नेपाली नायिकाको ‘कपाल क्रान्ति’

नेपाली समाजमा छोरी मान्छेले कपाल खौरनुलाई अचम्म मानिन्थ्यो । छोरी मान्छेको सौन्दर्यको एक पाटो उनीहरूको कपालसँग जोडेर गरेको पाइन्छ । आफूलाई कपाल भारी भए पनि कपाल खौरने छुट नेपाली छोरीलाई छैन ।

पछिल्लो समय भने केश मुण्डन गर्ने नेपाली महिला प्रशस्तै भेटिन थालेका छन् । २०५८ सालमा राजा वीरेन्द्रको हत्या हुँदा गायिका कोमल वलीले कपाल मुण्डन गरिन् । उनले राजाको मृत्युको शोकमा केश फालेकी थिइन् । त्यसबेला उनले खौरिएको कपालको खासै चर्चा भएन ।

त्यसो त पुरानी अभिनेत्री गौरी मल्ललाई पनि एक समय कपाल मुण्डन गर्न मन लागेको थियो । उनको मनोद्वेग समाज, संस्कार र परिवारको पर्खालले रोकिदियो । उनले मन लागेका बेला केश फाल्न सकिनन् । गौरीले युवावस्थामा नै इन्डियन मोडल पर्सिस खम्बाटाले कपाल मुण्डन गरेको देखेकी थिइन् । खम्बाटाको मुडुलो टाउको उनलाई असाध्यै मन पर्थ्यो ।

उनी त्यही बेला आफू पनि मुडुलो टाउको लिएर निर्धकका साथ समाजमा हिँड्न चाहन्थिन्, तर उनले परिवारको स्वीकृति पाइनन् । घर परिवारसँग विद्रोह गर्न पनि सकिनन् । त्यसैले उनले जापान पुगेर रहर पूरा गरिन् । गौरीले त्यहीँबाट मुडुलो टाउकोको तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याएकी थिइन् । जापानमा गएर कपाल मुण्डन गरेका कारण त्यसले पनि त्यति धेरै चर्चा पाएन ।

अर्की अभिनेत्री मनीषा कोइरालाले पनि कपाल मुण्डन गरेकी छन् । उनले क्यान्सर रोगका कारण कपाल मुण्डन गरेकी थिइन् । क्यान्सरको उपचारका क्रममा कपाल झरेर हैरान भएपछि मुण्डन गरेको मनीषाले बताएकी थिइन् । क्यान्सरको उपचारका क्रममा दिइने किमोथेरापीका क्रममा पनि कपाल आफैं खुइलिने चिकित्सकहरूले बताएका थिए । उनी अहिले क्यान्सर मुक्त भइसकेकी छन् ।

क्रिकेटर शरद भेषवाकरसँग प्रेम विवाह गरेकी अभिनेत्री निशा अधिकारी एक समय मुडुलो टाउको लिएर हिँडेकी थिइन् । अमेरिका पुगेर मुण्डन गरेकी निशाको मुडुलो टाउकोले त्यतिबेला राम्रै चर्चा पायो । निशाले कपाल मुण्डन गरेको हरेक क्षण आनन्द अनुभूत गरेको सामाजिक सञ्जालमा बताएकी थिइन् । निशाको यो आनन्ददायी भनाइले उनका फ्यान भने अचम्ममा परेका थिए ।



शुभचिन्तकले प्रश्न गरेपछि निशाले साहित्यिक जवाफ फर्काएकी थिइन् । उनले लेखेकी थिइन्, ‘तपाईंले त्यही गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यही काफी छ ।’ पहिलो पटक कपाल मुण्डन गरेर आफूलाई स्वतन्त्र महसुस गरेकी निशाले दोस्रो पटक गर्भवती भएको समयमा कपाल मुण्डन गरेकी थिइन् । 

फिल्मका लागि कपाल मुण्डन गर्ने नायिका



दीपेन्द्र के खानालको चलचित्र आमाको शीर्ष भूमिकामा रहेर अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल मुण्डन गरिन् । उनले चलचित्रको भूमिकाप्रति न्याय दिन आफूले कपाल मुण्डन गरेको बताइन् । यो समय चलचित्रको अन्य विषयवस्तुले भन्दा सुरक्षाको मुडुलो टाउकोले निक्कै स्थान पायो । कपाल खौरँदै गरेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएसँगै उनले हरेक मिडियामा राम्रै स्पेस पाइन् । सुरक्षाको केश बिनाको टाउकोले चलचित्रको प्रचारमा निक्कै सघायो ।

चलचित्रका निर्माता, निर्देशकदेखि सुरक्षाका फ्यानसम्मले कामप्रतिको लगाव भनेर तारिफ गरे । चलचित्र प्रचारका क्रममा सुरक्षाको खौरिएको कपालको जति चर्चा गरिएको थियो फिल्ममा भने त्यति ठूलो अर्थ बोकेको देखिँदैनथ्यो । सुरक्षाले खौरिएको कपालको चर्चा अहिले पनि सेलाएको छैन । 

आफूले अभिनय गरेका हरेक भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्री हुन नम्रता श्रेष्ठ । श्रेष्ठले पनि २०७५ सालमा चलचित्र ‘जायरा’का लागि कपाल ‘जिरो’ बनाएकी थिइन् । चलचित्र छायांकन सुरु भएपछि कपाल फालेकी नम्रताले सामाजिक सञ्जालमार्फत् तस्बिर सार्वजनिक गरिन् । उनले तस्बिर सार्वजनिक गरेसँगै धेरैले चासो देखाएका थिए । कपाल नै फालेर नम्रताले कस्तो भूमिका निर्वाह गरिन् भन्ने धेरैलाई कौतुहल थियो । उनले उक्त चलचित्रमा बक्सिङ खेलाडीको भूमिका निर्वाह गरेकी थिइन् । 

अभिनेत्री दीपशिखा खड्काले चलचित्र ‘प्रेम लीला’का लागि कपाल फालिन् । उनको पनि कपाल फालेको टाउकाले राम्रै चर्चा पायो । यो चलचित्रको छायांकन बेलामा नसकिँदा ३ पटक कपाल खौरिन पर्‍यो । उनको कपाल मुण्डनले मिडियामा राम्रै स्पेस पाए पनि घरमा भने उनले गाली खानु पर्‍यो । दीपशिखाले कपाल नै मुण्डन गरेर अभिनय गरेको चलचित्र ‘प्रेम लीला’ भने चल्न सकेन ।

पछिल्लो समय कपाल मुण्डनका कारण चर्चामा रहेकी अभिनेत्री हुन केकी अधिकारी । केकीले कपाल मुण्डन गरेपछि अहिले लगातार जस्तै मुडुलो टाउकाका तस्बिर सार्वजनिक हुने गरेका छन् ।

कपाल मुण्डन गरेपछि केकीले इन्स्टाग्रामको स्टोरीमा भिडियो सार्वजनिक गरेकी थिइन् । लेखेकी थिइन्, ‘चेन्ज इज ब्युटिफुल, वर्ल्ड इज ब्युटिफुल ।’ केकीले चलचित्र ‘बोक्सीको घर’का लागि कपाल मुण्डन गरेकी हुन् । अब केही समय केकीको मुडुलो टाउकाले सञ्चार माध्यममा स्थान जमाउने निश्चित छ ।

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १९:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया