पछिल्ला ४ दिनको निरन्तर वृद्धिपछि साताको पहिलो कारोबारको दिन नेप्सेमा केही करेक्सन देखिएको छ । यस दिन नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा झरेको छ ।
बिहीबार ऐतिहासिक उचाइ २७३५ बिन्दुमा अन्तिम कारोबार भई बन्द भएको बजार यस दिन भने १.३१ प्रतिशतले घटेको हो । सुरुवाती कारोबार समयमा २७६० बिन्दुमा पुगेको नेप्से पुनः ओरालो लाग्दै २६९९ बिन्दुमा झरेको नेप्सेले देखाएको छ ।
नेप्से परिसूचक घटेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सेन्सेटिभ इन्डेक्स ६.२९ अंकले घटेर ४८६.१६ बिन्दुमा झरेको छ । समग्र नेप्से परिसूचक ओरालो लागे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ ।
बिहीबार २१८ कम्पनीको ९५ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबारमा १ करोड ९० लाख २० हजार कित्ता सेयर खरिद-बिक्री भएको थियो । जब कि आइतबार २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर खरिद-बिक्री भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फन्ड उपसमूहको परिसूचक बढेको छ । यस दिन सो उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको हो । व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२७ प्रतिशत घटेको छ । त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
यस दिन बजारमा करेक्सन देखिए पनि ३ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका गुडविल फाइनान्सको सेयरमूल्य भने यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।