सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका १० का ८८ वर्षीया पुरुष रहेको सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । पछिल्लो समय सुदूरपश्चिममा भारतबाट भित्रिने नेपालीहरूको संख्या बढेसँगै दैनिक संक्रमण दर पनि बढेको छ ।

सुदूरपश्चिमेलीहरूको मौलिक पर्व विषुका लागि धनगढी नजिक रहेको गौरीफन्टा नाकाबाट एक सातामा मात्र झन्डै ९ हजार नेपाली भित्रिएका छन् । तीमध्ये २ हजार ७७५ जनाको मात्र एन्टिजेन विधिबाट कोरोनाको जाँच गरिएकोमा २४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ८ हजार ९९१ जनाको कोरोना परीक्षण गरिएको छ भने ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले परीक्षणमा पोजेटिभ आएकाहरूलाई धनगढी उपमहानगरपालिका १५ स्थित कनरीमा बनाइएको आइसोलेसनमा पठाइने गरिएको बताए । ‘पोजेटिभ आएकाहरूलाई एम्बुलेन्स बोलाएर कनरीस्थित आइसोलेशनमा पठाउने गरेका छौँ’, उनले भने, ‘नेगेटिभि आएकाहरूलाई घरमा अलग्गै बस्ने सर्तमा सार्वजनिक यातायातमै घर पठाउने गरेका छौँ ।’

तर, स्वास्थ्य विज्ञहरूले भने भारतबाट अहिले कोरोना भित्रिने जोखिम उच्च रहेकाले सीमानाकामा होल्डिङ्ग सेन्टर राखेर भए पनि सबैको जाँच गर्नुपर्नेमा जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज ओझाले संक्रमितसँगै आएकाहरूमा पनि १० देखि १४ दिनसम्म संक्रमणको जोखिम उच्च रहने भएकाले उनीहरूलाई सोझै घर नपठाएर कम्तीमा ३ दिन क्वारेन्टाइनमा राखी पुनः परीक्षण गरेर मात्र घर पठाउनुपर्ने बताए ।
 





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १३:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया