प्रचण्डमाथि ओलीको व्यंग्य : प्रधानमन्त्री नपाएपछि प्रतिगमन भन्दै आँगनमा कराउन थाले

प्रधानमन्त्री केपी शर्मा ओलीले देश समाजवाद उन्मुख भइरहेको बताएका छन्। तर मुलुकमा समाजवादबारे गलत व्याख्या भइरहेको पनि उल्लेख गरेका छन्। 

काठमाडौँमा आज आयोजित लोकतान्त्रिक योद्धा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले सम्बोधनका क्रममा एकथरी मान्छेहरु प्रधानमन्त्री पद नपाएपछि प्रतिगमन भन्दै कराउन थालेको बताए। 

'एकथरी मान्छे आफूले प्रधानमन्त्री नपाएपछि प्रतिगमन भन्दै आँगनमा निस्किएर कराउन थालेका छन्', उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भने, 'त्यस्ता व्यक्तिले परिवर्तन नै बुझेनन्। संविधान र व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन, लोकतन्त्रको मूल्यमान्यता केही तलमाथि परेको छैन, केही मान्छेको महत्वाकांक्षा पूरा हुन पाएन, लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइरहेका छन्।' 

उनले त्यस्ता व्यक्तिहरुलाई शाब्दिक क्रान्तिकारी नामका वामपन्थी र कामका दक्षिणपन्थी भने। 'आफ्नो पार्टी फुटाएर, आन्दोलन ध्वस्त पारेर सरकार ढाल्न मद्दत माग्न अन्त पुगिरहेका छन्, धाइरहेका छन्। तपाईंहरुले देख्दै हुनुहुन्छ शेरबहादुर देउवाजीलाई भेट्न बूढानीलकण्ठ धाइरहेका छन्', उनले भने, 'यस्ता प्रवृत्तिमा अब जनताको विश्वास छैन। परिवर्तन, अग्रगमन र विकासको लहरलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ। अब हिजोका घाउ मेटाउँदै समस्या सम्बोधन गरेर देशलाई सुशासनको बाटोमा तीव्र गतिमा अघि बढाउनुपर्छ।'

प्रधानमन्त्री ओलीले लोकतन्त्रको दुरुपयोग भइरहेको जिकिर गरे। उनले माधव नेपाल समूहका नेता भीम रावलतर्फ कटाक्ष गरे। ' जो हिजो गृहमन्त्री हुँदा शान्तिपूर्ण जुलुसमा गोली हानेर मान्छे मार्ने, त्यही आज देशमा अधिनायकवादी र तानाशाही देखिरहेको छ', उनले भने, 'जो हिजो सभामुख हुँदा कालापानीका विषयमा छलफल गरौँ भनेर राखेको प्रस्ताव मेरो अधिकार प्रयोग गरेर मैले हटाइदिएँ भन्ने, देशका सम्बन्धमा छलफल गर्न नदिने आज आफूलाई राष्ट्रवादी भन्ने ?'

उनले मुलुकमा कोही पनि बालबालिका अभिभावकविहीन हुनु नपर्ने बताए। शहीदका परिवारले अभिभावक र शहीदका आमाबुबा बेसहारा भयौँ भन्नुपर्ने अवस्था आउन नदिने बाचा उनले गरे।



आन्दोलनको टुप्पोमा बसेर दुःखकष्ट नगरी विदेशमा बसेर आन्दोलनको नेतृत्व गरेको भन्नेले बेहाल भइरहेकाको वास्ता गर्न नसक्ने प्रधानमन्त्री ओलीले जिकिर गरे।

'आन्दोलनमा कहिल्यै पिटाइ खाएको छैन, जेल गएको छैन, भोकै बस्नुपरेको छैन, क्रान्तिकारी कुरा गरेको छ', उनले भने, 'अरुलाई भड्काएको छ, होमिदिएको छ, त्यस्ता मान्छेले यो पीडा बुझ्दैनन्।'



उनले खानै नदिएर महिनौंसम्म लगातार कुटाइ खाँदाको पीडा आफूलाई थाहा भएको बताए। 'खानै नदिएर डेढ महिनासम्म थुनेर लगातार कुटाइ खाँदा कस्तो हुन्छ, हामीलाई थाहा छ । कसैलाई देख्न नपाउने गरी चार वर्षसम्म थुन्दाको पीडा हामीलाई थाहा छ', उनले भने, 'परिवारसँग बिछोडिएर चौध/पन्ध्र वर्षसम्म जेल बस्दा कस्तो हुन्छ हामीले भोगेका छौँ, ती पीडा बुझेकै हुनाले आँसुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने थाहा छ।” उ

प्रधानमन्त्री ओलीले विद्रोही, सुरक्षाकर्मी वा आम नागरिक जतासुकैबाट भए पनि बलिदान दिन बाध्य जोसुकै देशका लागि आदरणीय र अमर रहेकाले सम्मान दिएको बताए।

भिडियो

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार २१:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया