पुरानै पाइपबाट मेलम्ची : पानी चुहिँदा काठमाडौंका सडकमा खाल्डैखाल्डा
अझै एक वर्ष पुरानै प्रणालीबाट घर घरमा पानी

काठमाडौंका सडक प्राय:जसो धुलाम्मे हुने गर्दछन्। तर पछिल्लो तीन सातायता काठमाडौंका सडकमा पानी जमिरहेको छ, बगिरहेको छ। वर्षायाम सुरु नहुँदै यो अवस्था काठमाडौंबासीको तीन दशक पुरानो सपना मेलम्चीको पानी काठमाडौँ आइपुगेर भएको।

पानीको समस्या झेल्दै आएको काठमाडौंमा मेलम्चीको पानी आउँदा खुसीयाली छाएको छ। तर सरकारी निकायबीच समन्वय अभावमा मेलम्चीले एकपछि अर्को समस्या पनि ल्याइरहेको छ।  

सुरु भएको २२ वर्षपछि गत फागुन २२ गते मेलम्चीको पानी काठमाडौं आइपुगेको थियो। काठमाडौं आएको २४ दिनपछि अर्थात गत चैत १५ गतेदेखि मेलम्चीको पानी परीक्षणका रुपमा  वितरण थालिएको छ। मेलम्चीको सपना साकार पार्ने कुराको जस लिन होडबाजी नै चलिरहेको छ। 

तर तयारी छैन

आवश्यक संरचना राम्रोसँग  तयार नगरी पानी वितरण गर्दा पछिल्लो समय उपत्यकाका अधिकांश सडक पानीले अस्तव्यस्त बन्न पुगेका छन्। 

काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि बिछ्याइएका पाइपलाइनको परीक्षण भएको छैन। वर्षौँ अगाडि बिछ्याइएका पाइपलाइनबाट पानी वितरण गर्दा पानीको चाप थेग्न सकेको छैन। जसका कारण पछिल्लो समय पाइप फुट्ने क्रम अत्याधिक बढ्दो छ। सहरका धेरै ठाउँका सडकमा पानी बगिरहेको देख्न सकिन्छ। 



काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल)ले नयाँ पाइपलाइन परीक्षण क्रमिक रुपमा गर्दै जाने योजना बनाएको छ। पानी वितरणका लागि केही स्थानमा नयाँ पाइप जडान गरिएको छ। तर यसका लागि वितरण प्रणाली भने जडान भएको छैन। त्यसैले पाइपलाइन समेत परीक्षण नभएकाले पुरानै लाइनबाट मेलम्चीको पानी पठाइएको हो। 

फुटेका पाइपहरू फेरेर मर्मतको काम भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। तर पनि पानी चुहावटको समस्या बढ्दो छ। सडक विभागका प्रवक्ता शिव प्रसाद नेपाल चुहावटको समस्याले सडक विभागलाई थप चुनौती थपेको बताउँछन्। 



‘लिक भएका ठाँउमा सडक विभागको मर्मत टोली पुगेर टाल्ने गरेको छ’ नेपाल भन्छन्, ‘आज एउटा ठाँउमा टाल्यो भोलि अर्को ठाँउमा लिक हुन्छ। यसले हामीलाई धेरै चुनौती थप्यो।’ प्रवक्ता नेपालका अनुसार, मोटामोटी रुपमा काठमाडौंका सडक खाल्डाखुल्डीरहित भएको थियो। तर अहिले मेलम्चीको पानीले सडक सुरक्षित राख्न समस्या सिर्जना भएको छ। 

पछिल्लो समय राजधानीबासीले पानी लिक भएको बीच सडकमै लुगा धोइरहेको समेत देख्न सकिन्छ। कतै लुगा धुने कतै नुहाउने, पानी भर्ने जस्ता काम बीच सडकमै हुने गरेका छन्।

सुरक्षा प्रणाली अभाव

पानी वितरणका लागि नभइ नहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन प्रणाली जडानका काम सुरुसमेत नगरी लोकप्रियताका लागि सरकारले पुरानै वितरण प्रणालीबाट वितरण गरेपछि असर उपत्यकाका सडकहरुमा देखिएको हो। 

नयाँ वितरण प्रणाली स्वचालित प्रणाली हो। यस प्रणालीमा एउटा कोठामा बसेर कम्प्युटरमार्फत वितरणको सम्पूर्ण अवस्था हेर्न सकिन्छ। वितरण प्रणाली, पानीको अवस्था हेर्न तथा नियन्त्रण गर्न सकिन्छ। सेन्सर जडान गरिएको हुने हुँदा कम्प्युटरबाट नै पूरै वितरण प्रणाली कन्ट्रोल गर्न सकिने केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन्।

तर यो सिस्टम नभई पानी वितरण गर्दा एकातिर समान वितरण हुँदैन भने अर्कातिर कहीँ समस्या आए साइटमै गएर वा कसैले भने मात्रै जानकारी हुन्छ।

बल्ल ठेक्का 

प्रवक्ता राईका अनुसार, नयाँ प्रणालीका लागि भर्खरै ठेक्का लगाएर काम सुरु गरिएको छ। यसको निर्माण सक्नै तीन वर्ष लाग्नेछ। यसकारण तीन वर्षसम्म मेलम्चीको पानी वितरण समान र सहज बनाउन चुनौती छ। सिस्टम बनेपछि स्वचालित रूपमा पानी वितरण हुने जानकारी राईले दिए। 

नयाँ प्रणालीमार्फत उच्च गतिमा प्रवाह गरेर उपभोक्तासम्म पुर्‍याउने गरी डिजाइन गरिएको मेलम्चीको पानी वितरण दशकौँ पुरानो प्रणालीबाट जबरजस्ती पठाउँदा यसले थेग्न नसकेपछि उपत्यकाका विभिन्न स्थानका सडकमा सयौं ठाउँमा पाइप फुटेर पानी बाहिर छताछुल्ल हुन थालेको हो। अहिले केयुकेएलले दिन बिराएर मेलम्चीको पानी वितरण गर्दै आएको छ। वितरण गरिएको एरियाका थुप्रै ठाउँमा पानी लिकेज भइरहेको छ। 

सडक विभागलाई प्राप्त जानकारी अनुसार महाराजगञ्ज एरियामा मात्रै १० भन्दा बढी ठाउँमा पानी चुहिएको छ। त्यस्तै, त्रिपुरेश्वर, न्युरोड, बालाजु, लैनचौर, नाग पोखरी, वीर अस्पताल, अनामनगर बिजुली बजार पुललगायतका स्थानमा पाइप फुटेर पानी चुहिइरहेको छ। 

केही ठाउँमा यसरी लगातार पानी चुहिरहेपछि सडक नै खाल्डा पर्न लागेको विभागले बताएको छ। मेलम्चीको पानी हाल्नुअघि पनि केयुकेएलको पुरानो वितरण प्रणालीबाट ३० प्रतिशत पानी चुहावट भइरहेको थियो। 

यसैले मेलम्चीको उच्च चापको पानी पुरानो वितरण प्रणालीका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।

सडकले माग्यो थप बजेट

मेलम्चीको पानी यसरी नै चुहावट हुँदै गएमा आगामी दिनमा सडक विभागसँग सडक मर्मतका लागि खर्च अभाव हुने भएको छ। ‘दैनिक पाइप फुट्ने र टाल्ने काम भइरहेको छ, प्रवक्ता नेपाल भन्छन्,  ‘सामान्य खाल्डाखुल्डी टाल्न हाम्रो रेगुलर खर्चले भ्याउँछ तर यही क्रम रहिरह्यो भने पछि गएर हामी सक्दैनौं।

कालोपत्रे सडकमा पानी जम्‍नासाथ खाल्डा परिहाल्ने उनले बताए। सरकारसँग थप बजेटको व्यवस्था गर्न माग गरेको उनले जानकारी दिए।‘ अर्थ मन्त्रालय वा केयुकेएल कसले दिने हो दिनुपर्छ। अन्यथा हामीले मर्मतको काम गर्न सक्दैनौं’ प्रवक्ता पौडेलले प्रस्ट पारे ‘हामीसँग यसका लागि पहिले बजेट विनियोजन भएको छैन।

सडक बनाउने जिम्मा आफूहरुको भएकाले त्यसका लागि तयार रहेको पौडेलले बताए। तर मेलम्चीको पानीले बिग्रेका सडक बनाउन अतिरिक्त चाहिन उनले बताए। 

प्रवक्ता नेपालका अनुसार, करिब २ स्क्वायर मिटरको खाल्डो टाल्न झण्डै २ हजार रुपैयाँ खर्च लाग्छ। मर्मतका लागि खाल्डो खन्नैपर्छ। एउटा खाल्डो एभरेजमा २ स्क्वायर मिटरको हुन्छ जसलाई टाल्न करिब २ हजार रुपैयाँ लाग्छ। 

खाल्डो खनेपछि पानीको चुहावट रोकेर मात्रै खाल्डो पुर्नुपर्ने भएकाले एकैदिनमा गर्न नसकिने नेपालको भनाइ छ। ‘एक पटक खाल्डो खनेर पानी पठाएर टेस्ट गर्न दिने हो भने २ दिन लाग्छ’ उनले भने, ‘आज खनेर मर्मत गरेर पानी पठायो भने फेरि लिकेज हुन सक्छ तसर्थ एउटा खाल्डो पूर्ण रुपमा मर्मत हुन २÷३ दिन लाग्छ।’

 अहिले सडक विभागको मर्मत टोली यसै कामका लागि चारैतिर छरिएको उनले जानकारी दिए।

१७ करोड लिटर बाँड्दा के होला ?

अहिले केयूकेएलको दावी अनुसार दैनिक साढे ८ करोड लिटर पानी वितरण हुँदै आएको छ। परीक्षण काल भएकाले अहिले साढे ८ करोड लिटर मात्रै पानी वितरण भएको हो। दैनिक १७ करोड लिटर पानी वितरण गर्ने तयारी केयुकेएलको छ। 

साढे ८ करोड लिटर पानी धान्न नसक्ने पुरानो संरचनाले कसरी १७ करोड लिटर पानी वितरणलाई धान्ला भन्ने प्रश्न खडा भएको छ। सरकारले यही बैशाख ५ गतेदेखि दैनिक १७ करोड लिटर पानी वितरण गर्ने केही दिन अघि नै बताइसकेको छ।

यही पुरानो संरचनाकै भरमा दैनिक १७ करोड लिटर पानी वितरण गर्दा सडकको हालत निकै खराब हुने भन्दै सडक विभागलाई चिन्ता थपिएको हो। ‘अहिले त यस्तो छ। १७ करोड बाँड्न थालेपछि सडकको हालत के होला ?’ सडक विभागका प्रवक्ता शिव प्रसाद नेपाल प्रश्न गर्छन्। 

केयुकेएलले जतिसक्दो चाँडो संरचना तयार गर्नु आवश्यक रहेको उनको भनाइ छ। आयोजनाका अनुसार मेलम्चीको पानी १५ मिटर उचाइसम्म सिधै उक्लने गतिमा आउँछ, जसको प्रेसर थेग्न सक्ने क्षमता दशकौँ पुराना पाइपमा छैन।

वर्षौं प्रयोग भइसकेका पुराना पाइप खिइएका छन्। ठाउँ–ठाउँमा मक्किएको, खिया लागेका, प्वाल परेका छन्।  लामो समयसम्म पनी वितरण नभइरहेकाले पनि पाइप बिग्रिएर क्षति पुगेको केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन्।  केही ठाउँमा भने पाइप काटिएका कारण पनि चुहावट भएको छ। 

चुहावट भएका ठाउँमा  मर्मतको काम चलिरहेको उनको भनाइ छ। उनका अनुसार आवागमनमा बाधा नपुग्नेगरी रातीको समय पारेर मर्मतका लागि टोली खटाइएको छ। चुहिएको जानकारी पाएको २४ घण्टाभित्र मर्मत गर्दै आएको दावी राईले गरे।

मेलम्चीले वार्षिक ३६ सय खाल्डा  

मेलम्चीको पानी वितरणका कारण आगामी दिनमा उपत्यकाका सडकमा वार्षिक ३६ सय खाल्डाखुल्डी पर्नसक्ने अनुमान केयुकेएलको छ। वितरण प्रणालीमा पानीको लिकेज मर्मत गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएको थियो। उक्त छलफलमा केयूकेएलका इन्जिनियर कार्यकारी अधिकृत मिलन शाक्यले मासिक रुपमा कम्तीमा ३ सय वटा लिकेज हुने अनुमान गरिएको बताएका थिए।

उनले अझै एक वर्षसम्म पुरानो वितरण प्रणालीबाट पानी वितरण गर्ने योजना रहेको सुनाए। मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिच्छ्याइएको छ, जसको परीक्षण थाल्ने योजनामा आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) छ। विस्तारै नयाँ प्रणाली परीक्षण गर्दै जाने र नयाँ प्रणालीमा पानी हाल्दै जाने योजनामा पीआइडी  अघि बढेको छ। 

पहिलो चरणमा बिच्छ्याइएको करिब १ हजार किलोमिटर वितरण प्रणाली परीक्षण गरेर वितरण गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ। तसर्थ, परीक्षण होउञ्जेल पुरानै प्रणालीबाट पानी वितरण हुनेछ।

 नयाँ प्रणालीको परिक्षण गर्दा सडकहरू खन्नुपर्ने अवस्था आउन सक्नेछ।  त्यस क्रममा समेत सडकमा थप क्षति पुग्ने केयुकेएलले बताएको छ। 

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १८:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया