प्रदेश २ : नामकरण र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् ।

सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ ।

विज्ञप्तिमा प्रदेशको नामकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख. को उपनियम (२) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख छ । 

त्यस्तै, राजधानीको सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ क. को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (क) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको छ ।

यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेश सभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।



यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले  प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।



  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १६:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया