कर्णालीमा बढ्यो कोरोनाको जोखिम, अस्पताललाई तयारीमा रहन निर्देशन

भारतबाट अत्यधिक मात्रामा मानिस नेपाल भित्रिएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको छ । प्रदेशका १० वटै जिल्लामा पछिल्लो समय कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन् । भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै हाल दैनिक १५ सयदेखि २ हजार मानिस भारतबाट कर्णाली प्रदेशमा प्रवेश गरिरहेका छन् । जोखिम बढेसँगै प्रदेशमा रहेका कोभिड–१९ हब अस्पताल तथा सम्पूर्ण अस्पताललाई बिरामीको उपचार व्यवस्थापनका लागि पूर्ण तयारीमा रहन निर्देशन दिइएको छ । 

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी बिमला केसीको अध्यक्षतामा सोमबार बसेको प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिको बैठकले कोभिड–१९ तथा अन्य स्वास्थ्य क्रियाकलापको हालको प्रादेशिक अवस्था तथा प्रमुख समस्याका विषयमा समेत छलफल गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले कोरोनाको जोखिम पछिल्लो समय अत्यधिक मात्रामा बढेको बताए । 

‘पछिल्लो समय प्रदेशभरको परीक्षण प्रदेश अस्पतालबाट मात्रै भइरहेको छ,’ उनले भने, ‘हामीले लक्षण देखिएकाको मात्रै परीक्षण गरिरहेका छौँ । त्यसमा ६० प्रतिशतभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।’ राष्ट्रिय स्तरमा बालबालिकामा संक्रमणको दर बढेको भन्दै उनले विद्यालय बन्द गर्नु नै अहिलेको उत्तम उपाय भएको बताए ।
  
पछिल्लो समय भारतबाट अत्यधिक मानिस नेपाल भित्रिएको भन्दै उनले प्रदेशमा मुख्य–मुख्य नाकामा चेकजाँचलाई कडाइ गरिएको बताए । 

बैठकले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापक रुपमा अगाडि बढाउने, सार्वजनिक यातायात तथा क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाउन बस व्यवसायी समितिलाई अनुरोध गर्ने, नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितको उपचार व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

यस्तै, प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयलाई कोभिड–१९ रोकथामका लागि पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म कर्णालीमा ३३ जनाको मृत्यु भइसकेको छ भने झन्डै ८ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । 





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १९:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया