लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्किएका छन् ।
स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस सहरमा भएको शान्ति सम्मेलन लागि चैत्र २३ गते सोमबार १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पुगेका अध्यक्ष तिमिल्सिना बुधबार स्वदेश फर्केका हुन् ।
भ्रमण सकेर स्वदेश फर्केका उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए । शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो।
सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाट गरेका थिए । सो भेटघाट नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुत बनाउन तथा दुईपक्षीय साझेदारीका लागि निकै उपलब्धिमूलक भएको बताए ।
अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गरेका थिए । त्यसैगरी, सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उनले नेपालमा शान्ति र लोकतन्त्रको विकासबारे आफ्नो अनुभवसहितको सम्बोधन गरेका थिए ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन (सिनेट)का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिसँग भेटघाट गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली संघ, उनको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोवास गर्ने नागरिक सम्बद्ध संघ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वल मान शाक्यसमेत सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।