सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीले मुलुक अस्थिर : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल साबित भएको भन्दै सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन् । 

राप्रपा काठमाडौं महानगर समितिद्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले संवैधानिक अंगका प्रमुखमाथि नै गम्भीर आरोप –प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको बताए। 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक चिन्तन–मनन हुनुपर्नेमा थापाको जोड थियो। अहिले मुलुकको ठूलो समस्या भनेको भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए। 

विदेशीबाट पालित–पोषित भनी आरोप लगाउने, अनि त्यही व्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्बाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे व्यवस्थामा रुपान्तरण गरेको उनले आरोप लगाए । 

राप्रपालाई मुलुक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता रहेको समेत थापाले औँल्याए। कार्यक्रममा राप्रपा नेताहरु विक्रम थापा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, इन्द्र चित्रकार, तारा लुइँटेल, डा. जयन्तनाथ खनाल, राजाराम बर्तौला, नवराज सिम्खडालगायतको उपस्थिति थियो । 





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १८:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया