ओलीले फोन गरेपछि प्रचण्डले भने : के भन्‍न खोजेका हुन्, अब सोध्छु

काठमाडौं : पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पानी बाराबारको अवस्था छ। 

यसबीचमा ओलीसँग सम्बन्धविच्छेद गरेर प्रचण्ड अलग्गै हिँडिसकेका छन्। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि दुवै नेता कानुनी रुपमै अलग बाटोमा छन्।

प्रचण्ड शुक्रबार ललितपुरको कोन्जोसामे गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन्। उक्त गाउँपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा पुगेका बेला प्रचण्डलाई ओलीको फोन आएको हो।

प्रचण्डले भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफूलाई फोन गरेको बताए। ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो मलाई । धैरै समयपछि म एउटा गाउँपालिकाको भवन उद्घाटनमा छु भनेँ', उनले भने, 'तपाईंले के भन्न खोज्नुभएको हो, त्यो चाहिँ म उद्घाटनपछि भन्छु भनेको छु।’

ओली नेतृत्वको सरकारलाई बिदा गर्न प्रचण्ड कसरतमा रहेका बेला ओलीले फोन गरेका हुन्। उता गण्डकी, लुम्बिनी र कर्णालीको सरकार पनि अहिले धरापमा छ। गण्डकी र लुम्बिनीमा एमाले र कर्णालीमा माओवादी नेतृत्वको सरकार धरापमा परेका छन्। 

यता केन्द्रमा पनि ओली नेतृत्वको सरकारविरुद्ध माओवादी केन्द्र र कांग्रेसले घेराबन्दी गरिरहेका छन्। यस्तोमा ओलीले आफ्नो सरकारलाई बचाइराख्ने अनेक रणनीति निर्माणमा लागिरहेका छन्। 



५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई नेताबीच संवादहीनताको अवस्था थियो। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओलीले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यावस्था जानकारी लिन १५ पुसमा फोन गरेका थिए । 

त्यसपछि उनीहरुबीच भएको अर्को फोन वार्ताले झनै चर्चा कमाएको थियो । उनीहरुबीच २ चैतमा अर्को फोन भएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले केही विषयवस्तुमा संवाद गर्न चाहेको भन्दै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए ।



  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १३:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया