सिस्नु, पानी छ्यापेर मनाइयो सुदूरपश्चिममा ‘विसु पर्व’

नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ । वैशाख एक गते अर्थात् विसु पर्वमा सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ ।

सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने किंवदन्ती छ । यो पर्व मनाउने तयारी स्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउने व्यस्तता पनि बढेको छ ।

विसु पर्व मनाउन विवाहित छोरी–चेलीमा आ–आफ्नो माइतीघर जाने प्रचलन छ । यसै गरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरू केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किएका छन् । 

अछाम जन्मघर भएका हरेन्द्र साउद भन्छन् । ‘विसु पर्व हाम्रो दसैँ पछिको ठूलो पर्व हो । यसमा सबैले सक्दो मिठो मसिनो खाने चलन छ ।’ कोरोना संक्रमणको समस्याका बीच विसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाका हुँदै धेरै नेपाली स्वदेश आएका छन् ।

यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ । ‘यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन छ’, डोटी स्थायी घर भएका पवन भट्टले भने, ‘तराईमा सिस्नु नपाउँदा भने सिस्नु पानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था छैन ।’ यो पर्व मनाउने तयारीस्वरुप पहाडी गाउँ बस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पार्छन् । घर लिपपोत गर्न नसक्नेको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।

विसु पर्वमा नयाँ वर्षको अघिल्लो दिन दहीमा चामल भिजाउने गरिन्छ र नयाँ वर्षका दिन खाइन्छ । त्यस्तै, बटुक र चुकानी परिकार पनि सेवन गर्ने चलन छ । युवाहरूले शिवजीको प्रतीकका रूपमा लौरा नचाउने र देउडा खेल्ने गर्छन् भने महिलाहरूले पुतलीको पूजा गर्ने चलन पनि छ ।  



फाइल तस्बिर ।



  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १५:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया