पारस खड्का तेक्वान्दोका दीपक विष्ट, आयशा शाक्य लगायत नेपाली खेलकुदका चर्चित व्यक्तिलाई कोरोना संक्रमण भयो ।

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार ७:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया