वैशाखभित्रै माथिल्लो तामाकोसीको विद्युत उत्पादन हुने

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताए । उनले भने, ‘आजको मितिसम्म भर्टिकल स्ल्याबको काम सकिएको छ र संक्षेपमा भन्दा वैशाख भित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश: उत्पादन थप्दै लगिने उनले बताए । यसरी आगामी भदौभित्र माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने रहे पनि वैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताए । वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने बताए ।

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्त सम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १४:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया