'हामी अब्बल छौँ, नेपालले एसिया कप खेल्न सक्छ'
चेम्जाेङ भन्छन्, 'खेल मैदानमा नछिरेको भए लाहुरे पो हुन्थेँ कि !'

 नेपालले भर्खरै थ्री नेशन्स कपको उपाधि जितेको खेलमै पहिलो पटक कप्तानका रुपमा मैदानमा उत्रिएका थिए किरण चेम्जोङ। नेपाली गोल पोस्ट सम्हाल्दै आएका उनीमाथि बंगलादेशविरुद्धको फाइनल भिडन्तमा दोहोरो जिम्मेवारी थियो। 

किरण पहिलो पटक कप्तानको भूमिकामा दशरथ रंगशालामा छिरेकै खेलमा नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जित्न सक्या। दोहोरो भूमिका मैदानमा उत्रिएका किरण र नेपाली फुटबल टिमका लागि उपाधि खडेरी टार्नुपर्ने चुनौती थियो। 

तर नेपाली टोली घरेलु दर्शकको उपस्थितिबीच दबाबमा थियो भने ८ खेलसम्म गोल गर्न नसकेको पीडा त छँदै थियो। गोलको खडेरी टार्दै उपाधि जित्नुपर्ने चुनौतीलाई नेपालले तोड्दै उपाधि पनि उचाल्यो। 

बंगलादेशविरुद्धको फाइनल जितेपछि नेपाली फुटबलमा खुसी र आशाको सञ्चार एकसाथ भयो। यो उपाधिका लागि भारतमा जारी आई लिग खेलिरहेका किरण चेम्जोङको अनुभवले पनि काम गर्यो। राष्ट्रिय टिममा आफ्नो कर्तव्य पूरा गर्न फर्किएका किरण आई लिगमा पनि उत्कृष्ट किपर दरिए।

भाग्यमानी कप्तान 

नेपाल फर्किएलगत्तै भाग्यशाली कप्तान ठहरिए । बिराज महर्जनले सन्यास लिने खेलमा उनी कप्तानका रुपमा मैदान छिरेका थिए। तर दोस्रो हाफमा बिराज छिरेपछि आफ्नो आर्म ब्यान्ड खोलेर बिराजलाई लगाइदिए । 



आफ्ना समकालीन विराजको बिदाइलाई उनले सकेसम्म यादगार बनाए। ‘विराजको बिदाइ सम्मानजनक र यादगार होस् भन्नेमा म चिन्तित थिएँ’, उनले सुनाए। 

आई लिगमा खेलिरहेका उनी नेपाल सुपर लिगको पनि तयारीमा छन्। त्यसकै लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारीमा जुटिसकेका छन्। नेपाली खेलाडीले एएफसी साताको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि किरणको चर्चा चुलिएको छ।



‘पहिलो पटक नेपाली खेलाडी एसियाकै उत्कृष्ट बन्नु सामान्य कुरा होइन’, उनले भने, ‘एसियाका अन्य देशमा पनि अब्बल खेलाडी छन्। नेपालको प्रतिनिधित्व गर्दै यो अवार्ड हात पार्नु गौरवको कुरा हो ।’ यो अवार्डले नेपालमा पनि अब्बल फुटबल खेलाडी रहेको पुष्टि गरेको उनले बताए। 

एकसाथ सफलता

भारतीय लिग खेलेर उत्कृष्ट किपर बनेपछि त्यहाँ पनि उनको नामले चर्चा कमाएको छ। केही समयबीचको फरक फरक सफलताले उनलाई हौस्याएको छ। ‘अझै केही गर्नुपर्छ भन्ने जोश जाँगर बढेको छ’, उनले सुनाए, ‘यी सफलताले अन्य नेपाली खेलाडीका लागि विदेशी लिगको ढोका खुलेको छ ।’

भिडियो

घरेलु दर्शकमाझ ३७ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताएपछि उनी हौसिएका छन्। उनले यसको जश नेपाली फुटबल टिमका सदस्य र फुटबल प्रेमीलाई दिएका छन्। ‘नेपालले धैर्य नगुमाइ खेल्दा राम्रो नतिजा निकालेको हो’, उनले भने, ‘सबैको सहयोग र हौसलाले नेपालका लागि यो इतिहास बनाउन सम्भव भएको हो।’

उपाधि जित्ने क्रममा नेपालले आठौं खेलसम्मको गोलको खडेरी पनि टार्यो। ‘अनेक असफलताबीच नेपाली टोली निराश त थियो तर हिम्मत हारेको थिएन,’ उनले भने ‘टिमको समर्पण र एकताले यो सम्भव भएको हो।’

विराजको बिदाइ

नेपालका लागि थ्री नेशन्स कप खास बन्यो । एकातिर उपाधि जित्यो अर्कातिर कप्तान बिराज महर्जनले सुख बिदाइको अवसर पाए। यही उपाधिले विराजको बिदाइ पनि खास भयो। 

अन्तिम पटक देशका लागि खेलेर घरेलु मैदानबाटै बिदा भए बिराज । उनको बिदाइ खास बनाउन खेलअघि नै योजना बनाएका थिए किरणले । 'उसको बिदाइ ऐतिहासिक होस् भन्ने चाहन्थेँ र त्यही भयो, हामीले उपाधि जित्यौँ', उनले भने, 'विराजको बिदाइ सोचे जस्तै सुखद बनाउन सकेकोमा मन रमाएको छ।'

नेपालले उपाधि जित्दै गर्दा फुटबललाई माया गर्ने दर्शक र समर्थकको मुहारमा खुसी छाएको देखेर उनी पुलकित छन्। 

 थ्री नेशन्स कपमा किरणको पक्षमा समर्थकको हुटिङ पनि लोभ लाग्दो थियो। ‘मेरा समर्थक नै प्रेरणाका स्रोत हुन्। समर्थकको माया र साथले अझै हौसला मिलेको छ, देशका लागि धेरै गर्न बाँकी छ। उनका समर्थकले बेलाबेला सामाजिक सञ्जालमा माया पोखिरहन्छन्।

पहिलो पटक कप्तान भएर घरेलु मैदानमा उपाधि उचालेका किरण नेपाल सुपर लिगको तयारीमा जुटेका छन्। ‘आफ्नो क्षमता कतिसम्म गर्न सकिन्छ भन्ने कुरा थाहा पाएर खेलेमा लक्ष्य तय गर्न सजिलो हुने गर्दछ । हामीले त्यसै अनुरुप गर्‍यौं ।” यो जित आफ्नो र नेपाली फुटबल दुवैको ऐतिहासिक जित भएकाले उनी एकदमै खुसी देखिन्छन्।
 
आई लिगमा उत्कृष्ट गोल रक्षकको अवार्ड पनि हात पार्न सफल भए । ५ वर्षदेखि विदेशी लिग खेलिरहेका उनी अहिले नेपाली लिग खेल्ने तयारीमा छन् । 

पूर्वाधार नै छैन

विदेशको अनुभव बाँड्दै उनले नेपालको फुटबल अझै व्यवसायिक नरहेको बताउँछन् । ‘नेपालमा फुटबल सीमित अवधिका लागि हुन्छन्, सकिन्छन् । यहाँका लिग व्यवसायिक थिएनन्’, उनले भने।  

नेपाल सुपर लिगमा विदेशी खेलाडी खेल्न लागेकाले उनी उत्साहित छन् । नेपाल सुपर लिग जस्तै अन्य व्यवसायिक लिगहरु पनि भएमा खेलाडीको भविष्य खेलमै सुरक्षित हुने उनले सुनाए।

खेलकुदमा नेपालका भौतिक तथा आर्थिक संरचना निकै कम रहेको उनी बताउँछन् । ‘दशरथ र पोखरा रंगशाला भन्दा अन्य गतिला मैदान छैनन्’, उनले सुनाए, ‘त्यहीकारण पनि नेपालमा व्यावसायिक फुटबलको महत्व कम भएको हो ।’
नेपालमा सरकार र निजी क्षेत्रले फुटबलमा लगानी बढाउने हो भने धेरै परिवर्तन हुने उनले बताए।

उनले नेपाल, भारत र माल्दिभ्सको लिगमा सफलता चुमेका छन्। करियर जहाँ पुगे पनि उनलाई नेपालकै खेल क्षेत्रले सताइरहन्छ। दक्षिण एसियाली फुटबलमा स्थापित भएका छन् किरण । अबको लक्ष्य अझै माथिल्लो तहको लिग खेल्ने छ।

साफ सपना

नेपालका लागि साफ च्याम्पियनसिप जित्न चाहन्छन् उनी । त्यो भन्दा माथि नेपालले एसियन कपको फाइनल खेलोस् भन्‍ने सपना छ। नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट धेरे कुरा सिकेर नेपाली फुटबल टिमलाई दक्षिण एसियाकै उत्कृष्ट टिम बनाउन लाग्ने उनको योजना छ।

नेपालका लागि ५ वर्षअघिको सोलिडारिटी कप र थ्री नेशन्स कप दुवै महत्वपूर्ण रहे । दुवैमा टोली सदस्य भएर जित दिलाए । उनी दुवै प्रतियोगितामा उत्तिकै जुझारु देखिन्थे। 

नेपाल अब विश्वकप क्वालिफायरको तयारीमा रहेको उनले बताए । आउँदो जुनमा हुने खेलका लागि नेपालले तयारी थालेको किरणले बताए। नेपाल सुपर लिग सकिनेबित्तिकै प्रशिक्षणमा फर्किएर एसियन कपको तयार थाल्ने उनले बताए । ‘आगामी प्रतियोगिताहरूमा अब्बल भएर नेपाली फुटबलस्तर अझै माथि उकास्ने  लक्ष्य छ’, उनले भने।

नेपालले एसियन कप खेल्न सक्ने उनी बताउँछन् । अहिलेका खेलाडी निकै मेहनती भएकाले माथिल्ला प्रतियोगिता खेल्न नेपाललाई गाह्रो नहुने उनी बताउँछन् । 

‘अहिलेको खेलाडी निकै मेहनती छन् । उनीहरुको खेलप्रतिको लगावले मलाई नेपाली फुटबलको उज्जवल भविष्य देखाउँछ’, किरणले भने, ‘मैले २०२० नोभेम्बरमा छोडेर गएको नेपाली टिम भारतबाट फर्किएर थ्री नेशन्स कप खेल्दै गर्दा निकै फरक पाएँ ।’

नेपाली फुटबल खेलाडीको जोस र जाँगरमा आएको परिवर्तन निकै प्रशंसनीय रहेको उनी बताउँछन् । सकरात्मक परिवर्तनले नेपाली टिमको प्रगति सम्भव भएको उनी बताउँछन् ।

लगानी नगन्य

नेपाली फुटबल टिमका लागि सरकारको लगानी भने नगन्य रहेको उनी बताउँछन् । नेपालमा राम्रो खेल मैदान छैन । खेलकुदमा लागेर जीवन चलाउँछु भन्न निकै गाह्रो  छ । नेपालमा फुटबल र अन्य खेलमा पनि राज्यको लगानी शून्य जस्तै रहेको उनले सुनाए। नेपालमा खेलाडीका लागि व्यवसायिक वातावरण हुँदा जीवन धान्न गाह्रो हुने पीडा उनीसँगै छ।

उनी धनकुटाको सानो गाउँमा जन्मिएका हुन् । करिअर सुरु गर्दा फुटबलमा लागेर अन्तर्राष्ट्रियस्तरको लिग खेल्ने कहिल्यै सोचेका थिएनन्। सानोमा गाउँका दाइहरुको संगतमा फुटबल खेल्न गएका उनी बिस्तारै यसमै भविष्य खोज्न लागे । 

पहिलो पटक उनले स्कुलका प्रतियोगिता खेले । ती प्रतियोगिता पनि उत्कृष्ट गोलरक्षक भए । त्यो पल उनका लागि निकै अविस्मरणीय रह्यो । पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यु गर्दा उनले यो सफलताको आशा गरेका थिएनन् । प्रेरणाको पहिलो पात्र थिए उपेन्द्रमान सिंह। उनको फोटो काटेर राख्थे, खेल हेरेर खूब प्रभावित हुन्थे । 

झण्डै छाडे खेल

कुनै समय त खेल छोडेर अन्तै लागौं कि जस्तो लाग्यो उनलाई । खेल हारेर फर्किँदा मन जब खिन्न हुन्थ्यो तब यस्तो सोच्थे । ‘खेल हारेर फर्कँदा त निकै दुःख लाग्थ्यो’, उनले भने, ‘खेल छोडेर अन्त लागौं कि जस्तो हुन्थ्यो। तर खेल नशा जस्तै रहेछ । छोड्न सकिनँ, यसैकारण आज यहाँ छु ।’

तर खेल छाडेर अर्को काममा जान्छु भन्ने कहिल्यै लागेन। ‘खेलाडी नबनेको भए सायद लाहुरे हुन्थेँ कि’, उनले भने।  उनको समाजमा लाहुरे हुने चलन थियो। तर उनको ध्यान लाहुरेभन्दा फुटबलमा नै थियो । 

आफ्नो लक्ष्य पछ्याएमा पक्कै सफल भइन्छ भन्‍ने असल उदाहरण हुन् किरण चेम्जोङ । उनी अब नेपाली फुटबललाई अघि बढाउने योजनासहित लागेका छन्। ‘केही लक्ष्य तय गरेर योजनावद्ध ढंगले अघि बढेमा पक्कै सफलता हाँसिल हुनेछ’, उनले भने। 

खेल क्षेत्रको विकासका लागि राज्यका सबै तह लगानी बढाएर खेलाडीलाई पर्याप्त सेवा सुविधा दिन सक्नुपर्ने सुझाव उनले दिए। 

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार ८:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया