सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दो, छैन कुनै पूर्वतयारी
कैलाश जोशी

सुदूरपश्चिममा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो गएको तथ्यांकले देखाएको छ । बिहीबार मात्र भारतका विभिन्न स्थानबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  प्रदेश सरकारले भने रोकथामका लागि कुनै पनि तयारी गरेको देखिएको छैन ।

भारतबाट भित्रिएका शंकास्पद चार सय १२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको नाकामा खटिएका  स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिए । भारतमा कोरोना संक्रमण तीव्र गतिले फैलिन थालेपछि त्यहाँ रोजगारीको सिलसिलामा गएका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।

त्रिनगर नाकामा गएको चैत तीन गतेदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको हो । त्रिनगर नाकामा स्वास्थ्य परीक्षण गरेयता पाँच सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त नाकाबाट भित्रिएकामध्ये हालसम्म ८ हजार ४ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ । यस नाकामा पछिल्लो पाँच दिनमा नेपाल भित्रिएका एक सय ९६ जनामा कोभिड–१९ भाइरस संक्रमण पुष्टि भएको छ । चैत २८ गतेदेखि त्रिनगर नाका हुँदै नेपाल भित्रिएका एक सय ९६ जनामा संक्रमण पुष्टि भएको नाकामा स्थापना गरिएको हेल्थडेस्कका इन्चार्ज ठकुल्लाले जानकारी दिए ।

एन्टिजेन परीक्षण गर्दा क्रममा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनका अनुसार चैत २८ गते एक हजार एक सय १८, २९ गते एक हजार एक सय, ३० गते नौ सय १५, ३१ गते ८ सय ९६ र वैशाख १ गते ६ सय ६८ गरी चार हजार ६ सय ९७ जना त्रिनगर नाका हुँदै नेपाल आएका छन् । उनले भने, ‘उनीहरूमध्ये दुई हजार दुई सय एकजनाको परीक्षण गर्दा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।’ यो परीक्षणको झण्डै ९ प्रतिशत हुन्छ । 

प्रदेश सरकारले पहिलो चरणमा कोरोनाका बेला निर्माण गरिएको कोभिड अस्पतालमा १० जना संक्रमित उपचाररत रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिएका छन् । ‘तीनजना भेन्टिलेटरमा, २ जना आइसोलेसनमा र ५ जना अक्सिजन थिएटरमा रहेका छन् ।’



त्रिनगर नाकामा एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिका–१५ को कनरीमा बनाएको आइसोलेसनमा राखिएको छ । आइसोलेसन भरिएपछि धनगढीको कबर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा पठाउने गरिए पनि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन् । भारतमा कोभिड संक्रमणको दोस्रो लहर तीव्र फैलिएपछि अहिले सीमा नाकामा स्वदेश फर्किनेको लर्को छ । 



कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ । त्यहाँ बिहीबारसम्म चार सय ९४ संक्रमित राखिएका छन् । तीमध्ये ३४ जना मात्र त्यहाँ बसिरहेका छन् । अन्य घर फर्किसकेका छन् ।

‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले पोजेटिभ भनी प्रमाणित गरेका नेपालीलाई हामीले आइसोलेसनमा व्यवस्थापन गरिरहेका छौँ’, स्वास्थ्यकर्मी ठकुल्लाले भने, ‘अहिलेसम्म तीन सयभन्दा बढी आउँदै–जाँदै गरेका छन् । बिहीबार  मात्रै आइसोलेसनमा ४७ जनाको संख्यामा पोजेटिभहरू देखिएका छन् ।’

धनगढी उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालयले उक्त आइसोलेसनको व्यवस्था गरेको हो । ‘लक्षण नदेखिएका व्यक्तिलाई हामीले घरमा आइसोलसनमा बस्छु भनेपछि निजी सवारीसाधनमा घर पठाइदिएका छौँ’, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘आफँै साधनको व्यवस्थापन गर्न नसक्नेलाई १० दिनसम्म बसाएर पिसिआर गरेर मात्रै सार्वजनिक यातायातमा पठाउने गरिएको छ ।’

नाकामा भारतबाट फर्केका नेपालीको एन्टिजेन परीक्षण गरेर पोजेटिभ भएकाहरूलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा ल्याउने व्यवस्था गरिएको छ । ‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिन्छ, त्यसपछि पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनमा पठाइन्छ’, स्वास्थ्य कार्यालय प्रमुख धामीले भने ।

स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षणपछि पिसिआर पोजेटिभको पनि ९० प्रतिशत सम्भावना रहने बताएका छन् । एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकालाई १० दिनपछि पिसिआर गरेर मात्रै नेगेटिभ आएमा घर पठाउने व्यवस्था गरिए पनि, सबैको हकमा त्यो लागू हुन सकेको छैन ।

आफैँ घरमा आइसोलेसनमा बस्छु भन्नेलाई घर जान दिइन थालेपछि र घरमा अनुगमन गर्ने निकाय नभएकाले पनि समुदायमा संक्रमणको खतरा बढेको हो ।

  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २०:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया