लुम्बिनी र गण्डकीको संकटले हल्लियो ओलीको ‘जग’
प्रदेशबाट विपक्षीले थाले ‘जरो काट्ने’ अभियान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका ‘किचेन क्याबिनेट’ सदस्य हुन्। ओलीले आफूलाई जब जब संकट पर्छ तब तब यी दुई नेतालाई प्रदेशबाट केन्द्रमा बोलाएर ‘सेफ ल्यान्डिङ’ गराउन खोज्छन्।

यसअघि तत्कालीन नेकपाको विवाद हुँदा पनि ओलीले लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई पटक पटक काठमाडौं बोलाएर पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग वार्ताका लागि दूतका रुपमा खटाएका थिए।

एमाले र माओवादीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि बढेको राजनीतिक ध्रुवीकरणका बाछिटा अब संघ हुँदै प्रदेशसम्म पुगेको छ। पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि प्रदेश १ र बागमतीमा देखिएको राजनीतिक संकट अहिले गण्डकी र लुम्बिनीमा देखिएको छ।

खास गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितले ओलीका यी दुई विश्वासपात्रलाई सत्ताबाट निकाल्न मोर्चा कसिसकेका छन्। दुवै मुख्यमन्त्रीलाई लक्षित गरेर प्रतिपक्षीहरु मोर्चा बन्दीमा उत्रिएपछि त्यसको असर केन्द्रमा केपी ओलीमाथि पनि पर्ने भएको

प्रदेशमा देखिएको संकटबीच पद धरापमा पर्ने बुझेर यी दुवै मुख्यमन्त्रीले प्रदेशसभाको अधिवेशन नै स्थगित गरिसकेका छन्। उनीहरुले रातारात प्रदेशसभा नै स्थगित गरे पनि प्रतिपक्षीहरुले सत्ता फेरबदल अभियान रोकेका छैनन्।

ओली जस्तै पोखरेल, गुरुङ 



संसद स्थगन गर्ने उनीहरुको खेललाई प्रतिपक्षीहरुले सत्ता जोगाउन केपी ओलीले गरेकै अभ्यासको सिको भनेका छन्। पद बचाउन ओली प्रवृत्तिको ‘नक्कल’ गरेको भनेर उनीहरुको आलोचना भइरहेको छ। गुरुङ र पोखरेल ओलीका विश्वास पात्र मात्रै नभई कट्टर समर्थक पनि हुन् । उनीहरु ओलीको कामको निष्फिक्री समर्थन गर्दै आएका छन्।

ओलीका विश्वासपात्र पोखरेल वैचारिक नेता मानिन्छन् भने गुरुङ स्पष्ट वक्ता र जनजातिहरूमा बलियो पकड भएका नेता हुन्। संसद विघटनअघि प्रचण्ड र माधवसमक्ष ओलीको समाचार लिएर जान पोखरेल बुटवलबाट काठमाडौं आइरहन्थे।



तर अहिले आफैं जोखिममा रहेका ओलीले दुई विश्वास पात्रको संकट किनारा लगाउन ठोस कदम चालिसकेका छैनन्। आफ्ना बलिया सहयात्रीलाई विपक्षी गठबन्धनले ढाल्न खोजेपछिको ओलीमा कति पर्छ ? यसको विश्लेषण हुन बाँकी नै छ।

‘ओलीको जग भत्किन थाल्यो’

लुम्बिनी र गण्डकीको संकटलाई विश्लेषकहरुले ओलीको जग भत्किन सुरु भएको भनेर टिप्पणी गरेका छन्। विश्लेषक मीना पौडेल स्वभाविक रुपमा ओलीको जग हल्लिन सुरु भएको तर्क गर्छिन् । फरकधारसँगको कुराकानी विश्लेषक पौडेलले भनिन्, ‘स्वभाविक रुपमा प्रतिपक्षीले ओलीका जग र खम्बाहरू हल्लाउन थालेका छन् । यसले केन्द्रको घर पनि भत्किन थाल्ने छ। ओलीका विश्वासपात्र, जग, लौरो जे भनेपनि उनीहरु दुवैजना हुन्।‘

पोखरेल र गुरुङको सत्ता हल्लिँदा ओलीलाई मनोवैज्ञानिक दबाब बढ्ने उनले बताइन् । ‘विश्वासपात्रहरु नै हल्लिन थालेपछि ओलीमाथि मनोवैज्ञानिक असर हुन्छ । आत्मसम्मानमा चोट लाग्छ ,’ उनले अघि भनिन्, ‘ओलीले व्यक्त नगरे पनि केही हीनताबोध हुनेछ। सिंहदरबार नहल्लिएपछि प्रतिपक्षीले प्रदेशमा आक्रमण गरेका हुन्।‘

केन्द्रमा ओली टस मस नभएपछि प्रतिपक्षीले प्रदेशबाट तयारी थालेको उनले बताइन् । ‘केन्द्रमा खिचडी पाकिनसकेकाले अब प्रदेशबाट सुरु भएको हो कि ? प्रदेशमा अहिलेसम्म पर्खिएर बसे’, उनले भनिन्, ‘तर केन्द्रमा केही नभएपछि किन ढिला गर्ने भनेर प्रदेशको जग हल्लाउन थालेका हुन् जस्तो लाग्छ ।’

शंकर पोखरेल ओलीको भित्रिया नै भएको उनको तर्क छ। ‘मुख्यगरी गण्डकी र लुम्बिनीको स्थिति हेर्दा ओलीले व्यक्त नगरे पनि मनोवैज्ञानिक दबाब निकै पर्छ । मुख्यरुपमा शंकर पोखरेल त भित्रिया नै हुन्’, उनले भनिन्, ‘शंकर पोखरेललाई लुम्बिनीले हल्लायो भने त्यसको ठूलो मनोवैज्ञानिक असर त ओलीमाथि पर्छ पर्छ । लुम्बिनी हल्लिनु भनेको ओलीको सत्ता पनि हल्लिनु हो ।’

शक्ति केन्द्रको डिजाइनमा ओली

अर्का राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ भने प्रदेश सरकार संकटमै परेका कारण ओलीलाई त्यति ठूलो असर नपर्ने बताउँछन् । देशी विदेशी शक्ति केन्द्रको डिजाइनमा ओलीले काम गरिरहेको आरोप उनले लगाए। ‘प्रदेशमा संकट देखिएकै कारण अहिले ओलीको आत्मबल घट्ने सिनारियो नदेखिएला’, उनले भने, ‘देशी-विदेशी शक्ति केन्द्रको डिजाइनमा ओली अहिले काम गरिरहेका छन् । त्यसले गर्दा मूल प्रवृत्तिलाई चाहिँ यसले धेरै धक्का देला जस्तो लाग्दैन ।’

यसअघि पुस ५ को ‘प्रतिगमन’ पनि ओली एक्लैको डिजाइनमा नभएको उनले बताए। अहिले प्रदेशमा आउने परिस्थितिका ओली पहिल्यै जानकार रहेको उनको निष्कर्ष छ । ‘यो सारा प्रतिगमन उनी एक्लैले गरेका होइनन्, यो सम्भव कुरा पनि होइन । प्रदेशमा त्यस्तो हुन्छ भन्ने कुराको जानकार ओली पहिल्यै पनि थिए’, उनले भने, ‘त्यसका बावजुद पनि यसअघिका कदम चालेका हुन् । लुम्बिनी र गण्डकीका कारण केही न केही असर त पर्ला नै ।’

तर उनले ओली प्रवृत्ति त्यसले अन्त्य नगर्ने बताए। ‘प्रदेशको सर नपर्ने भन्‍ने त भएन। तर, मुल प्रवृत्ति जुन छ नि ओलीको त्यो प्रवृत्तिबाट पछि हट्ने आधार चाहिँ त्यो बन्न सक्दैन’, उनले भने, ‘किनभने केन्द्रमा चाहिँ अरुले हस्तक्षेप गर्न सकेनन्।’

उनले केन्द्रमा ओलीविरुद्धको मोर्चा कमजोर भएको दाबी गरे । केन्द्रमा ओलीविरुद्ध ‘भैँसीलाई चुस्ने किर्ना’ जस्तो विपक्षी देखिएको टिप्पणी गर्दै अघि भने, ‘केन्द्रमा चाहिँ भैँसीलाई चुस्ने किर्ना जस्तै भए । प्रदेशकै कारणले उनको प्रवृत्तिमा नै असर पार्दैन।’ विपक्षीले ओलीलाई ‘तिम्रो खैरियत छैन’ छैन भन्‍न थाले।

जरो काटिन थाल्यो

अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जन ओली आफैं संकटमा परेको बेलामा ‘जरो काटिन’ सुरु भएको तर्क गर्छन् । उनले भने, ‘संकट निवारणका लागि जसपालाई साथ लिएर हुन्छ या एमसीसी पास गरेर अन्तर्राष्ट्रिय शक्ति हारगुहार गरेर हुन्छ, अनेक कुरा गर्न खोजिरहेकै बेलामा जरो काटिन सुरु भएको छ ।’

ओलीले विभिन्न प्रपञ्च गरिरहेकै बेलामा जरो काटिन थालेपछि ‘रियाक्सन’ गर्नुपर्ने स्थितिमा पुगेको उनी बताउँछन् । ‘प्रपञ्चकै बीचमा उनको जरो काटिन थाल्नुले ओली रियाक्सन गर्नुपर्ने स्थितिमा पुगे । अस्तिसम्म ओली आफू एक्सनमा हुन्थे, अरुले रियाक्सन गर्थे । यो बेलामा अरुले एक्सन सुरु गरेका छन्,’ उनले भने, ‘अहिले विपक्षीहरुले संयुक्त रुपमा ‘तिम्रो खैरियत छैन’ भन्ने देखाउन खोजे । प्रतिपक्षीको खास भूमिका विस्तारै देखिन थालेको छ ।’

ओलीका विश्वास पात्रको जग डग्मगाएपछि त्यसलाई फेल खुवाउन अधिवेशन अन्त्यदेखि सांसद किनबेचसम्म भइरहेको उनले बताए । ‘उनीहरु (गुरुङ, पोखरेल) मा नीति र विधिको कुरै छैन । त्यसको काउन्टर गर्ने खालको प्रतिपक्षीय रणनीति के हो भन्ने हो । त्यसको असर विस्तारै संघमा पनि देखिन थालेको छ’, महर्जनले भने, ‘प्रतिपक्षीहरु एक ठाउँमा जम्मा भए भने संघमा पनि आफ्नो सत्ता लामो समय टिक्दैन भन्ने उनलाई थाहा छ । तलबाट भएको यो प्रयास चेतावनी नै हो जस्तो लाग्छ ।’

तर, राजनीतिक संकट देखिए पनि ओली प्रवृत्ति अहिले नहट्ने उनको तर्क छ । ‘यसरी हतार हतार मुख्यमन्त्रीले प्रदेशसभा अधिवेशन अन्त्य गर्नुले उनीहरुमा डर देखिन्छ । विधि र नीतिको कुनै ख्याल गरेको देखिँदैन,’ उनले भने, ‘सल्लाहकार, टेको, खाँबो जे भने पनि अहिलेसम्म उनीहरु नै थिए । उनीहरु र संघका प्रमुखको सोचाइ फरक छैन । व्यवहार हेर्दा राजनीतिक वा नैतिकताको आधारमा प्रोसेस अघि बढ्छ भनेर अनुमान लाउन सकिने ठाउँ छैन । तर, धराप चाँहि सुरु भइसक्यो।‘

  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार ९:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया