सहिद परिवारद्वारा मधेस भवनमा विरोध प्रदर्शन

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले मंगलबार मधेस भवनमा विरोध प्रदर्शन गरेको छ ।

प्रदेश सरकारले रोजगारी दिने नाउँमा अल्मल्याएको सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष रामनरेश राय यादवको आरोप छ ।

अध्यक्ष रायले भने, ‘प्रदेश सरकारले ५३ जना सहिद परिवारलाई गत वर्षको जेठ महिनामा नियुक्ति पत्र दिए पनि त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई अन्याय गरेको छ ।’

रायले नियुक्ति पत्र बमोजिम जागिर दिन सरकारसँग पटक-पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरुले गत मंसिर २७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयमा १४ बुँदे मागसहित ज्ञापन पत्र समेत बुझाएको बताए ।

रायले भने, ‘प्रदेश सरकारले योग्यताका आधारमा जागिर दिने वाचा गरे पनि हामीलाई कार्यालय सहयोगीको जागिरका लागि मात्रै नियुक्ति दिएको छ ।’ सरकारले आफ्ना माग पूरा नगरेकाले प्रदेश सरकारविरुद्ध विरोध प्रदर्शन गरेको रायले बताए । 

विरोध प्रदर्शनमा सहभागीहरुले मधेसी सहिद स्मृति प्रतिष्ठान गठन गर, सहिद परिवारहरुलाई योग्यता र क्षमताको आधारमा स्थायी रोजगारीको व्यवस्था गर, मधेस आन्दोलनमा ज्यान गुमाएको तर हालसम्म सहिद घोषणा हुन बाँकी रहेका वीर सपुतलाई अविलम्ब सहिद घोषणा गर, मधेसी सहिद प्रदेश नम्बर २ अक्षय कोषको स्थापना गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 



प्रदेश सरकारले भौतिक मन्त्रालयमा १५, सामाजिक विकासमा १३, उद्योग, पर्यटन, वन तथा वातावरणमा १४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा १० र मुख्य न्यायाधिवक्ता कार्यालयमा १ जनालाई जागिर गर्ने नियुक्ति पत्र दिएको थियो ।

नियुक्ति पत्र पाएकाहरू सबैलाई जागिर, सहिद तथा घाइते परिवारलाई राष्ट्रिय परिचय पत्रको व्यवस्था, तिनीहरूका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था, आवास कार्यक्रम अन्तर्गत सुकुम्बासी सहिद परिवारलाई घरको व्यवस्था र आन्दोलनका क्रममा शीर्ष नेताको ५० लाख रुपैयाँ दिने घोषणा कार्यान्वयन लगायतका १४ बुँदे माग उनीहरूको छ ।



  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १७:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया