नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक परिवर्तनका लागि शिक्षक समुदाय नै प्रमुख शक्ति भएको बताएका छन् ।
शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटनलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकलाई राजनीतिबाट अलग राख्न नसकिने बताएका हुन् ।
आफूले शिक्षकलाई कहिले पनि राजनीतिबाट बाहिर राख्न नचाहेको बताउँदै उनले बरु शिक्षकले राजनीति गर्नुहुँदै भन्नेहरुसँग विवाद गर्दै वैचारिक बहसमा उत्रिएको दाबी गरे ।
पार्टी एकतापछि केपी ओलीले शिक्षकलाई राजनीति गर्न दिनुहुँदैन भनेको, तर आफूले त्यसको प्रतिकार गरेको बताए । राजनीतिक जागरणका लागि शिक्षक एउटा बलियो शक्ति भएकाले उनीहरुलाई राजनीति बाहिर राख्न हुँदैन भनेर आफूले बहस गरेको उनले दाबी गरे ।
संविधानले सबैलाई कुनै पनि संगठनप्रति आबद्धता जनाउन पाउने अधिकार दिएको तर ओलीको दबाबका कारण शिक्षक संगठनको एकता हुन नसकेको उनले आरोप लगाए । आफूहरु आगामी सरकारमा जानेबित्तिकै शिक्षकहरुलाई राजनीतिमा खुला गर्नुका साथै समस्या समाधानका लागि पनि विशेष पहल गर्ने प्रचण्डले प्रतिबद्धता जनाए ।
नेकपा विभाजनको प्रमुख दोषी केपी ओली भएको आरोप लगाउँदै दाहालले ओलीले अदालतलाई सेटिङमा लिएर पार्टी विभाजन गराएको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।