मिथिलाञ्चल लगायत तराई मधेसमा आज श्रद्धा-भक्ति पूर्वक चैती छठ मनाइँदै छ ।
पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने चैती छठ आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । पर्वको आज मुख्य दिन हो । अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरधामका पोखरीघाटहरुमा बिहानैदेखि पूजा सामग्री लिएर भक्तजनहरू पुगिसकेका छन् ।
यस्तै ग्रामीण भेगहरुमा पनि पूजा सामग्री लिएर भक्तजनहरू घाटमा पुग्ने क्रम जारी छ । चार दिनसम्म मनाइने पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि चैती छठको विधिवत समापन हुनेछ ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादका रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ । अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्छन् ।
सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायतका जलाशयका किनारमा घाट बनाएर विशेष रुपले शृङ्गारिएको छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई नवदुलही झैं सजाएर झकिझकाउ बनाइएको छ । मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेका छठ पर्वका नानाथरी सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्री सहित रातभर जाग्राम बसेर श्रद्धा भक्ति पूर्वक पूजा अर्चना गरी भोलि पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठ पर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्छन् । बिहान पख सूर्य उदाउनु केही बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्छन् ।
उदाउँदो सूर्यलाई अर्घ्यका रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादका रुपमा सबैले ग्रहण गर्छन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुका साथै घरमा समेत पुर्याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।
यस पर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्छन् । छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वका रुपमा पनि लिइन्छ । कोरोना संक्रमणको त्रास रहे पनि सावधानी अपनाएर यसपटक पोखरी घाटहरूमा चैती छठ पूजाको आयोजना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।