के हामीले काल खोजिरहेका हौँ ?
कोरोना बढिरहँदा डरलाग्दो लापरवाही

दक्षिणी छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। दैनिक  २ लाख ६० हजार भन्दा बढीको दरमा संक्रमित थपिएपछि त्यहाँको स्वास्थ्य प्रणाली नै फेल हुने अवस्थामा पुगेको छ।

कोरोना संक्रमितहरु  आफैँ अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। अस्पतालमा पनि बेड कहीँ खाली छैन, अस्पतालका भुइँ, ढोका र चौरमा बसेर संक्रमितहरु उपचार गराइरहेका छन्। 

अत्यधिक संक्रामक मानिने बेलायतबाट फैलिएको ‘युके भेरियन्ट’ डर लाग्दो रुप अहिले  भारतमा देखिएको  छ। जहाँ केन्द्रदेखि राज्य सरकारले पनि कोरोनासँगको युद्धमा हात उठाउने अवस्था आएको छ।

कोरोना भाइरसले सबैभन्दा बढी महाराष्ट्र, नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश, राजधानी सहर दिल्लीसहितमा भयंकर महामारी  ल्याएको छ। अहिले कोरोना महामारी फैलिएका यी राज्यहरुमा न अस्पतालमा बेड खाली छ, न अक्सिजन पाइन्छ न उपचारमा प्रयोग गरिने रेमडेसिभिर नै बजारमा छ। 

अवस्था यतिसम्म भयावह भएको छ कि अस्पतालमा एउटा बिरामीले लगाइरहेको अक्सिजन अरुले तानेर लान थालेका छन्। अक्सिजन नपाएर अस्पतालमै दैनिक दर्जन मानिसले ज्यान गुमाइरहेका छन्। संक्रमित भएर मर्नेको संख्या दैनिक हजारमाथि पुगेको छ। देशका १० भन्दा बढी राज्यका अस्पताल कोरोना संक्रमितले भरिभराउ छन्।

कोरोना अनियन्त्रित हुँदै गरेका राज्यहरुमा नेपालसँग जोडिएका बिहार र उत्तर प्रदेश पनि हुन्। बिहार र उत्तर प्रदेशबाट त्यहाँका र नेपालबाट रोजगारीमा गएकाहरु निर्वाध आइरहेका छन्। 



कोरोनाले छिमेकी भारत आक्रान्त भइरहँदा नेपालको लापरबाही भने डरलाग्दो छ। दुई दिनयता ८ सयदेखि ९ सयसम्म कोरोना संक्रमित भेटिरहँदा सरकार, दल र निजी क्षेत्रले गरेको लापरवाहीको मूल्य नेपालले निकै महँगो व्यहोर्नुपर्ने देखिँदैछ।

भारतमा महामारी बढेपछि त्यहाँबाट नेपालीहरु धमाधम फर्किरहेका छन्। उनीहरुमध्ये केहीमा युके भेरियन्ट पुष्टि भइसकेको छ। पहिलो लहरको सामना गरेका सरकारी संयन्त्र संकट आइसक्दा पनि तयारी अवस्थामा छैनन्।



सीमा क्षेत्रमा पहिले जस्तो न हेल्थ डेस्क छ न चिकित्सक नै बसेका छन्। भारतीयहरु नेपाल प्रवेश गरेको तथ्यलाई भारतीय दूतावास अगाडि लागेको लाइनले नै पुष्टि गर्छ। कयौँ भारतीय व्यापारीहरू कोरोनाको चिनियाँ भ्याक्सिन लाउन नेपाल छिरेका छन् भने केही नेपालबाट वैदेशिक रोजगारीमा जान आएका छन्। 

प्रधानमन्त्रीदेखि नेतासम्मको बेवास्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संकट आइसकेको भन्दै  गत चैत २७ गते २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गर्‍यो। 

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै भीडभाड नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन मन्त्रालयले भनेको थियो। मन्त्रालयले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्न त भन्यो तर उसको कुरा कुनै पक्षले सुनेनन्।

मन्त्रालयले नेपालमा युके भेरियन्ट देखिएसँगै संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेकाले सावधानी अपनाउन भनेको थियो।

अस्पतालमा आइसियुमा बिरामी धेरै भर्ना भइसकेका जनाउँदै मन्त्रालयले अब ध्यान नदिए अवस्था भयावह हुने चेतावनी दिएको थियो। तर नेपालको अहिलेको लापरवाही हेर्दा हामीले काल पर्खिएको देखिन्छ। स्वास्थ्य मन्त्रालयको आग्रह बेवास्ता गरिरहँदा यसले ठूलो संकट ल्याउने अवस्था आएको छ। 

तर स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई सत्तारुढ दलसहित अन्य राजनीतिक दलहरुले पूरै बेवास्ता गरेका छन्। अझ बढी प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूबाट नै स्वास्थ्य मन्त्रालयको आग्रहलाई बेवास्ता गरिएको छ । 

मन्त्रालयको आग्रहलाई अस्वीकार गर्दै राजनीतिक दलहरुले आफ्ना कार्यक्रम खुलेआम मात्रै गरिरहेका छन्। ती कार्यक्रममा सयौँ, हजारौँ मानिस जम्मा भइरहेका छन्। सरकारले विद्यालय बन्द गर्न खोजिरहेका बेला दलको कार्यक्रम भने निष्फिक्री चलिरहेका छन्। दलहरूका कार्यक्रमले नेपालबाट कोरोना उन्मुलन भइसके जस्तो देखाउँछ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयको आग्रहलाई सरकारी पक्ष र राजनीतिक दलबाट ठाडै उल्लंघन भइरहेको छ । पछिल्लो एक सातायता राजनीतिक दलहरुले बढी भीडभाड हुने कार्यक्रम गरेर स्वास्थ्य मन्त्रालयको आग्रहको  खिल्ली उडाइरहेका छन् । यसका कयौँ उदाहरणहरु छन् । 

उल्लंघन–१ : प्रधानमन्त्री

स्वास्थ्य मन्त्रालयले बढी भिडभाड नगर्न गरेको आग्रहको प्रधानमन्त्री केपी शर्मा ओलीले नै उल्लंघन गरेका छन्।  कोरोनाको दोस्रो लहर खतरनाक रहेको भन्दै सचेत हुन गरेको आग्रहलाई बेवास्ता गर्दै हिजो मात्रै २५ जना भन्दा धेरै जम्मा गर्दै बालुवाटारमै सर्वदलीय बैठक गरे। 

प्रधानमन्त्रीले त्यसअघि आफू पक्षीय नेता कार्यकर्तालाई पनि राजधानीका ठाउँ ठाउँमा सम्बोधन गरिरहेका छन्। शनिबारको सर्वदलीय बैठकमै नेतासहित सय जना हाराहारीमा उपस्थित थिए ।

उल्लंघन–२ : शेरबहादुर देउवा

प्रतिपक्षी नेपाली कांग्रेसले पनि स्वास्थ्य मन्त्रालयको आग्रह उल्लंघन गरिरहेकै छ। पार्टी सभापति शेरबहादुर देउवा स्वयमले स्वास्थ्यको आग्रहलाई अटेरी गरिरहेका छन्। २५ जनाभन्दा बढी भीड नगर्न भने पनि सभापति देउवाले आइतवारै आफ्नै निवासमा त्यो भन्दा बढी भीडभाड गरेर किताब विमोचन गरे।

श्रीराम श्रेष्ठद्वारा लिखित किताबको विमोचन उनले आफ्नै निवास बूढानीलकण्ठमा गरेका हुन । यो कार्यक्रममा कतिपय मास्क लगाएका थिए भने कतिपय खाली थिए। सामाजिक दूरीको समेत पालना भएको थिएन । 

उल्लंघन–३ : प्रचण्ड

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा मात्रै दोषी छैनन् । मन्त्रालयको आग्रह उल्लंघन गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अग्रपंक्तिमा छन् । उनी त झनै बिनामास्क, सामाजिक दूरीसमेत ख्याल नगरी  भीड जम्मा गरेर देशभर हिँडिरहेका छन्।

उनी हिजो मात्रै २५ जना भन्दा धेरै बढी भीडभाड भएको शिक्षकहरुको कार्यक्रमका प्रमुख अतिथि थिए । अर्थात् उनी शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषदको उद्घाटन कार्यक्रममा सहभागी थिए । जहाँ सहभागीले न सामाजिक दूरी पालना गरे न त सबैले मास्क नै लगाए।  तापनि प्रचण्ड निष्फिक्री कार्यक्रममा सहभागी भइरहे। दाहाल आफैँले पनि मास्क लगाएका थिएनन् ।

उनी आजै पनि गृहजिल्ला चितवन पुगे। जहाँ उनले माडीमा पुगेर सयौँ कार्यकर्ता र गाउँले जम्मा गरेर कार्यक्रम गरे। जहाँ प्रचण्डको स्वागतमा साँस्कृतिक कार्यक्रमसहित नाचगान पनि गरिएको थियो। 

वाईसीएल नेपालको नाममा भएको उक्त कार्यक्रममा हजार भन्दा धेरै मानिस जम्मा थिए। जहाँ न सामाजिक दूरी पालना थियो न कोरोनाबाट जोगिन मास्कको प्रयोग नै भएको थियो।

राजावादीको भीड 

आइतवार मात्रै भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किए। उनको स्वागतका नाममा सयौँ कार्यकर्ता सडकमा उत्रिए। जहाँ राजाको पक्षमा चर्का नारा त थिए नै सामाजिक दूरीको त पालना नै भएको थिएन। 

आइतवार मात्रै नेपालमा १ हजार ९६ जना संक्रमित थपिएका छन्। जसमा बिरामीको संख्या पनि उत्तिकै छ। यसले नेपाल पनि जोखिममा परेको पुष्टि भइरहँदा पनि

विद्यालय खुल्लै

भारतमा कोरोना महामारीका कारण विद्यालयदेखि कलेजसम्मका सबै परीक्षा स्थगित भएका छन्। त्यहाँ भौतिक पठनपाठन ठप्प छ। सरकारले अनलाइन अध्ययन प्रणाली लागु गरेको छ। 

कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा बालबालिका बिरामी हुने क्रम बढेको छ। नेपालमा पनि दोस्रो लहरबाट बालबालिकाको पनि ज्यान गएको छ। 

पछिल्लो समय बालबालिका र शिक्षकहरु पनि धमाधम संक्रमित भइरहेका छन्। शिक्षक विद्यार्थीमा संक्रमण देखिएका विद्यालय बन्द हुन थालेका छन्। तर आइतवार मात्रै ३२६ जना संक्रमित पुष्टि भएको काठमाडौंका स्कुल कलेज निर्वाध चलिरहेका छन्।

यही संकटलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न भनेको छ। तर वार्षिक परीक्षा आइरहेको भन्दै सरकारी र निजी क्षेत्र दुवै विद्यालय बन्द गर्न तयार छैनन्। बरु आलोपालो गरेर पठनपाठन भइरहेका छन्। 

मन्त्रालयको आग्रहलाई बेवास्ता गर्दै अहिले सबै शैक्षिक संस्था चलिरहेका छन् । न्यूनतम् सावधानी नअपनाइ खोलिएका विद्यालय कोरोनाका इपिसेन्टर बन्ने डर बढ्दै गएको छ। शनिबार बसेको सिसिएमसीको बैठकले उपत्यकासहितका ठूला सहरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ। तर यो सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ।

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १६:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया